site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीलाई आठ रनले हराउँदै सुदूरपश्चिम च्याम्पियन 

काठमाडौं । फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार विराटनगरमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १३.१ ओभरमा सबै विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो । 

लुम्बिनीका ओपनर तथा कप्तान आकाश त्रिपाठीले २२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, अन्तिमसम्म अविजित रहेका शिव कुँवरले २०, विजय कोहारले १९, समिर अली मुसलमानले १८ र सन्तोष यादवले १२ रन थपे । 

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका चार ब्याटर ‘डक’ भएका थिए । लुम्बिनीका सम्राट भुसाल, दिल्साद अली, निर्मल गुरुङ र निर सार्की शून्यमा आउट भएका हुन् । लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए । १० ओभर बलिङ गरेका धामीले दुई मेडन राख्दै २५ रन खर्चिए । 

यस्तै, सचिन भट्ट र नरेन साउदले समान दुई विकेट लिए । अशोक धामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम पनि ३७.३ ओभरमा १२७ रनमै समेटिएको थियो । सुदूरका अभिषेक थापाले २९ रन बनाएका थिए । नरेन भट्टले २७ रन थप्दा नरेन साउदले १५, राजेश एैयरले १४ र दीपक बोहराले ११ रन थपेका थिए । 

लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले २८ रनमात्र खर्चिएका थिए । राजेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट लिए । प्रतियोगिताभर २७ विकेट लिएका सन्तोष यादव ‘प्लेयर अफ दी सिरिज’ चुनिए । उनले ब्याटिङमा पनि १९१ रन जोडेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro