site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फागुनअघि धितोपत्र बोर्डले अध्यक्ष नपाउने निश्चित, समय गुजार्दै सिफारिस समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कार्यकारी अध्यक्ष तत्काल नपाउने निश्चित भएको छ । सर्वाेच्च अदालतमा परेको मुद्दा किनारा नलागेसम्म अध्यक्ष नियुक्त नहुने स्पष्ट भएको हो ।

अध्यक्ष बोर्डको अध्यक्ष छनोटसम्बन्धी मुद्दाको पेसी आगामी माघ ३० गतेका लागि तोकिएको छ । अब मुद्दाको किनारा लागेपछि सरकारले नयाँ सिफारिस समिति गठन गरेर अध्यक्ष छनोट प्रक्रिया अगाडि बढाउने भएको छ । 

अर्थ मन्त्रालय स्रोतका अनुसार, गत असोज १८ गतेको अन्तर्वार्तालाई विफल बनाउनु पनि त्यसैको एक स्वरूप हो । सिफारिस समितिले पहिले अन्तर्वार्ता र प्रस्तुतीकरण नदिएकाहरूलाई असोज १८ गते बोलाएको थियो ।

पुरानो प्रक्रियाबाट सर्टलिस्टमा परेकाहरूले सिफारिस समितिको निर्णयलाई बेवास्ता गरेकाले उनीहरूमध्येबाट अध्यक्ष बनाउन अहिलेको सरकार तयार छैन । सर्वाेच्चले प्रक्रिया नरोक्न भनेकाले आदेश पालना गर्न मात्र छुटेका तीन जनालाई अन्तर्वार्तामा बोलाइएको स्रोतको भनाइ छ ।

तर, वास्तवमा सरकार बोर्डको अध्यक्ष छनोटको नयाँ प्रक्रिया थाल्न सर्वोच्चको फैसलाको पर्खाइमा छ ।

नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष खाली भएको १० महिना पुगेको छ । ०८० पुस २० गते तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै बोर्ड कामचलाउ अध्यक्षको भरमा छ । गत वर्ष नै धितोपत्र ऐनमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ संशोधन गरेर अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यलाई अध्यक्ष नियुक्त नहुन्जेलसम्म अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था गरिएको थियो । सोहीअनुसार अहिले धितोपत्र बोर्डको अध्यक्ष अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य महेश बराल छन् । 

उनी अध्यक्षको हैसियतमा भए पनि बोर्डबाट हुने कार्य सम्पादनमा आफ्नो निर्णय गर्न सक्दैनन् । धितोपत्र बोर्ड पुँजीबजारको नियामक निकाय हो । दश महिनादेखि पुँजीबजारको नियामक निकाय कार्यकारी अध्यक्षविहीन छ । 

कार्यकारी अध्यक्ष नहुँदा धेरै कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्न पाएका छैनन् । कार्यकारी अध्यक्ष नहुँदा प्रत्यक्ष प्रभाव धितोपत्र बजारमा परेको भए पनि सरकारले नयाँ प्रक्रियामार्फत अध्यक्ष छनोट गर्ने तयारी गरिरहेको छ । अहिलेको बोर्ड अध्यक्ष सिफारिस समितिले अध्यक्ष सिफारिस नगर्ने निश्चितजस्तै भएको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

दश महिनाको अवधिमा बोर्ड अध्यक्ष नियुक्तिमा अनेक चटक देखिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति बनायो । त्यसबेला राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मिनबहादुर श्रेष्ठ थिए । समितिको सदस्यमा अर्थ सचिव र विज्ञका रूपमा उदय निरौला थिए । 

यो समिति गठन हुँदा नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महत अर्थमन्त्री थिए । पछि नेकपा (एमाले)सँग गठबन्धन भएपछि वर्षमान पुन अर्थमन्त्री बने । अर्थमन्त्रीमा पुन आएसँगै बोर्ड अध्यक्ष सिफारिस समितिले तीव्ररूपमा काम गर्न खोजेको थियो । तर, सर्टलिस्टमा परेका पाँच जनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले मात्र अन्तर्वार्ता र प्रस्तुतीकरणमा भाग लिए । 

सरकारी कर्मचारीहरू नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कार्यकारी अधिकृत कृष्णबहादुर कार्की अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भएनन् । उनीहरूसँगै बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं पनि सहभागी भएनन् । उनीहरू नै अन्तर्वार्तामा सहभागी नभएपछि सिफारिस समितिले छुटेकाहरूलाई पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी हुन सूचना निकाल्यो ।

यो सूचना पनि सरकारको योजनाअनुसार नै आवेदकहरूलाई सहभागी नगराउने गरी भएको स्रोतको दाबी छ । किनभने एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यो बेला आफ्नो पक्षको व्यक्तिलाई अध्यक्ष बनाउन तत्कालीन अर्थमन्त्री पुनलाई दबाब दिएका थिए । अर्थमन्त्री यो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रियाबाट अध्यक्ष छनोट गर्न चाहन्थे ।

त्यही योजनाअनुसार, आफ्नो पक्षका अध्यक्षका प्रत्याशीहरूलाई सहभागी नहुन भनिएको पनि स्रोतको दाबी छ । सर्टलिस्टमा परेकामध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणमा सन्तोषनारायण श्रेष्ठ र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ सहभागी भए ।

थपिएको समयमा पनि सर्टलिस्टमा परेका कार्की, चापागाईं र अधिकारी नआएपछि त्यो सिफारिस समितिले दुई जनालाई अध्यक्ष नियुक्तिका लागि महान्यायाधिवक्ता कार्यालयको सुझाव लिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले 'ऐनमा भएको व्यवस्थाअनुसार गर्नू' भनेर सुझाव पठाएपछि त्यसबेलाका संयोजक श्रेष्ठले दुई जनाको मात्र नाम पठाउन समितिमा प्रस्ताव राखेका थिए ।

तर, त्यसबेलाका अर्थसचिव मधुकुमार मरासिनीले धितोपत्र ऐनमा सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नुपर्ने व्यवस्था भएको भन्दै आफू सहमत नहुने जनाएका थिए । समितिका तीनजना सदस्यकै कुरा बाझिएपछि असार १४ गते एक सूचना जारी गर्दै ०८० चैत १६ गतेदेखि भएका अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको जानकारी दिइएको थियो ।

तर, अध्यक्षका प्रत्याशी सन्तोषनारायणले ०८१ असार १७ गते सर्वाेच्च अदालतमा अध्यक्ष सिफारिस समिति र नेपाल सरकारविरुद्ध रिट दायर गरेका थिए । उनको रिटमा गत असार १८ गते न्यायाधीश अब्दुल अजीज मुसलमानले कारण देखाऊ अल्पकालीन अन्तरिम आदेश जारी गरे । 

त्यसपछि असार २१ गते न्यायाधीशद्वय सपनाप्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले समितिको असार १४ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

असार १४ गते बोर्ड अध्यक्षको सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो । “अहिलेकै समितिले धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नू भनेको हैन, छनोटका प्रक्रिया रद्द नगर्नू भनेको हो,” स्रोतले भन्यो, “सोही अनुसार सरकारले काम गरेको छ । महान्यायाधिवक्ताको कार्यालयलाई पनि अध्यक्ष छनोटका बारेमा सोधेको छ । तर, दुई अन्तर्वार्ता दिएका दुई जना सिफारिस गर्नू कहीँ पनि भनेको छैन ।” 

स्रोतका अनुसार, अब सर्वाेच्चको माघ ३० गतेको पेसीलाई सरकारले कुरिरहेको छ । अहिले पनि बोर्ड अध्यक्षविहीन नभएको पनि अर्थ मन्त्रालयको तर्क छ ।

सरकारले माघ ३० पछि नयाँ प्रक्रियाबाट अध्यक्ष छनोट गर्न नयाँ सिफारिस समिति बनाउने स्रोत बताउँछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro