site stats
बाह्रखरी :: Baahrakhari
खेल
नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम र कर्णाली विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई पुरुष यू–१९ राष्ट्रिय एक दिवशीय क्रिकेट प्रतियोगितामा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिश थापाले २२ रन र युनिश ठकुरीले २१ रनको योगदान गरे । मधेसका राजेश यादवले चार विकेट लिँदा अफ्रुदिन रैनले तीन विकेट लिए ।

जितका लागि १३४ रनको लक्ष्य पाएको मधेस २७.२ ओभरमा सबै विकेट गुमाएर ८६ रनमा सीमित भयो । मधेसका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए ।

Argakhachi Cement Island Ad

कर्णालीका 'प्लेयर अफ द म्याच' विपीन शर्माले चार विकेट लिँदा युनिश ठकुरीले तीन विकेट लिए । कर्णालीले खेलेको पाँच खेलमध्ये एकमा जित हात पार्दै दुई अंकका साथ अन्तिम स्थानमा रहेको छ ।‌

मधेसले खेलेको पाँच खेलमा दुईमा जित र तीनमा पराजित हुँदै चार अंकका साथ पाँचौँ स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अर्काे खेलमा सुदूरपश्चिमसँग कोसी प्रदेश १२३ रनको अन्तरले पराजित भयो ‌। टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ४७.४ बलमा सबै विकेट गु्माएर १८३ रन बनायो । सुदूरका सुवराज खत्रीले ४४ रन बनाउँदा अभिषेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोसीका सौजन घिमिरेले चार विकेट लिँदा विपीन महतोले दुई विकेट लिए । 

जितका लागि १८४ रनको विजयी लक्ष्य पाएको कोसीले २२.३ बलमा सबै विकेट गुमाएर ६० रनमा खुम्चियो । कोसीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रनबाहेक अरू ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा पराजय भयो ।

सूदुरका 'प्लेयर अफ द म्याच' सचिन भट्टले पाँच विकेट लिए । उनले ६ ओभरमा दुई मेडन राख्दै सात रनमात्र दिए । त्यस्तै, नरेन भट्टले पनि चार विकेट लिए ।

सूदुर १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । कोसी दुई अंकमा सीमित भयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्