site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२औँ पटक प्रतिस्पर्धामा उत्रिँदै बार्सिलोना र बायर्न म्युनिख, यस्ता छन् चर्चित पाँच खेल

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा आज क्याटालन जायन्ट बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखबीच ‘हेभिवेट’ प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीच आज च्याम्पियन्स लिगको इतिहासमा १२औँ पटक प्रतिस्पर्धा हुन लागेको हो । 

पछिल्लो दुई दशकयता स्पेनिस ला लिगामा प्रभावशाली प्रदर्शन गर्दै आइरहेको बार्सिलोनाले च्याम्पियन्स लिगमा भने बायर्नसँग यो प्रदर्शनलाई निरन्तरता दिन सकेको छैन । यी दुई टिमबीच भएका ११ प्रतिस्पर्धामध्ये बायर्नले क्याटालन क्लबविरुद्ध आठ खेलमा जित निकालेको छ । बार्सिलोनाले दुई खेल जित्दा एक खेल भने बराबरीमा समाप्त भएको छ । स्टाडियो ओलिम्पिक लुइस कम्पान्समा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । 

यस्ता छन् यी दुई टिमबीचका चर्चित पाँच खेल
बार्सिलोना ४–० बायर्न (२००८–०९)
च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा २१ वर्षीय लियोनल मेसीले दुई गोल एक असिस्ट गर्दा बार्सिलोनाले क्याम्प नाउमा जर्मन क्लबलाई ४–० ले निराश बनाएको थियो । 

यी दुई टिमबीचको इतिहास हेर्दा यो नै बार्सिलोनाले निकालेको अहिलेसम्मको ठूलो जित हो । उक्त सिजन च्याम्पियन्स लिगको उपाधि चुमेको बार्सिलोनाले दोस्रो लेगमा बायर्नलाई उसको मैदानमा १–१ को बराबरीमा रोकेको थियो ।

बायर्न ४–० बार्सिलोना (२०१२–१३) 
अट्याकिंग मिडफिल्डर थोमस मुलरले दुई गोल गर्दा बायर्नले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाविरुद्ध ४–० को प्रभावशाली जित निकालेको थियो । यो सन् १९९७ मा पछि च्याम्पियन्स लिगमा बार्सिलोनाले व्यहोरेको सबैभन्दा खराब हार थियो । 

१९९७ को सिजन बार्सिलोनाले डाइनामो किभसँग ४–० कै हार व्यहोरेको थियो । बायर्नले सेमिफाइनलको दोस्रो लेगमा पनि ३–० को जित निकाल्दै बार्सिलोनालाई समग्रमा ७–० ले पराजित गरेको थियो ।

बार्सिलोना ३–० बायर्न (२०१४–१५)
पुनः मेसी चम्किँदा यस संस्करणको सेमिफाइनल पहिलो लेगमा बार्सिलोनाले बायर्नलाई क्याम्प नाउमा ३–० ले पराजित गरेको थियो । यसमा मेसीले दुई गोल गर्दा अर्को एक गोल नेइमारले गरेका थिए । 

बार्सिलोनाले यस संस्करणको उपाधि जित्दा लुईस एनरिके मुख्य प्रशिक्षक थिए । यो नै बार्सिलोनाले जितेको पछिल्लो च्याम्पियन्स लिग उपाधि हो । क्याम्प नाउमा बार्सिलोनाविरुद्ध बायर्नले खेलभर एउटा प्रहार पनि गर्न सकेको थिएन ।

बायर्न ८–२ बार्सिलोना (२०१९–२०)
कोभिड महामारीका कारण एक खेलको मात्र क्वार्टरफाइनलमा जर्मन जायन्ट बायर्नले बार्सिलोनाविरुद्ध ८–२ को उत्कृष्ट जित निकालेको थियो । खेलमा बायर्नले दुवै हाफमा समान चार गोल गरेको थियो । 

बार्सिलोना उक्त संस्करणमा मेसीको कप्तानीमा मैदान उत्रिएको थियो । बायर्नको जितमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई गोल गरेका थिए । सो सिजन बायर्नले च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो । बार्सिलोनाको सन्दर्भमा भने यो च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा खराब नतिजा थियो ।

बायर्न ३–० बार्सिलोना (२०२२–२३)
यस सिजन समूह चरण पार गर्न नसकेको बार्सिलोनालाई घरेलु मैदानमै बायर्नले ३–० ले पराजित गरेको हो । समूह ‘सी’ को खेलमा बायर्नलाई जित दिलाउन साडियो माने, एरिक म्याक्सिम चोउपो माटिङ र बेन्जामिन पाभार्डले गोल गरेका थिए । 

हारपछि बार्सिलोनाका १९ वर्षीय मिडफिल्डर पेड्रीले आफ्नो टिम च्याम्पियन्स लिगका निम्ति योग्य नरहेको बताएका थिए । यो खेलपछि यी दुई टिमबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro