
काठमाडौं । ललितपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनाको अनुसन्धान ललितपुर प्रहरीले संगठित अपराध कसुरमा गर्ने भएको छ । यसअघि आपराधिक लाभ कसुरमा अनुसन्धान गरेको प्रहरीले घटनाको प्रकृति जटिल देखिएपछि आपराधिक लाभ र संगठित अपराधमा समेत अनुसन्धान गर्ने भएको हो ।
त्यसका लागि ललितपुर प्रहरीले जिल्ला अदालत ललितपुरबाट अनुमति समेत पाइसकेको ललितपुर प्रहरी स्रोतले बाह्रखरीलाई जानकारी दियो । इटहरीका ताज स्लाम र इटहरीकै दर्शन पोखरेलले युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर रकम असुल गर्ने धन्दा चलाएको खुलेको छ ।
उनीहरूले नै ललितपुरका एक व्यवसायीबाट असोज ६ गते बलात्कार मुद्दामा फसाउने भन्दै भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन प्रहरी प्रमुख निरीक्षक बिनुकुमारी शाहीलाई नै प्रभावमा पारेर ३० लाख रुपैयाँ असुल गरेका थिए ।
रकम असुल गर्ने समूहका नाइके ताज, युवती सुस्मा विक, भीमादेवी थापा र निरीक्षक शाहीका सवारी चालक महेन्द्र हमाललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । प्रहरी निरीक्षक शाहीमाथि अनुसन्धान गर्न समेत जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
घटनालगत्तै प्रहरी प्रधान कार्यालयले शाहीलाई रानीपोखरी तानेर निलम्बन गरेको थियो । हाल उनी फरार छन् । यो समूहले युवतीहरूलाई प्रयोग गर्ने र बलात्कारको उजुरी दिने भन्दै युवाबाट माेटो रकम असुल गर्ने गरेको खुलेको छ ।
त्यस्तै शैलीमा उक्त समूहले अरू व्यवसायीबाट समेत मोटो रकम असुल गरेको प्रहरीको दाबी छ ।
ताज र दर्शनको समूहले इटहरीमा केही युवतीलाई अवैध यौनधन्दामा लगाउने र पछि उनीहरूलाई नै प्रयोग गरेर बलात्कारको उजुरी दिने भन्दै विभिन्न व्यक्तिबाट मोटो रकम असुल गर्ने गरेको खुलेको छ ।
व्यवसायीलाई हनी ट्रयापमा पार्न युवतीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने गरेको खुलेको छ ।