site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वका २६ लाख मानिसको नाम बोकेको अन्तरिक्षयान बृहस्पतिको चन्द्रमामा पठाइयो

काठमाडौं । नासाले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट युरोपा क्लिपर मिसन प्रक्षेपण गरेको छ । नासाले सोमबार (अक्टोबर १४) मा बृहस्पतिको चन्द्रमा युरोपामा जीवनको सम्भावना खोज्न युरोपा क्लिपर अन्तरिक्षयान प्रक्षेपण गरेको हो ।

अन्तरिक्षयान फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एलन मस्कको कम्पनी स्पेस एक्सको फाल्कन हेभी रकेटबाट प्रक्षेपण गरिएको थियो ।

यो मिसन ६ वर्षसम्म चल्ने छ । यस अवधिमा अन्तरिक्षयानले करिब तीन अर्ब किलोमिटरको दूरी तय गर्ने छ । युरोपा क्लिपर ११ अप्रिल २०३० मा बृहस्पतिको कक्षमा प्रवेश गर्ने छ । यसपछि यो चार वर्षमा ४९ पटक युरोपा चन्द्रमाको नजिक पुग्ने छ ।

Dabur Nepal
NIC Asia

न्युयोर्क टाइम्सका अनुसार, वैज्ञानिकहरूले बृहस्पतिको चन्द्रमाको हिउँको सतहमुनि पानीका महासागर रहेको अनुमान गरेका छन् । जसले यस उपग्रहलाई बस्न योग्य बनाउन सक्ने उनीहरूको विल्शेषण छ ।

अन्तरिक्षयानमा विश्वभरका देशहरूका मानिसले पेस गरेको २६ लाखभन्दा बढी नामहरू र अमेरिकी कवि एडा लिमोनको एउटा कविता पनि पठाइएको छ ।

मिसनमा ६८ हजार करोड रुपैयाँ खर्च !

ग्रहको खोजी गर्न नासाले बनाएको यो सबैभन्दा ठूलो अन्तरिक्षयान हो । यसको आकार बास्केटबल कोर्टभन्दा ठूलो छ । यस मिसनमा नासाले झन्डै ६८ हजार करोड रुपैयाँ खर्च गरेको छ ।

अन्तरिक्षयान युरोपाले चन्द्रमाको खोजीका लागि नौवटा उपकरण लिएको छ । यसमा क्यामेरा, स्पेक्ट्रोमिटर, म्याग्नेटोमिटर र रडार पर्छन् । यसको माध्यमबाट वैज्ञानिकहरूले बृहस्पतिको चन्द्रमामा रहेको महासागरको गहिराइ पत्ता लगाउन सक्ने छन् ।

यसबाहेक, उनीहरूले युरोपाको सतहमा जीवनका लागि आवश्यक अन्य पक्षको उपस्थितिबारे खोज्ने छन् । साथै, उनीहरूले चन्द्रमाको सतहमा चुम्बकीय क्षेत्र पनि जाँच गर्ने छन् ।

२८ वर्ष पहिले नै भेटिएको थियो पानी भएको संकेत

सन् १९७९ मा 'भोयजर २' मिसन बृहस्पतिको नजिक पार भएको थियो । जसले युरोपा चन्द्रमाका केही तस्बिर खिचेको थियो । तस्बिरहरूमा युरोपा चन्द्रमामा केही खाडल र क्रेटरहरू देखिएका थिए । जसलाई भौगोलिक प्रक्रियाको सम्भावनाका रूपमा हेरिएको थियो ।

सन् १९९६ मा नासाको ग्यालिलियो अन्तरिक्षयानले युरोपाको चुम्बकीय क्षेत्रको अनुसन्धान गरेको थियो । त्यसपछि युरोपामा नुन पानीको संकेतहरू देखिएका थिए ।

europas-mysterious-interior-artists-concept-1728999438.jpg
अमेरिकाको प्लानेटरी साइन्स इन्स्टिच्युटका वैज्ञानिक टम म्याकोर्डका अनुसार, युरोपा क्लिपर मिसन सन् १९९५ मै सुरु भएको थियो ।

यसअघि पनि पठाइएको छ मिसन

यसअघि, गत वर्ष अप्रिल १४ मा युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले बृहस्पतिको युरोपा चन्द्रमामा जीवनको सम्भावना पत्ता लगाउन जुस मिसन पठाएको छ । जुन सन् २०३१ मा बृहस्पतिमा पुग्ने छ । जुस मिसनअन्तर्गत बृहस्पतिका मुख्य तीन चन्द्रमा ग्यानिमेड, कालिस्टो र युरोपामा अनुसन्धान गरिने छ ।

अहिलेसम्म आठवटा अन्तरिक्षयान बृहस्पतिको नजिक पुगिसकेका छन् । यीमध्ये पहिलो पायोनियर–१० थियो, जुन सन् १९७३ मा अन्य ग्रहहरूमा अनुसन्धानका लागि पठाइएको थियो । अन्तरिक्षयान जुनो २०११ मा प्रक्षेपण गरिएको थियो । सन् २०१६ देखि यो परिक्रमा गरिरहेको छ । गत वर्ष जुनोले बृहस्पतिको ५० वटा परिक्रमा पूरा गरेको थियो ।

सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro