site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत र क्यानडाबीच फेरि तनाव बढ्यो, किन र के कारण बढ्दै छ ? 
SkywellSkywell

काठमाडौं । भारत र क्यानडाबीच राजनीतिक तनाव फेरि बढेको छ । सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच फेरि तनाव बढेको हो । 

तनाव बढ्दै गएपछि भारतले सोमबार क्यानडाबाट भारतीय उच्चायुक्त सञ्जय बर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । योसँगै भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

तर, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने राजधानी ओटावामा पत्रकार सम्मेलन गर्दै आफ्नो सरकारले ६ भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको दाबी गरेका छन् । त्यसपछि मात्र भारतले ती ६ कूटनीतिज्ञलाई फिर्ता बोलाएको भनाइ उनको छ । 

KFC Island Ad
NIC Asia

क्यानडाका प्रधानमन्त्री ट्रुडोले हरदीप सिंह निज्जरको हत्या प्रकरणमा भारत सरकारले असहयोग गरेको आरोप लगाएका छन् । साथै, ट्रुडोले कडा शब्दमा भारतलाई अनुसन्धानमा सहभागी हुन र भ्रामक बयानहरू बन्द गर्न आग्रह गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री ट्रुडोको दाबी 
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँदिल्लीले हिंसामा संलग्न भारतीय सरकारी एजेन्टहरूको संलग्नताको आपराधिक अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेको आरोप लगाएका छन् । 

“भारत सरकारले क्यानडाको भूमिमा क्यानेडियनहरूविरुद्ध आपराधिक गतिविधिलाई समर्थन गर्न सकिन्छ भन्ने सोचेर गल्ती गरेको छ,” उनले भने । 

क्यानडाको प्रहरी ‘रोयल क्यानेडियन माउन्टेड पुलिस’ (आरसीएमपी)का प्रमुखको दाबीपछि जस्टिन ट्रुडोले पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए । 

आरसीएमपीका प्रमुख माइक डुहेमले सोमबार भारत सरकारले क्यानडामा ‘ठूलो मात्रामा हिंसा’मा अहम् भूमिका खेलेको आरोप लगाएका थिए । भारत व्यक्ति हत्यामा समेत सहभागी भएको आरोप उनको थियो । भारतको यस्ता क्रियाकलापले क्यानडाको सार्वजनिक सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको समेत उनले जनाए । 

गत वर्ष क्यानडाका सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या क्यानडामा भएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस हत्या प्रकरणमा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए ।

भारतले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । त्यसपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । तर सोमबार फेरि क्यानडाले आपराधिक घटनामा भारत सरकारका प्रतिनिधि संलग्न रहेको आरोप लगाएको छ । 

क्यानडाले अहिलेसम्म के भन्यो ?
क्यानडाका प्रधानमन्त्री ट्रुडोले क्यानडाको भूमिमा भएको हिंसाको निन्दा गर्दै हत्या, जबरजस्ती असुली र अन्य कुनै पनि हिंसात्मक गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

“कुनै पनि देश, विशेष गरी विधिको शासन कायम गर्ने लोकतन्त्रले आफ्नो सार्वभौमसत्ताको यो मौलिक उल्लंघनलाई स्वीकार गर्न सक्दैन,” जस्टिन ट्रुडोले पत्रकार सम्मेलनमा भने, “आरसीएमपीले आज बाहिर आएर क्यानडाली नागरिकहरूको जानकारी संकलन गर्ने भारतीय कूटनीतिज्ञहरूको शैलीलाई रोक्ने निर्णय गरेको छ ।”

उनले यस्ता जानकारीहरू आपराधिक संगठनहरूलाई दिइएको दाबी समेत गरेका छन् । जसका कारण फिरौतीदेखि हत्यासम्मका हिंसात्मक गतिविधिहरू भएको बुझाइ उनको छ । 

यद्यपि, ट्रुडोले कुनै पनि कूटनीतिज्ञ र उच्च आयोगका कर्मचारीको कथित भूमिकाको बारेमा कुनै जानकारी दिएका छैनन् । यससँग सम्बन्धित मुद्दाहरू अदालतमा विचाराधीन रहेको उनले बताएका छन् । उनले मुद्दा टुंगिएपछि थप जानकारी बाहिर आउने जनाएका छन् । 

पत्रकार सम्मेलनबाहेक क्यानडाका प्रधानमन्त्री ट्रुडोले आफ्नो कार्यालयबाट विज्ञप्ति पनि जारी गरेका छन् । उनले आफ्नो विज्ञप्तिमा भनेका छन्, “आरसीएमपी र राष्ट्रिय सुरक्षा अधिकारीहरूले भारत सरकार र भारतीय कानुन एजेन्सीहरूसँग काम गर्न धेरै प्रयास गरे तर उनीहरूले अस्वीकार गरिरहे । त्यसैले यस हप्ता क्यानडाली अधिकारीहरूले अभूतपूर्व कदम चालेका छन् ।”

“उनीहरूले आपराधिक गतिविधिमा ६ भारतीय सरकारी एजेन्टहरू संलग्न भएको प्रमाण लिएर भारतीय अधिकारीहरूसँग भेट गरेका थिए । भारत सरकारसँग बारम्बार आग्रह गर्दा पनि सहयोग नगर्ने निर्णय गरे,” उनले भनेका छन् । 

भारत सरकारले अझै पनि सहयोग गर्न अस्वीकार गरिरहेको उनले बताएका छन् । यसैकारण सोमबार ती ६ भारतीयलाई देश निकाला गर्ने सूचना जारी गरिएको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताए । 

“उनीहरूले क्यानडा छोड्नु पर्नेछ । उनीहरूले अब क्यानडामा कूटनीतिज्ञको रूपमा काम गर्न सक्ने छैनन् । न त उनीहरू कुनै कारणले क्यानडामा पुनः प्रवेश गर्न नै पाउनेछन् । म यो स्पष्ट गर्न चाहन्छु कि आरसीएमपीले जुन प्रमाण पेस गरेको छ त्यसलाई बेवास्ता गर्न सकिँदैन,” उनले स्पष्ट शब्दमा भनेका छन् । 

क्यानडाका प्रधानमन्त्रीले भारत सरकारलाई अनुसन्धानमा सहयोग गर्न पुनः अपिल गरेका छन् । ट्रुडोले आफ्नो विज्ञप्तिमा कडा शब्दमा भारत अनुसन्धानमा सामेल हुनुपर्ने र आफ्नो निष्क्रियता र भ्रामक बयानको अन्त्य गर्नुपर्ने बताएका छन् ।

भारतले अहिलेसम्म के भन्यो ?
भारतले सोमबार क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । योसँगै भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

यी कूटनीतिज्ञहरू हुन्– स्टीवर्ट रस व्हीलर (कार्यवाहक उच्चायुक्त), प्याट्रिक हेबर्ट (उप उच्चायुक्त), मेरी क्याथरिन जोली (प्रथम सचिव), इयान रस डेभिड ट्राइट्स (प्रथम सचिव), एडम जेम्स चुइप्का (प्रथम सचिव), पाउला ओर्जुएला (प्रथम सचिव) ।

भारतीय विदेश मन्त्रालयले उनीहरूलाई १९ अक्टोबर राति ११ बजेर ५९ मिनेटअघि भारत छोड्न भनेको छ । क्यानडाको आरोपप्रति आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले दिल्लीस्थित क्यानडाको नियोगका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएको छ । क्यानडामा रहेका भारतीय उच्चायोग र अन्य कूटनीतिज्ञलाई आधारहीन निशाना बनाउने कार्य अस्वीकार्य रहेको विदेश मन्त्रालयले जनाएको छ ।

सोमबार साँझ भारतीय विदेश मन्त्रालयले भनेको छ, “ट्रुडो सरकारको व्यवहारका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ । अहिलेको सरकारप्रति हाम्रो विश्वास छैन । यसैलाई ध्यानमा राख्दै भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हामीले क्यानडा सरकारलाई भनेका छौँ कि– ट्रुडो सरकारले भारतविरुद्ध पृथकता र चरमपन्थीलाई जसरी समर्थन गरिरहेको छ त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतसँग छ ।”

भारतको विदेश मन्त्रालयले निज्जर हत्या प्रकरणमा भारतीय उच्चायुक्तको नाम जोडिएकोमा कडा आपत्ति जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले धेरै चुनौतीहरूको सामना गरिरहेकाले यो मुद्दा अब राजनीतिसँग जोडिएको भारतले बताएको छ ।

“हामीले आइतबार क्यानडाबाट ‘कूटनीतिक सञ्चार’ प्राप्त गरेका छौँ । त्यसमा क्यानडामा जारी अनुसन्धानले भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञको संलग्नता रहेको देखाएको छ । भारत सरकार यी आधारहीन आरोपहरूलाई कडाइका साथ अस्वीकार गर्दछ । क्यानडाको ट्रुडो सरकारले भोट बैंक बढाउन यस्तो गरिरहेको छ,” भारतीय विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ । 

सम्बन्ध कसरी बिग्रियो ?
हरदीप सिंह निज्जरलाई १८ जुन २०२३ मा गुरुद्वाराको पार्किङ स्थलमा आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए । निज्जर क्यानडाको भ्यानकुभरमा रहेको गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष पनि थिए ।

हरदीप सिंह निज्जर जालन्धरको गाउँ भार सिंह पुराका बासिन्दा थिए । भारत सरकारका अनुसार निज्जर खालिस्तान टाइगर फोर्सका प्रमुख थिए र खलिस्तान टाइगर फोर्सका सदस्यहरूलाई सञ्चालन, नेटवर्किङ, तालिम र आर्थिक सहयोगमा सक्रिय रूपमा संलग्न थिए ।

त्यसपछि गत वर्ष सेप्टेम्बर १८ मा प्रधानमन्त्री ट्रूडोले क्यानडाको सदनमा निज्जरको हत्यामा भारत सरकारको सम्भावित संलग्नताको आरोप सम्बन्धमा अनुसन्धान भइरहेको बताएका थिए । 

उक्त आरोपपछि भारत र क्यानडाबीच आरोप–प्रत्यारोप चलेको थियो । यससँगै राजनीतिक तनाब बढेको थियो । 

अक्टोबर २०२३ मा भारतले ४० क्यानडाली कूटनीतिज्ञको कूटनीतिक उन्मुक्ति खारेज गरेको थियो । जसका कारण क्यानडाली दूतावासका करिब दुईतिहाइ कर्मचारी भारत छोडेर फर्किनुपरेको थियो ।

क्यानडाले सिख पृथकतावादीलाई दिएको छुट भारतका लागि मात्र नभई क्यानडाका लागि पनि राम्रो नभएको भारतले जनाउँदै आएको छ ।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले सन् २०२४ मेको पहिलो सातामा निज्जर हत्याका विषयमा पुनः बोलेका थिए । उनले निज्जर हत्या प्रकरण र भारतसँगको सम्बन्धका विषयमा बोलेका थिए । भारतले यसप्रति पनि आपत्ति जनाएको थियो ।

सम्बन्ध कता गइरहेको छ ?
सोमबार ६ क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतीय विदेश मन्त्रालयले थप कदम चाल्ने बताएको छ । तर, कस्तो कदम चाल्ने भन्नेबारे मन्त्रालयले स्पष्ट गरेको छैन ।

विदेश मामिलाका विज्ञ आनन्द सहाय भारतीय अधिकारीहरूले सन् २०२५ को अक्टोबरमा क्यानडामा हुन लागेको आम चुनावमा जस्टिन ट्रुडो हार्ने र त्यसपछि नयाँ सुरुआत गर्ने अवसर मिल्ने बताउँछन् ।

लेखक तथा परराष्ट्र मामिला विश्लेषक ब्रह्म चेल्लानी अहिले दुई देशबीचको सम्बन्ध सबैभन्दा तल्लो तहमा रहेको बताउँछन् । चेल्लानीले समाजिक सञ्जाल एक्समा लेखेका छन्, “क्यानडाले आफ्नो विगतबाट केही पनि सिकेको छैन ।” उनले सन् १९८५ मा भएको एयर इन्डिया विस्फोटको कुरा गर्दै थिए, जसमा ३३१ जनाको ज्यान गएको थियो ।

क्यानडाको कार्लटन युनिभर्सिटीमा पढाउने स्टेफनी कार्विनले अल–जजिरालाई बताएअनुसार क्यानडाका पछिल्ला आरोपहरू धेरै गम्भीर छन् । यसले दुई देशबीचको सम्बन्ध थप बिग्रन सक्ने उनी बताउँछिन् । यसका कारण क्यानडा अप्ठ्यारो अवस्थामा पुग्न सक्ने अनुमान उनको छ ।

वर्ल्ड सिख अर्गनाइजेसन अफ क्यानडाले सोमबार सरकारको घोषणाको स्वागत गरेको छ । क्यानडामा भारतले गरेको हस्तक्षेपबारे आज विश्वले थाहा पाए पनि उनीहरूका लागि यो विगत चार दशकको अनुभव भएको वर्ल्ड सिख अर्गनाइजेनसले जनाएको छ । (बीबीसीबाट भावानुवाद)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro