site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
दसैँ आयो दसैँ गयो

केटो खेलिरहेको थियो । सुस्त स्वरमा गाइरहेको थियो, ‘दसैँ आयो दसैँ गायो ।’ बडो लयमा थियो । 
केटी नजिकै उभिन आई । केटाकी आमा केटीको घरमा काम गर्थी । केटीले सोधी, ‘तिमीहरूको दसैँ आएर गयो पनि ?’ 
केटोले उदास भएर भन्यो, ‘हामी गरिब छौँ नि । हामीलाई दसैँ आए नआएको बराबर छ ।’ 
केटी पनि उदास भई । वर्षभरि त सँगै हुन्छन् र हाँसीखुसी हुन्छन् । यो दसैँ आयो कि भेद बढेर जान्छ । 
दसैँमा केटो केटीभन्दा अलि परपर हुन खोज्छ । 
केटीले भनी, ‘म पनि दसैँ मनाउँदिनँ ।’ 
केटो छक्क पर्‍यो, केटीको घरमा खसी ढालेका छन्, एउटा होइन दुइदुईवटा । खानापिना चलिरहेछ । 
केटाकी आमाले साँझ केटीको घरबाट दिएको मासुभात ल्याएर ख्वाउने गर्छिन् । केही भियांश पनि हुन्छ अखबारको पोकोमा । 
केटोले सोध्यो, ‘तिमी किन दसैँ नमनाउने ?’ 
‘मलाई मन लागेन । तिमीले मनाए पो मनाउन रमाइलो हुने थियो ।’
केटोले भन्यो, झन् उदास भएर, ‘हामी त गरिब छौँ र पो । तिमी त धनी छौ । जे भने पनि पुग्छ ।’ 
‘के पुग्छ ?’ 
‘तिम्रो घरमा दुदुइटा खसी काटेका छन् । तिमीले नयाँ लुगा लगाएकी छौ ।’
केटाको जिउमा नयाँ लुगा थिएनन् । 
आमाले भनेकी थिइन् ‘यो वर्ष नयाँ लुगा सिउन सकिएन । किन्न पैसा पनि भएन । तेरा बाले धोकेर सके ।’
केटी पनि उदास भई । 
उसले भनी, ‘म पनि पुरानै लुगा लगाउँछु । मलाई पनि गरिब हुन मन लाग्यो ।’
‘तिम्रा पुराना लुगा पनि नयाँ लुगा जस्तै छन् । तिमी कसरी गरिब हुन्छौ ? गरिबका लुगा त मैला पुराना फाटेका टालेका हुन्छन् ।’ 
केटीलाई आश्चर्य लाग्यो, पुराना लुगाका यति प्रकार हुने रहेछन्— फाटेका टालेका र मैला । 
केटीले तैपनि सोधी, ‘अनि ?’
‘गरिबहरूले पेटभरि खान पनि पाउन्नन् ।’ 
‘म पनि आधा पेट खान्छु । तिमीसँग बस्छु ।’ केटीले उत्साहित हुँदै भनी, ‘तिमीले जे खान्छौ त्यही खान्छु । तिमीले जे लाउँछौ त्यस्तै लाउँछु ।’ 
‘मेरो घर तिम्रो घरजस्तो ठूलो छैन । त्यहाँ दसैको रमझम पनि छैन ।’ 
‘म यो सब छाडेर तिमीसँगै बस्छु ।’ 
‘मेरो घरमा टिभी छैन ।‘
‘टिभी नहेरे के हुन्छ ?’ केटीले सोधी । 
‘मलाई के थाहा ।’ केटोले भन्यो । 
त्यति भनेपछि केटो चुप लाग्यो । 
केटीले एक्कासि भनी, ‘हिँड् जाऊँ तिम्रो घर । त्यहीँ लुकेर बसौँ हामी ।’ 
‘हुँदैन । तिम्रा बाआमाले प्रहरी लगाएर खोज्न लगाए भने ?’ 
‘प्रहरीलाई म भन्छु नि ।’ 
‘के ?’ 
‘हामी सँगै बस्छौँ । हामीलाई केही नगर्नू है ?’ 
केटो अन्यमनस्क थियो । तर केटीले उसलाई डोर्‍याएर उसको घरतिर लगी । 
केटीले केटाको घर देखेकी थिई । त्यो एउटा साँघुरो कोठा थियो, डेरा । 
ती दुई लुक्ने ठाउँ खोज्दै थिए । केटीको घरको अर्को पुरुष नोकर आएर केटोलाई कसेर एक झापट दियो । 
केटी थरथर काम्न लागी । 
नोकरले भन्यो, ‘आज दसैँको टीका छ । तेँले मैयाँलाई कता लगेर के गर्न लागिस् ?’ 
नोकरले खैनी मल्दै भन्यो, ‘यत्रो उमेरमा यस्तो सोच, साले ! धन्न मैले देखिहालेँ र पो ।’
नोकर खैनी मुखभित्र च्याप्दै भन्यो, ‘धन्न मैले देखिहहालेँ र पो नत्र आज बित्याँस पाथ्र्यो केटोले । कस्तो गाँठे, यति सानै उमेरमा !’ 
केटोले साहस गरेर भन्यो, ‘मैले होइन, उसैले हो । मेरो घरमा लुक्न जाऊँ भनेको ।’ 
नोकरले केटीलाई हेरेर हाँस्दै सोध्यो, ‘हो मैयाँ ?’ 
नाकेर हाँसेको देखर केटी पनि हाँसी, भनी, ‘हैन उसैले हो ।  आज हामी लुकेर मेरै घरमा बसौँ भनेको । हेर न ढाँटेको ।’ 
केटोले आँसु झार्दै केटीलाई हेरेर भन्यो, ‘आफ्नो हैसियत नमिल्नेसँग खेल्न हिँड्ने नगर् भनेर आमा भन्थिन्, हो रहेछ ।’   

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro