भागवत खनाल
अस्तिसम्म
मसँग तिमी थिएनौँ
तिमीसँग म थिइनँ
मेरा लागि तिमी अस्तित्वहीन
तिम्रा लागि म अस्तित्वहीन
हिजो
जीवनयात्राको एउटा बिसौनीमा
तिम्रो र मेरो जम्काभेट भएथ्यो
त्यो क्षणिक मुकाममा
तिमीले मलाई मन परायौ
मैले तिमीलाई मन पराएँ
एउटा चौतारीमा सुस्ताउँदा
ज्यान बिसाउने अडेसो भेटेझैँ
तिमीले मेरो आड पायौ
मैले तिम्रो आड पाएँ
त्यस नश्वर मुकाममा
हाम्रो हित्तचित्त मिल्यो
अनि,
तिमीले मलाई अविनाशी ठान्यौ
मैले तिमीलाई अविनाशी ठानेँ
त्यही मुकामलाई पराकाष्ठा ठान्यौँ
अब अर्को यात्रा हुँदैन ठान्यौँ
तिमीले मलाई भित्रसम्म चिन्यौ
मैले तिमीलाई भित्रसम्म चिनेँ
हामीले हाम्रा अन्तरंग साट्यौँ
सारा भेद खोल्यौँ, रहस्यहीन भयौँ
नचिन्दासम्म कुतूहल थियो
भित्र गुदी होला दिलासा थियो
परस्परमा भरोसा थियो
विश्वास, आधार र टेको थियो
सबै देख्यौँ, जिज्ञासा गयो
सबै छाम्यौँ, उन्माद गयो
चुर्लुम्म डुब्यौँ, गहिराइ सकियो
सर्वांग नाप्यौँ, उँचाइ सकियो
धेरै नचिन्नु थियो, चिनियो
गहिराइ ननाप्नु थियो, नापियो
सीमान्तमा नपुग्नु थियो, पुगियो
शाश्वत नठान्नु थियो, ठानियो
आज
एउटा सपना भंग भएझैँ
दृढ भरोसाको शिखर ढलेझैँ
तिम्रो मार्ग पूर्वाभिमुख
मेरो मार्ग पश्चिमाभिमुख
यो नवीन मार्गमा
तिमीले पनि अर्को कोही भेट्टायौ होला
मैले पनि अर्को कोही भेट्टाएँ
तिम्रो मनको मुराद पनि फेरियो होला
मेरो मनको मुराद पनि फेरियो
सायद तिमी मलाई बिर्सने क्रममा छौ
सायद म तिमीलाई बिर्सने क्रममा छु !