काठमाडौं । भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । २८ डिसेम्बर १९३७ मा जन्मिएका रतन टाटाले ९ अक्टोबरको राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए । भारतीय उद्योगको प्रमुख स्तम्भ मानिने टाटा समूहका अध्यक्ष रतनको जीवनशैली भने सामान्य थियो ।
सन् १९८६ मा इन्डियन एअरलाइन्सका कर्मचारीबीच अनौठो सर्वेक्षण गराइयो । दिल्लीदेखि मुम्बईको उडानका दौरान कुन यात्रीले तपाईंलाई सबैभन्दा धेरै प्रभावित पार्याे भनेर कर्मचारीलाई प्रश्न सोधियो । अधिकांश कर्मचारीले रतन टाटाको नाम लिए । यसको कारण के थियो भने उनी एक्लै हिड्ने भीआईपी थिए । उनको साथमा झोला, फाइल बोक्ने सहयोगी पनि कोही हुँदैन थिए ।
विमान उड्ने बित्तिकै उनी चुपचाप आफ्नो काम सुरु गर्थे । विमानमा थोरै चिनी भएको कालो कफी पिउने उनको बानी थियो । आफूले भने अनुसारको कफी नपाएको भन्दै उनले परिचारिकालाई कहिल्यै गाली गरेनन् । रतन टाटाका सादगीका यस्ता अनेक किस्साहरू छन् ।
कुकुरप्रतिको प्रेम
गिरिश कुबेर टाटा समूहबारे लेखिएको प्रसिद्ध पुस्तक ‘द टाटाज हाउ ए फ्यामिली बिल्ट बिजेनस एण्ड नेशन’मा लेख्छन्, “जब उनी (रतन टाटा) टाटा सन्सको प्रमुख बने, उनी जेआरडीको कोठामा बसेनन् । उनले अफिसमा बस्नका लागि एउटा सानो कोठा बनाए । जुनियर अफिसरसँग कुरा गरिरहँदा सिनियर अफिसर आइपुग्दा उनी सिनियरलाई पर्खन भन्थे । उनीसँग दुईवटा जर्मन शेफर्ड कुकुर ‘टिटो’ र ‘ट्यांगोे’ थिए जसलाई उनी असाध्यै माया गर्थे ।”
“कुकुरहरूप्रति उनको प्रेम यति हदसम्म थियो बम्बे हाउसमा रहेको आफ्नो कार्यालयमा पुग्दा सडकका कुकुरहरू उनलाई घेरेर लिफ्टसम्म पुग्थे ।” गिरिश कुबेरले आफ्नो किताबमा लेखेका छन् ।
रतनका पूर्व सहायक आर वेंकटरामननले रतनको बारेमा सुनाएका थिए, “धेरै कम मानिसले टाटालाई नजिकबाट चिन्छन् । यहाँ जम्मा दुई व्यक्तिहरू छन् जो टाटासँग धेरै नजिक छन्, ‘टिटो’ र ‘ट्यांगो’, उनका यी दूई जर्मन शेफर्ड कुकुरबाहेक कोही पनि उनको नजिक आउन सक्दैनन् ।”
प्रख्यात व्यापारी तथा लेखक सुहेल सेठ पनि एउटा किस्सा सुनाउँछन्, “फेब्रुअरी ६, २०१८ मा बेलायतका राजकुमार चाल्र्सले बकिंघम प्यालेसमा रतन टाटालाई परोपकारी कार्यका लागि ‘रकफेलर फाउन्डेसन लाइफटाइम अचिभमेन्ट’ अवार्ड दिने कार्यक्रम थियो । तर, समारोहको केही घण्टाअघि रतन टाटाले आफ्नो कुकुर टिटो अचानक बिरामी परेकाले आफू आउन नसकेको कुरा आयोजकलाई जानकारी गराए ।”
जेआरडीजस्तै रतन टाटा पनि आफ्नो समय निष्ठताका लागि परिचित थिए । उनी साढे ६ बजे अफिसबाट निस्किन्थे । अफिसको कामका लागि घरमा कसैले सम्पर्क गरेमा उनी प्रायः रिसाउने गर्थे । मुम्बईमा हुँदा उनी अलिबागको फार्म हाउसमा सप्ताहन्त बिताउने गर्थे । त्यो बेला उनको साथमा कुकुरबाहेक कोही हुन्थेन । उनलाई न घुम्न मन हुन्थ्यो न भाषण दिन ।
त्यतिबेलाका व्यवसायी, पत्रकार र रतनका साथीहरूले उनलाई मिलनसार, संस्कारी र चाखलाग्दो व्यक्तिको रूपमा सम्झन्छन् । कुमी कपूर लेख्छन्, “अधिकांश भारतीय अर्बपतिहरूको तुलनामा, रतनको जीवनशैली धेरै नियन्त्रित र सरल थियो ।”
प्रेमिकासँग विवाह नभएपछि जीवनभर अविवाहित
कुमी कपूरसँगको अन्तर्वार्तामा रतन टाटाले भनेअनुसार उनी अमेरिका पढ्दा भारत सरकारले निकै कम डलर सटहीको सुविधा दिएको थियो । “त्यतिबेला रिजर्भ बैंकले विदेशमा पढ्नको लागि धेरै कम विदेशी मुद्रा प्रयोग गर्न अनुमति दिएको थियो । मेरा बुबा कानुन तोड्ने मुडमा थिएनन् । त्यसकारण प्रायजसो महिनाको अन्त्य हुनुअघि मैले साथीहरूबाट पैसा उधारो माग्नुपथ्र्यो । र केही अतिरिक्त पैसा कमाउन भाँडाकुँडा पनि धुनुपर्यो ।”
रतन १० वर्षको हुँदा उनका आमाबुवाको सम्बन्ध विच्छेद भयो । रतन १८ वर्षको हुँदा उनका बुबाले स्वीस महिला सिमोन डुनोयरसँग विवाह गरे । अर्कोतर्फ उनकी आमाले सम्बन्धविच्छेदपछि सर जमशेदजी जीजीभोयसँग विवाह गरिन् । रतनलाई उनकी हजुरआमा लेडी नवाजबाई टाटाले हुर्काएकी थिइन् ।
रतन सात वर्ष अमेरिका बसे । त्यहाँ उनले कर्नेल विश्वविद्यालयबाट आर्किटेक्चर र इन्जिनियरिङ अध्ययन गरे । लस एन्जलसमा उनको राम्रो जागिर र राम्रो घर थियो । तर हजुरआमा र जेआरडीको आग्रहमा उनी भारत फर्किए । उनकी अमेरिकी प्रेमिका पनि उनीसँगै भारत आएकी थिइन् । तर, उनको र टाटाको विवाह हुन सकेन । यही कारण रतन टाटा जीवनभर अविवाहित रहे ।
एउटा अन्तर्वार्तामा उनले श्रीमती र परिवार नहुँदा आफूले एक्लोपन महसुस गर्ने गरेको सुनाएका थिए । “श्रीमती वा परिवार नभएकोमा धेरै पटक म एक्लो महसुस गर्छु,” उनले भनेका थिए ।
उनका अनुसार जीवनमा चारपटक बिहे गर्ने उनले सोचेका थिए । तर, हरेकपटक परिस्थिति यस्तो बन्यो कि बिहे गर्नै सकेनन् । रतन टाटाको बाल्यकाल कठिन परिस्थितिमा बित्यो किनकि उनका आमाबाबुको सम्बन्ध विच्छेद भएको थियो । यही ट्रमाका कारण पनि उनले विवाह गर्न सकेनन् ।
तल्लो पोष्टबाट जागिर सुरु गरेर समूहको अध्यक्ष
गिरिश कुबेर लेख्छन्, “रतन जमशेदपुरमा ६ वर्ष बसे । त्यहाँ उनले सुरुमा नीलो ओभरल लगाएर पसलमा काम गर्ने कामदारको रूपमा आफ्नो करिअर सुरु गरे । त्यसपछि उनलाई प्रोजेक्ट म्यानेजर बनाइयो । त्यसपछि उनी प्रबन्ध निर्देशक एसके नानावतीको विशेष सहायक भए । उनको कडा परिश्रम देखेपछि जेआरडी टाटाले उनलाई बम्बई बोलाए ।”
रतनको नेतृत्वमा, तीन वर्षमा नेल्को (राष्ट्रिय रेडियो र इलेक्ट्रोनिक्स) कम्पनीले नाफा कमाउन थाल्यो । सन् १९८१ मा जेआरडीले रतनलाई टाटा इन्डस्ट्रिजको प्रमुख बनाए । यद्यपि, यस कम्पनीको कारोबार ६० लाख मात्रै थियो । तर, यो जिम्मेवारी महत्वपूर्ण थियो किनभने यसअघि टाटा आफैँले यस कम्पनीको कामको प्रत्यक्ष रेखदेख गरेका थिएनन् ।
टाटाका जीवनीकार केएम लालाले लेखेका छन्, “जेआरडी, नानी पालखीवाला, रुसी मोदी, शाहरुख सबवाला र एचएन सेठनामध्ये कसैलाई आफ्नो उत्तराधिकारी बनाउने सोचमा थिए । रतन टाटाले यो पदका लागि दुई मुख्य दावेदार पालखीवाला र रुसी मोदी हुने विश्वास गरेका थिए ।”
जेआरडी रतनको पक्षमा सबैभन्दा महत्वपूर्ण कुरा उनको नाममा जोडिएको ‘टाटा’लाई ठान्थे । टाटाका साथी नुस्ली वाडिया र उनका सहायक शाहरुख सबवालाले पनि रतन नै अध्यक्ष हुनुपर्ने जिकिर गरे ।
सन् १९६२ मा टाटा समूहमा प्रवेश गरेका रतन टाटा २५ मार्च १९९१ मा टाटा समूहको अध्यक्ष भए । अध्यक्ष हुँदा उनको अगाडि पहिलो चुनौती थियो दरबारी सेठ, रुसी मोदी र अजित केरकरलाई कमजोर बनाउने । अहिलेसम्म यी व्यक्तिहरूले टाटा कम्पनीहरूमा मुख्य कार्यालयको कुनै हस्तक्षेप बिना काम गर्दै आएका थिए ।
सुरुमा मानिसहरूले रतन टाटाको व्यावसायिक बुद्धिमत्तामा धेरै प्रश्नहरू उठाए । तर, सन् २००० मा उनले आफ्नो आकारभन्दा दोब्बर बेलायती ‘टेटली’ समूह खरिद गरेर मानिसहरूलाई चकित पारे । आज टाटाको ग्लोबल बेभरेज विश्वको दोस्रो ठूलो चिया कम्पनी हो । यसपछि उनले युरोपको दोस्रो ठूलो स्टिल निर्माण कम्पनी ‘कोरस’ किने । आलोचकहरूले यो सम्झौताको आलोचना गरेका थिए ।
सन् २००९ को दिल्ली अटो एक्सपोमा उनले जनताको कार भन्दै ‘नानो’ अनावरण गरेका थिए । जसको मूल्य १ लाख भारतीय रुपैयाँ थियो । नानोभन्दा पहिले १९९८ मा टाटा मोटर्सले बजारमा ‘इंडिका’ कार ल्याएको थियो जुन भारतमा डिजाइन गरिएको पहिलो कार थियो ।
यो कार सुरुमा असफल भयो र रतनले यसलाई फोर्ड मोटर कम्पनीलाई बेच्ने निर्णय गरे । जब रतन फोर्डका अध्यक्षलाई भेट्न डेट्रोइट गए, बिल फोर्डले उनलाई यो व्यवसायको बारेमा पर्याप्त जानकारी बिना किन यो क्षेत्रमा प्रवेश गरेको भनेर सोधे । फोर्डले ‘इन्डिका’ किनेको खण्डमा भारतीय कम्पनीलाई ठूलो फाइदा हुने दाबी गरे । फोर्डको यो व्यवहारबाट रतन टाटाको टोली आक्रोशित भयो र कुराकानी नगरी फर्कियो ।
एक दशक पछि स्थिति परिवर्तन भयो । २००९ मा फोर्ड कम्पनी ठूलो आर्थिक संकटमा पर्यो । उसले ब्रिटिश लक्जरी ब्रान्ड जगुआर र ल्यान्ड रोभर बेच्ने निर्णय गर्यो । कुमी कपूर लेख्छन्, “त्यसपछि बिल फोर्डले भारतीय कम्पनीले फोर्डको लक्जरी कार कम्पनी किनेर आफूमाथि ठूलो उपकार गर्नेछन् भन्ने सोचे । नभन्दै रतन टाटाले यी दुवै प्रसिद्ध ब्रान्ड २.३ बिलियन अमेरिकी डलरमा खरिद गरे ।”
तर, केही व्यापार विश्लेषकहरूले रतन टाटाले जगुआर ल्याण्ड रोभर खरिद गरेकोमा प्रश्न गरे । चर्चित पत्रकार सुचेता दलालले भन्छिन्, “रतनले एकपछि अर्को गल्ती गरे । ‘जागुआर’ किनेर उनको समूह आर्थिक बोझले दबिएको थियो । तर ‘टाटा कन्सल्टेन्सी सर्भिस’ले टाटा समूहलाई सधैँ अग्रस्थानमा राख्यो ।”
यस कम्पनीले सन् २०१५ मा टाटा समूहको खुद नाफामा ६० प्रतिशतभन्दा बढी योगदान गरेको थियो ।
निरा राडिया, तनिष्क र साइरस मिस्त्रीसँगको विवाद
सन् २०१० मा रतन टाटा एउटा ठूलो विवादमा फसे । निरा राडियासँगको उनको टेलिफोन कुराकानी लिक भयो । अक्टोबर २०२० मा टाटा समूहले आफ्नै आभूषण ब्रान्ड ‘तनिष्क’ को विज्ञापन हतारमा फिर्ता लिएकोमा रतन टाटाको पनि आलोचना भएको थियो ।
यो विज्ञापनले सबै धर्मलाई समान मान्ने एकीकृत भारतको मार्मिक चित्रण गरेको थियो । तर, सामाजिक दबाबका कारण ‘तनिष्क’ले त्यो विज्ञापन फिर्ता लिनुपरेको थियो । २४ अक्टोबर २०१६ मा टाटा समूहका अध्यक्ष साइरस मिस्त्रीलाई एक घण्टाभन्दा कम समयको सूचनामा बर्खास्त गर्दा रतन पनि विवादमा परे ।
टाटालाई भरपर्दो ब्रान्ड बनाए
तर, यी सबैका बावजुद रतन टाटालाई सधैँ भारतका सबैभन्दा भरपर्दो उद्योगपतिहरूमा गनिन्थ्यो । भारतमा कोभिड महामारी फैलिएपछि रतन टाटाले तत्कालै टाटा ट्रस्टबाट ५०० करोड रुपैयाँ र टाटा कम्पनीहरूमार्फत एक हजार करोड रुपैयाँ महामारी र नाकाबन्दीको आर्थिक संकट सामना गर्न भनेर दिए । रतन टाटाले महामारीको समयमा आफैँलाई गम्भीर जोखिममा राख्ने डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई बस्न भनेर आफ्ना होटेलहरू उपलब्ध गराए ।
आज पनि भारतीय ट्रक चालकहरूले ट्रक टाटाको हो र त्यसैले भरपर्दो छ भनी देखाउन आफ्नो गाडीको पछाडि ओके टाटा लेख्छन् । टाटाको पनि ठूलो ग्लोबल फुटप्रिन्ट छ । यसले ‘जागुआर’ र ‘ल्यान्ड्रोभर’ कारहरू उत्पादन गर्छ । र, ‘टाटा कन्सल्टेन्सी सर्भिसेस’ विश्वको प्रसिद्ध सफ्टवेयर कम्पनीहरूमध्ये एक हो ।
टाटा नानो : आम मान्छेको सपना
रतन टाटाको सपना भारतका हरेक आम मानिसलाई सस्तो र सस्तो कार उपलब्ध गराउने थियो । यो सपना साकार पार्न टाटा नानो निर्माण गरिएको थियो, जसलाई “विश्वकै सस्तो कार” भनेर प्रचार गरिएको थियो । नानो भारतमा लन्च गरिएको थियो । यसलाई आम जनताको पहुँचमा पुर्याउने प्रयास गरिएको थियो । यद्यपि, यो परियोजना व्यावसायिक दृष्टिकोणबाट पूर्णरूपमा सफल हुन सकेन । सन् २०२० देखि यसको उत्पादन नै बन्द गरिएको छ ।
रतनले दुई दशकभन्दा बढी समयसम्म टाटा समूहको नेतृत्व गरे । टाटा समूह नुनदेखि सफ्टवेयरसम्मका १०० भन्दा बढी कम्पनीहरूको समूहको रूपमा चिनिन्छ । यसले करिब ६ लाख ६० हजार मानिसलाई रोजगारी दिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा ।