site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एआईको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादितरूपमा गरिनुपर्ने बताएकी छन् ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु सम्मेलनअन्तर्गत आयोजित एसीडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, “अबको युगमा एआईलाई पछि छोडेर अघि बढ्न सकिँदैन । त्यसैले यसलाई मर्यादितरूपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।” 

Argakhachi Cement Island Ad

उनले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआईलाई सकारात्मक र सिर्जनात्मक साधनका रूपमा अँगाल्नुपर्ने धारणा पनि राखिन् ।

यस बिजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड न्यू बिजनेस मोडल’ विषयक सत्रमा उनले भनिन्, “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआई एक प्रकारको ‘गेम चेन्जर’का रूपमा आएको छ । यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।”  

मन्त्री राणाले एआई अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षालगायत क्षेत्रमा पनि प्रभावकारी साधन बनेको बताइन् ।

यस प्रविधिलाई देशको व्यापारिक तथा कर्पाेरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्धनका लागि प्रयोग गर्न सक्ने उनको सुझाव थियो । कर्पोरेट क्षेत्रका डेटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन र सेवाहरूको विस्तारमा एआईले सहयोग पुर्‍याउने उनले बताइन् ।

परराष्ट्रमन्त्री राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी हुन् । उनी संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर मंगलबार दोहा पुगेकी हुन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्