site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाढीपहिरोले कृषिमा करिब ६ अर्ब बराबरको क्षति
सिन्धुलीको नेपालथोकस्थित फाँटमा पाकेको धान बाढीले बगाएपछिको अवस्था । तस्बिर : राधिका बुढाथोकी/रासस

काठमाडौं । गएको असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक क्षतिको विवरणअनुसार पाँच अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति भएको देखिएको छ ।

अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति श्रृंखला साथै अन्य क्षेत्रमा ठूलो क्षति भएको मन्त्रालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्यांजा, सिन्धुली, मकवानपुर, काभ्रे जिल्लामा ५८ हजार ४७६ हेक्टर धानवाली नष्ट भएको छ । उक्त क्षेत्रमा तीन अर्ब ५० करोड बराबरको क्षति भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

खोटाङमा १३ सय हेक्टर अलैची खेती नष्ट हुँदा ७० करोड बराबरको क्षति भएको छ । पर्सामा ३४ करोड मूल्य बराबरको ८५ हजार हेक्टर उखुखेती नष्ट भएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ४५६ हेक्टर माछापोखरीमा क्षति हुँदा एक अर्ब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।  पाँचथर, धनकुटा, तेह्रथुमका २४ पशुगोठमा क्षति भएको छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा २६ हजार २०५ पशुपन्छी मरेका छन् ।

कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहटको २२ हेक्टर फलफूल बगैंचामा क्षति पुगेको छ । खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा जिल्लाका चार हजार ७४३ हेक्टर तरकारी बालीमा नष्ट भएको छ । दुईवटा कोल्डस्टोरमा क्षति भएको छ ।

लालबन्दी, गोदावरी, खुमलटार, मुसीकोट, फिकल कीर्तिपुर, मार्फा, नवलपुर लगायतमा १६ करोड बराबरको मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनामा क्षति भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्