site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘दुरूपयोग नरोकिएपछि’ भिजिट भिसामा कडाइ !

काठमाडौं । गत भदौको पहिलो साता १७६ जना नेपाली ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साओ पाउलोस्थित विमानस्थलमा पुगी शरणार्थीको हैसियत मागे । 

मानव तस्करलाई लाखौं रकम बुझाई अमेरिका हिँडेका उनीहरूले विमानस्थलमा आफ्नो परिचय खुल्ने कागजात (पासपोर्ट) च्यात्दै आफूहरू शरणार्थी भएको दाबी गरेका थिए । 

त्यसको केही दिनपछि उनीहरू साओ पाउलोस्थित विमानस्थलबाट बाहिरिए । त्यसपछि उनीहरू पुनः मानव तस्करकै पछि लागी अमेरिका हिँडे । उनीहरू सबै नेपालबाट ‘भिजिट भिसा’मा युनाइटेड अरब इमिरेट्स (यूएई) हुँदै ब्राजिलको साओ पाउलो पुगेका थिए । 

Dabur Nepal
NIC Asia

गएको असारमा पनि यसैगरी साओ पाउलो पुगेका ४ सय नेपाली र भारतीयले आफूहरू शरणार्थी भएको दाबी गरेका थिए । 

ब्राजिलको न्याय तथा सामाजिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२४’ प्रतिवेदनमा सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौं ठूलो संख्या नेपालीको रहेको देखाएको थियो । 

उक्त वर्ष ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने नेपालीको संख्या ९६६ रहेको थियो, जुन संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग्ने भारतीय, चिनियाँ र बंगादेशीकोभन्दा बढी हो ।

प्रतिवेदनले प्रत्येक वर्ष कति ठूलो संख्यामा नेपाली अवैध तरिकाले ज्यान जोखिममा राख्दै अमेरिका जाने गर्छन् भन्ने स्पष्ट देखाउँछ । भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करले नेपालीलाई अमेरिका मात्र होइन युरोप र दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार, थाइल्यान्ड, लाओसलगायतका देश पु¥याउने गरेका छन् ।

पछिल्लो समय अवैध तरिकारले रुसी सेनामा भर्ती भएका अधिकांश नेपाली युवाहरूलाई मानव तस्करले भिजिट भिसामा यूएई हुँदै रुस पुर्‍याएका थिए । उक्त भीसामार्फत मानव तस्करी बढेको पाइएपछि सरकारले यसमा कडाई गर्न लागेको छ । 

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा यही असोज ७ गते बसेको सचिव बैठकले भिजिट भिसामा कडाई गर्ने निर्णय गरेको हो । 

सचिव निर्णयमा भनिएको छ, “भिजिट भिसामार्फत मानव तस्करीको सम्भावना बढेको भन्ने परिप्रेक्षमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरी अविलम्ब आवश्यक रणनीति बनाइ लागू गर्ने ।”

पछिल्ला वर्षमा उक्त भिसामा विदेश जाने नेपालीको संख्या अस्वाभाविक रुपमा बढेको छ । 

अध्यागमन विभागका अनुसार, सन् २०२४ जनवरी १ देखि सेप्टेम्बर २८ सम्म १ लाख ८१ हजार २६६ जना नेपाली त्यही भीसा प्रयोग गरी विदेश गएका छन् । 

उक्त अवधिमा भिजिट भिसामा ६८ हजार ३१६ जना यूएई, १९ हजार ६८४ जना थाइल्यान्ड, ५ हजार ४०९ जना अष्ट्रेलिया, ३ हजार ४८६ जना अमेरिका, ९८२ जना श्रीलंका, ६०४ जना माल्दिभ्स, १ हजार ६५६ जना इन्डोनेसिया, १ हजार ७६३ जना नेपाली बेलायत गएको देखिन्छ । यही उद्देश्यले ४३ हजार २८९ जना भारत गएको अध्यागमनको तथ्याङ्कले देखाउँछ । 

“सचिव बैठकले गरेको निर्णय हामी कार्यान्वयन गर्छौं । सरोकारवाला सबैसँग छलफल गरी भिजिट भीसाबाट हुने सम्भावित मानव तस्करी रोक्न आवश्यक रणनीति बनाउँछौं,” गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव ऋषिराम तिवारीले बाह्रखरीसँग भने । 

अध्यागमन विभागको विवरण अनुसार, सन् २०२३ मा २ लाख ४ हजार ५१८ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए । यसरी विदेश जानेमा १ लाख ३० हजार ९२६ जना पुरुष र ७३ हजार ५७५ जना महिला थिए । 

सन् २०२३ मा घुम्ने उद्देश्यले ७१ हजार ६९८ जना भारत, ५५ हजार ६१८ जना यूएई, २१ हजार २६० जना थाइल्याण्ड, ६ हजार ९३ जना चीन, ५ हजार ८०१ जना अष्ट्रेलिया, ४ हजार ६६० जना सिंगापुर, ४ हजार ४७३ जना मलेसिया, ४ हजार ३५ जना अमेरिका र २ हजार ५९० जना जापान गएका थिए । 

तर यूएई सरकारले अबुधाबीस्थित नेपाली दूतावासलाई दिएको तथ्यांक भने फरक छ । यूएई सरकारले दिएको जानकारी अनुसार, सन् २०२३ मा १ लाख ७५ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए ।

नेपालबाट यूएई जान भनी भिजिट भिसामा उडेका भन्दा यूएईमा भिजिट भिसामा पुग्ने नेपालीको संख्या १ लाख १९ हजार ३८२ ले बढी देखिएको थियो । यसले के स्पष्ट देखाउँछ भने नेपालबाट भन्दा ठूलो संख्यामा नेपाली भारत, बंगलादेश र श्रीलंका हुँदै भिजिट भीसामा यूएई जाने गरेका छन् ।

कति नेपालीलाई त एजेन्टहरूले ओमान, बहराइन लगी त्यहाँबाट यूएई प्रवेश गराउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार, सन् २०२२ मा भिजिट भीसामा विदेश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । तर उक्त वर्ष भिजिट भिसामा २ लाख ५५ हजार नेपाली यूएई पुगेका थिए । 

उक्त वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भीसामा जति नेपाली विदेश गएका थिए त्योभन्दा ठूलो संख्या भिजिट भीसामा यूएई पुग्नेको थियो । 

सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या मात्र ७ हजार ७४९ रहेको थियो । सन् २०२१ मा आउँदा उक्त भीसामा यूएई जानेको संख्या ह्वात्तै बढेको थियो । सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई गएका थिए ।

“हामी सबै घटनाहरूको विस्लेषण गरेर मात्र रणनीति बनाउँछौं,” गृह प्रवक्ता तिवारीले भने । भिसा दुरुपयोग भएको थाहा पाएपछि त्यसमा कडाइ गर्ने उद्देश्यले सरकारले २०८० माघ १० गतेबाट लागू गर्ने गरी यात्रा परामर्श (ट्राभल एड्भाइजरी) जारी गरेको थियो । 

एड्भाइजरीमा श्रम गन्तव्य मुलुकहरू कुवेत, ओमन, यूएई र बहराईन जस्ता देशहरूमा बिचौलियाहरूको प्रभावमा महिलालाई भिजिट वा पर्यटक भिसामा लग्ने गरेको उल्लेख गरिएको थियो । महिलालाई अनेक प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउने गरिएको पनि जनाइएको थियो । 

काम गर्ने मनसायले विदेश जाँदा भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्न एड्भाइजरीमा अनुरोध गरिएको थियो । 
विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्रीहरू उल्लिखित मितिमा फर्कने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कन पनि एड्भाइजरीमा भनिएको थियो । 

“भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भीसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेश सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने,” एड्भाइजरीमा भनिएको थियो ।

गतवर्ष कडाई गर्दा पनि भिजिट भिसाको दुरुपयोग गर्नेको संख्या घटेन । मानव तस्करले भिजिट भिसामा अनेक देश पुर्‍याई नेपालीलाई अलपत्र पार्ने कार्य जारी छ । यसैलाई रोक्न भिजिट भिसामा कडाई गर्न लागेको गृह मन्त्रालयले जनाएको छ । 

पूर्वगृहसचिव गोविन्द कुुसुमले पनि अप्ठ्यारो अवस्थामा विभागका प्रमुख नुहँदा कुनै पनि निणर्य लिन सकस हुने बताए ।

उनी भन्छन्,‘‘अधिकांश निमित्त प्रमुखहरुलाई कुनै ठूलो आर्थिक र अन्य जिम्मा पनि दिइएको हुँदैन । त्यस्तो बेला अप्ठ्यारो परिस्थिति आउँदा निणर्य लिन नै गाह्रो हुन्छ ।’’ 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro