काठमाडौं । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)बाट प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास–लेखन राष्ट्रिय पुरस्कार २०८१’ विकास अभियन्ता तथा लेखक सोमत घिमिरेलाई प्रदान गरिएको छ ।
नेपानको ३०औँ वार्षिक साधारणसभाको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी तथा नेपानका अध्यक्ष भोला भट्टराईले घिमिरेलाई पुरस्कृत गरे । पुरस्कारका साथ नगद राशि १० हजार रुपैयाँ समेत प्रदान गरियो ।
पुरस्कार साहित्यकार चेतनाथ कँडेल र सीता कँडेलले आफ्ना छोरा प्रसिद्ध कँडेलको स्मृतिमा स्थापना गरेका हुन् ।
नेपालको विकास प्रक्रियालाई टेवा पुग्ने विविध विषयका आधा दर्जनभन्दा बढी पुस्तक लेखेका लमजुङ निवासी घिमिरेले समावेशी लोकतन्त्र प्रवद्र्धन तथा सहभागीमूलक विकासका अनेक आयाममा नियमित रूपमा कलम चलाउँदै आएका छन् ।
घिमिरेको ‘जुर्मराएको बखत’, ‘प्राकृतिक स्रोतमा नागरिक सर्वोच्चता’, ‘समृद्ध कर्णालीको दुःख’,‘सामुदायिक अधिकार’, ‘जनकेन्द्रित वकालत’लगायत पुस्तक प्रकाशित रहेको चेतनाथ कँडेलले जानकारी दिए ।
घिमिरेसहित यो पुरस्कारबाट हालसम्म ७ जना विकास–लेखकहरू पुरस्कृत भइसकेका छन् ।