माटोको प्रसव पीडासँगै
बुद्धको आँखाबाट निस्किएर
शालिग्रामको जलमा नुहाउँदै
पखेटा फिजाउँदै
भुरुरु उड्यो एउटा निलो परेवा
हाम्रै झुन्डको परेवा
एउटै रङ, एउटै ढंग
एउटै चारा खाने धुलो खेलीखेली
माटो बिछ्याउने, माटो नै ओढ्ने
माटो नै बसाउने
एउटा निलो परेवा
शिरमा निलो शिरपोश ढल्काउँदै
मुटुमा रातो रगत उमाल्दै
पस्यो युद्धको अग्निकुण्डभित्र
बारुदको अँध्यारो मुस्लोभित्र
जहाँ आफ्नै मुटु कलेजोसँग लड्छ
एउटा आँखा अर्कोसँग मारिन्छ
एउटा हात अर्को हातसँग काटिन्छ
एउटा गोडा अर्को गोडासँग ढालिन्छ
बलिवेदीजस्तो
को शत्रु, को मित्र ?
को भित्र, को बाहिर ?
कुन दृश्य, कुन अदृश्य ?
कुन पाप, कुन पुण्य ?
नयाँ सदीको नयाँ युद्ध
काल बनेको अनिकाल
पीडा बनेको भोक
करुणा बगिरहेको
अस्थिपञ्जर समान
आफ्नी आमाको घुँडालाई स्तन सम्झेर
चुस्न खोज्ने शिशुको असफल प्रयासका बीच
सँगैको भोको गिद्ध कराउँदै थियो–
हे, ब्रम्हविरोधी मानव
नडराऊ, म जिउँदोलाई खान्नँ
मेरो त धर्म छ, जिउँदो नखाने धर्म
आफ्नै कर्ममा तल्लीन निलो परेवा
युद्धको अग्निकुण्डबाट
एकएक गेडा अन्न टिप्दै, ल्याउँदै छर्दै थियो
भोकविरुद्ध
आँसु झार्दै थियो
प्यासविरुद्ध
तपतप, थोपाथोपा
युद्धको ज्वालामुखीमा
शान्तिको फूल कता मात्र रोप्ने ?
समुद्र थोपाबाटै बन्छ
थोपाबाटै सुक्छ
तगारोले छुट्ट्याएको एकएक मनबाट
मन हैन देश टुक्रिन्छ
स्वजनहरू बिछोडमा तडपिन्छन्
कित्ताकित्तामा छुटिन्छन्
आमा उता, बाउ यता
छोरा उता, छोरी यता
बीचमा तगारो मात्र
तगारोले छुट्ट्याएको जीवन देखेर
एकै बेगमा झ¥यो निलो परेवा
तगारो ताकेर
जोडले हान्यो ठुँडले
छिनायो सिक्री
उठ्यो तगारो
भयो हजार मुटुको
हजार मिलन
आहा, जन्मियो निःस्वार्थ प्रेम !
तर, भाँचिएको रक्तिम ठुँड लिएर
हावाको बलमा उड्दै
कोसौँ पर पुग्छ त्रिकोण बनाउँदै
हरेक कोणमा खस्छ एकएक थोपा रगत
हरेक कोणमा शब्द बन्छ रगत
एक वसु
दुई धैव
तीन कुटुम्ब
खै, कसले जोड्ने यो ब्रह्मरूपी शब्द ?
नयाँ सदीमा
आज हाम्रो झुन्ड फर्कियो
तर, फर्केन निलो परेवा
भेटियो त केवल टुटेको भित्री प्वाँख
बिल्कुल जंगी निशान लाग्ने
देखियो सेतो ज्योतिले लेखेको एउटा मात्र हरफ
‘शान्ति नगुमाऊ, चेतना भया’
अस्तु !