राजा दशरथले मृग ठानेर हानेको वाण लागेर किशोर श्रवणकुमारको मृत्यु भएको कथा रामायणमा उल्लेख भएको छ । एकमात्र सन्तान श्रवणकुमार आफ्ना दृष्टिहीन आमाबाबुलाई भारमा बोकी तीर्थ गराउन हिँडेका थिए । तिनै बाबुआमालाई प्यास लागेकाले नदीबाट पानी ल्याउन जाँदा उनलाई वाण लागेको थियो । हिन्दुहरूले असल र योग्य सुपुत्रको उदाहरण दिँदा श्रवणकुमारको नाम लिने गर्छन् ।
हिन्दुहरूमा छोराहरूले बूढा बाबुआमालाई तीर्थ गराउन लाने प्रचलनलाई कर्तव्य पनि मानिएको छ । तसर्थ, नेपाली हिन्दु परिवारले आफ्ना मातापिता र वृध्द स्वजनहरूलाई पुण्य आर्जन गरनउन भारतको गया, कासी, केदारनाथ, द्वारिका, हरिद्वार, अयोध्या र नेपालको पशुपतिनाथ, मुक्तिनाथलगायतका तीर्थ स्थलहरूको दर्शन गराउने गरेका हुन् ।
अहिले भने समाजमा यस चलनमा ठूलो परिवर्तन देखिएको छ । अब त सन्तानहरू सात समुद्रपार विदेशमा रहेबसेका छन् । बसाइँसराइको संख्यामा ठूलो वृद्धि भएको छ । समयको परिवर्तनसँगै अबका सन्तानले बाबुआमा र उमेर पुगेका स्वजनलाई साबिकका तीर्थको सट्टा आफू बसोबास गरेका वा शिक्षा हासिल गरेका वा कामकाज गर्ने समुद्रपारिका मुलुक युरोप, अमेरिका घुम्न निम्ता गर्ने गरेको देखिएको छ ।
यसरी अभिभावकलाई घुमाउन लाँदा वा बोलाउँदा ती सन्तानहरूले गौरव मानेको पनि देखिन्छ । हाम्रो समाजमा जे कुराको पनि व्यापक नक्कल हुने गर्छ । आमाबाबु वा अभिभावकले हामी आउन सक्दैनौ भनी दिँदा कति सन्तानले त प्रतिष्ठामै धक्का लागेको महसुस गर्ने रहेछन् ।
म पनि बेलायतका तीन राज्यहरू इङ्ल्यान्ड, वेल्स र स्कटल्यान्डमा एक महिनाभन्दा पनि बढी घुमेर फर्किएँ । मेरो यो यात्रा करिबकरिब माथि वर्णन गरिएजस्तै परिस्थितिको उपज थियो । आफन्त परिवारभित्रका सन्ततिहरू जो बेलायतको विभिन्न स्थानहरूमा कर्यरत छन् वा बसोबास गर्ने गरेका छन् उनीहरूसँगको भेटघाट र घुमफिर नै मेरो उद्देश्य थियो ।
हुन त, म सन् २००२ मा आजभन्दा बाइस वर्ष पूर्व पनि एकपटक बेलायत गएको थिएँ । त्यस बेला मैले लन्डन सहर र यसका आसपासका प्रायःजसो सबै ऐतिहासिक स्थलहरू तथा बर्नमाउथ भन्ने सहर पनि घुम्ने अवसर त्यसै बखत पाएको हो ।
लन्डनको सेन्ट्रल म्युजियमलगायतका अन्य म्युजियम ऐतिहासिक भवन, संसद् भवन हेर्ने मौका पनि त्यसै समयमा पाएको थिएँ । लन्डन एकप्रकारले मेरो निम्ति परिचित सहर नै रह्यो । फेरि ब्रिटिसहरू प्रायः परम्परावादी भएका हुँदा तिनै पुराना दुईचार सय वर्षअघिका भवनहरू सयौं वर्षअघिका पुलहरू, सालिकहरू सुरक्षितै छन् ।
सिङ्गै लन्डन सहर नै एक प्रकारले हेर्दा म्युजियमजस्तो देखिन्छ । नयाँ आधुनिक भवनहरू सहरभन्दा टाढा न्यून संख्यामा बनेका छन् । नेपालमा ताकत पुग्नेहरूका लागि मन लागेको कुरा कानुनी गैरकानुनी जे सुकै होस् गर्न कुनै अवरोध छैन । यहाँ कुनै एक जण्ड व्यक्तिले चाहेमा ऐतिहासिक व्यक्तित्वका सालिक फालेर आफ्नै बाउको शालिक खडा गर्दा पनि तैँ चुप मै चुप हुने चलन छ ।
पैसा र पावरवाला भएपछि सबै कुराको हैसियत नेपालमा कायम हुन्छ । योग्यता, विद्वता, निष्ठा र इमानको कदर नहुने मुलुकमा तागत पुग्नेले जे पनि गर्ने र तागत क्षीण हुनेले टुलुटुलु हेर्नुपर्ने अवस्था हुन जान्छ ।
नेपालमा पनि जहाँनिया राणा शासनकालमा जनताको रगत पसिनाको शोषण गरेरै तत्कालीन शासकका भव्य महलहरू खडा भएका थिए । वास्तवमा त्यो सम्पत्ति जनताको नै थियो । तत्कालीन शासकले निजी रूपमा खरिद गरेको थिएन ।
सामान्य जनताका जमिन र सम्पत्ति आफू खुसी कब्जा गरी निर्माण गरिएको हो । ती पुरातन भवनहरूलाई मासिन र आफू खुसी बिक्री हुन दिनु हुन्न थियो । कारण ऐतिहाससिक पुरातन वस्तु नमुनाको निम्ति पनि राज्यले नै सुरक्षित राख्नुपर्ने थियो ।
तर यहाँ त राणा परिवारबाट सरकारले खरिद गरेको भवनहरूसम्म पनि परिपञ्च गरी मिलाएर विक्री गरी मासिदिएको टड्कारो उदाहरण छ । इङ्गल्यान्डको सबै राज्यका सहरहरूको सुन्दरताको आधार पुरातन भवनहरू मर्मत गरी खडा गरिएको छ ।
दुई चारसय वर्षअघि बनेको झिङ्गटी, इटा, ढुङ्गाका घरहरूमा पनि बसोबास छ । पुरातन आकर्षक चर्च भवनहरू छन्, सफा बाटाहरू मोटर चल्ने, साइकल चल्ने, अपाङ्गता मैत्री अलगअलग पक्की बाटा छन् ।
सडकका छेउछाउमा हरिया रुखहरू छन् । झन् ठूला राजमार्गको छेउमा दुवै किनारातर्फ एक प्रकारले जंगल नै खडा छ । हामी कहाँ वाध्यताले हो वा किन हो बाटो खुल्यो कि सडकको दुई तर्फ घरहरू बन्ने र बजार कायम हुनेगरेको छ ।
रुखको अस्तित्व पनि रहँदैन । पञ्चायतकालमा सडकको दाँयाबाँया रुख रोपिएको र हुर्किएकामा बहुदल आएपछि रुखको जराले बाटो समाप्त पार्यो भनी सबै ढालियो ।
प्रिष्टन नाम गरेको सहरको नजिक रहेको तालैताल भएको लेकसायरमा जाँदा मैले रारा र पोखराको फेवा ताललाई सम्झेँ । तालहरूको वरिपरि ज्याँदै न्यून संख्यामा घर छन् ती पनि पुराना धर्मशालाहरू ।
ताल वरिपरि कुनै संरचना निर्माण नगरी खुला र रुख अनि ससाना झाडी मात्र कायम राखिएको छ । भरसक तालको प्राकृतिक जन्मजात स्वरूपको सुरक्षा गरिएको देखिन्छ । हाम्रो फेवातालको भने साबिकको प्राकृतिक स्वरूप पनि कायम छैन । एक प्रकारले कङ्क्रिटको जंगलले घेरिएको मिचिएको र साँघुरिएको छ ।
इङ्गल्यान्डमा मैले देखेजतिका तीनवटै राज्यमा पहाड, खोलानाला, वनजंगल, चौर सबैलाई खन्ने खोस्रिने र मासिने काम नगरी जस्ताको तस्तै कायम गरी प्रकृतिलाई आत्मसात र सम्मान गरेको पाइन्छ ।
यस पटकको यात्रामा जान म पारिवारिक चाहना र दबाबमा पनि परेको हुँ । हुन त, अवसर पाउँदा घुम्न जाने धेरैजसोको इच्छा त हुन्छ नै तर कहिले काहीँ उमेर, समय र काल अवस्थामाथि पनि विचार गर्नुपर्ने हुँदोरहेछ ।
त्यसमाथि मैले आजसम्म जति पनि मुलुकको यात्रा गरेकी छु त्यहाँ पुगेर हवाइजहाजबाट उत्रने बेलादेखि नै मेरो मनमा यो पराया मुलुक हो यहाँ मैले यति दिनसम्म मात्र बस्ने अनि फर्किने हो भन्ने अवधारणाले बास गर्ने गरेको छ ।
लामो समयसम्म विदेशमा बस्दा प्रायःजसो ‘होम सिकनेस’ मनःस्थितिता खडा हुनेगरेको छ । मलाई बस्न आफ्नै मुलुकको मेरै बसोबासको स्थान नै सहज लाग्ने हुँदा लामो यात्रा मेरो निम्ति रुचिकर पनि हुँदैन ।
यसपटकको भ्रमणमा भने मैले बेलायतको पर्यटकीय स्थलहरूलाई आफ्नो मुलुकसँग जोडेर हेरेकी थिएँ । एडेम्बराको दरबार हेर्दा मैले भक्तपुरको, नुवाकोट र गोर्खाको दरबारलाई स्मरण गरे । स्कटल्यान्डस्थित पुरातन दरबारमा जाँदा के जानकरी भयो भने सबै दरबार सामरिक सुरक्षाको महत्त्वका कारण अपठ्यारो ठाउँमा निर्माण गरिँदा रहेछन् ।
हाम्रो गोर्खाको र नुवाकोटको दरबार त्यस्तै पहाडको टाकुरामा छ । सितिमितिमा शत्रुले हमला गर्न नसकोस् भन्ने कारणबाट टाकुरामा दरबार बनाइएको हो ।
म जुन दिन एडेम्बरामा गएकी थिए, त्यहाँ त खुट्टा राख्ने ठाउँसम्म नहुनेगरी पर्यटकको घुइँचो थियो । मैले त्यस दिनभरि नै पर्यटकहरूको त्यस्तै भिडको चहलपहल हेरिरहेँ ।
त्यहाँ दरबार र सेनासम्बन्धी गतिविधि हेर्न ६५ वर्ष उमेर पुगेकाले १३ पाउण्ड र अन्यले १८ पाउण्डको टिकट काट्नुपर्ने थियो । प्रबन्ध पनि त्यत्तिकै राम्रो थियो । दरबारको संरक्षण पनि त्यति नै राम्रोसँग गरिएको देखिन्थ्यो ।
दरबारभित्र फलामको ठूलो सुरक्षित कोठा निर्माण गरिएकामा त्यहाँ साबिकको शासकको सुनहिरा जडित श्रीपेचलगायत राजदण्डहरू सुरक्षित राखिएको पाइयो । सेनाको वर्षौं वर्षको रेकर्डहरू त्यति नै राम्रो र सुरक्षित पारेर राखेको देखियो ।
त्यस्तै वेल्सको कार्डिसमा भएको चर्च र दरबार लगभग दोस्रोतेस्रो शताब्दीमा निर्माण भएको मानिन्छ । रोमनहरूद्वारा बनाइएको त्यो दरबार आजसम्म संरक्षित छ ।
नेपालमा हाम्रा पुर्खाले पनि दरबार र ऐतिहासिक स्थलहरू नबनाएका होइनन् । हामीले संरक्षण र तिनको सम्मान गर्न जानेनौ । प्रकृतिले हामीलाई नदी नाला, पहाड, वनजंगल, फूल र वन्य जन्तु सबै दिएको छ । तर, हामी माल पाएर पनि चाल पाएका छैनौ । साथै हामीले सुरक्षित राख्न र सम्भार गर्न सकेनौ ।
बेलायतमा प्रशस्त नेपाली छन्, हुने नै भए । त्यसको प्रथम कारण बेलायती सेनामा नेपाली रहनु हो भने वैदेशिक रोजगार र पढ्न जाने अनि उतै रोजगारी र घरजम गर्ने कारणहरू पनि छन् यसका । नेपालमा जतिजति रोजगारी र आर्थिक हैसियतमा कमीकमजोरी आउँदै गएको छ उति उति मानिसहरू विदेशिएका छन् । त्यहीँ कार्यरत मानिसहरू पनि मुलुक छाड्नु परेको कारणबाट असन्तुष्ट छन् ।
कतिपय भने बेलायती नागरिक भइसकेका कारणबाट नेपालसँग कुनै सरोकार नरहेको भाव पनि प्रकट गर्छन् । कतिपय नातावाद, कृपावाद, रोजगारीको अभाव, पढाइ र तालिमअनुसारका नोकरी नपाउँदा मुलुक छाड्न वाध्य भएकामा दुःखी देखिन्छन् पनि ।
कतिपय नेपाली दाजुभाइ भेटिँदा संवादसम्म गर्न पनि इच्छा नराखेको देखियो । पढाइ छ स्नातक, नेपालमा बस्दा क्याम्पसमा अस्थायी भए पनि पढाएको व्यक्ति रोजगारीका निम्ति कुनै बेलायती कम्पनीमा होमगार्डको काम गर्नुपरेको छ ।
त्यति नै पढेकाले होटेल रेस्टुराँमा खाना ओसार्ने, जुठो भाँडा माज्ने, र ग्रहाकले खाएको भाडा प्लेट ओसार्ने गर्नु परेपछि बातचित गर्ने इच्छा होस् पनि किन ? मैले भ्रमणको सिलसिलामा मन्दिरको दर्शन गर्ने क्रममा भारतको एउटा गुजराती परिवार भेटेँ जो पाँच पुस्तादेखि अफ्रिका र त्यसपछि इङ्गल्यान्डमा बसेका रहेछन् ।
भारतमा उसको पुस्ताको कोही परिवार नभएको र ऊ कुनै बेला पनि भारत नगएको भए पनि भारतप्रति उसको लगाव अब रहेनछ । तर पनि ऊ शुद्ध हिन्दी बोलिरहेको थियो । उसको पहिरन पनि हिन्दुस्थानी नै थियो । उसलाई भारतीय होइन भन्ने कुनै ठाउँ पनि थिएन ।