site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित राजदूतका ‘वैदेशिक रोजगार’ मोह, सबैको योजना– युवा निर्यात !

काठमाडौं । सरकारद्वारा राजदूतमा प्रस्तावित १७ जनाले आफ्ना कार्ययोजना प्रस्तुत गरिरहँदा जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भनेका थिए, “सबैको भाषा लगभग मिल्छ– नेपालबाट श्रमिक लैजाने, नेपाललाई श्रमिक बजार बनाउने र युवा निर्यात गर्ने ।” 

प्रस्तावित राजदूतहरु सबैले कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।  सम्भवतः अब छिट्टै बस्ने संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकले सबैको नाम एकसाथ अनुमोदन गर्नेछ । 

अधिकारीले भनेजस्तै सबैका कार्ययोजनामा एउटा योजना साझा थियो, त्यो हो– वैदेशिक रोजगारी । अर्थात् नेपाली युवालाई रोजगारी क्रममा विदेश पठाउने योजना । 

प्रायः सबै प्रस्तावित राजदूतले वैदेशिक रोजगारीलाई आफ्नो कार्ययोजनामा उच्च प्राथमिकता दिएका छन् । 

“करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन् । जसका कारण ईपीएसमा नेपाली श्रमिकको कोटा वर्षेनि वृद्धि हुँदै आएको छ,” दक्षिण कोरियाको लागि राजदूतमा प्रस्तावित डा. शिवमाया तुम्वाहाङ्फेले भनिन् । 

सन् २०२४ जुलाइको अन्त्यसम्म कोरियामा नेपालीको संख्या ६९ हजार ४३८ रहेको छ । जसमध्ये कामदारको संख्या ५३ हजार ४८४ छ ।  “ईपीएस प्रणालीमा नेपालले दर्शाएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु,” तुम्वाहाङ्फेले भनिन् ।

मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको शिकार हुने गरेको उनले बताइन् । 

डिप्रेसनका कारण आत्महत्याका घटनासमेत हुने गरेकाले मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि ‘तनाव व्यवस्थापन’ कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्ने उनले जनाइन् । 

जर्मनीको लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले जर्मन दक्ष र व्यवसायिक जनशक्तिकालाई राम्रो गन्तव्य भएकोले नेपाली कामदारको लागि बजार खोज्ने बताए । ‘कल्चरल एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत पनि केही अर्धदक्ष कामदार छोटो अवधिको लागि जर्मनी गैरहेकोले यस्तो संख्या बढाउने सकिने धारणा रुपाखेती राखेका थिए । 

“सहप्रमाणिकृत मुलुकहरु पोल्याण्ड, हङ्गेरी, युक्रेन, चेक गणतन्त्र र बुल्गेरियमा रोजगारीको अवसर खोजी गर्ने र वैदेशिक रोजगारीलाई गुणस्तरीय, सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सम्बन्धित मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गर्न पहल गर्नेछु,” रुपाखेतीले भने । 

वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपालीहरूका सन्दर्भमा गन्तव्य मुलुकसँग समन्वय गरी उद्धार, राहत एवं स्वदेश फिर्तीका कार्यहरू गर्ने उनले बताए । 

नेपालबाट बढीभन्दा बढी संख्यामा नर्सहरु बेलायत पठाउनको लागि पहल गर्ने योजना बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेको थियो ।  “नेपालले कहाँ कहाँ श्रमिक पठाउन सक्छ त्यो खोज्छु । विगतमा भएका सम्झौताको कार्यान्वयन हेर्छु,” घिमिरेले भने ।

बेलायतबाट नेपाल आउने रेमिट्यान्स बैंकिङ च्यानलबाट पठाउन पहल गर्ने पनि उनले सुनाए । बेलायतमा नेपाली नर्सको संख्या बढाउन सके नेपालमा भित्रने रेमिट्यान्स बढ्ने उनको धारणा थियो । 

स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले वैदेशिक रोजगारीका दृष्टिले स्पेन नेपालीहरुका लागि नयाँ गन्तव्य बनिरहेको दाबी गरे ।  वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित गराउन विशेष पहल गर्ने उनले बताए ।

“वैदेशिक रोजगारीलाई व्यवस्थीत, सुरक्षित र मर्यादित गराउन स्पेन सरकारसँग श्रम सम्झौताका लागि पहल गर्नेछु,” नेपालले भने, “श्रम स्विकृति नलिई स्पेन गएकाहरुलाई श्रम स्वीकृतिका लागि सहजिकरण गरिदिने र उनीहरुलाई सुरक्षा र सुनिश्चितताका लागि सचेतनामुलक कार्यक्रमहरु गर्नेछु ।”  

वैदेशिक रोजगारी सम्बन्धी सेवालाई छिटोछरितो र व्यवस्थीत बनाउन परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, श्रम मन्त्रालय अन्तर्गतका सम्बन्धीत विभागहरु र दूतावासका बीचमा समन्वय गर्ने नेपालले जनाए । 

नेपालले कार्ययोजना प्रस्तुत गर्ने क्रममा ‘देशमै बसेर वैदेशिक रोजगारी’ गर्न सकिने योजना पनि सुनाए । 

“दुतावासले नेपाली प्रविधि क्षेत्रमा नेपालको बढ्दो सम्भावनालाई सदुपयोग गरेर नेपाललाई इनसोर्सिङ सिपको गन्तव्यको रुपमा प्रर्वधन गर्न स्पेनका व्यापारिक फर्महरुसँग समन्वय गरि स्पेनी कम्पीहरूमा नेपाली आईटी फर्महरु र अन्य फेसेवरहरुसँग साझेदारी गरेर दक्ष लागत प्रभावी कामदार प्राप्त गर्ने वातावरण सिर्जना गर्ने र नेपाली युवा यही बसेर त्यहाको रोजगारी गर्ने वातावरण सिर्जना  गर्नेछु,” नेपालले भने ।

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत डा. नरेश विक्रम ढकालले हाल चार लाखभन्दा बढी नेपाली कार्यरत रहेको साउदीमा थप कामदार लैजान पहल गर्ने बताए ।  नेपाली कामदारले झेल्नु परेका समस्याको समाधान गरी साउदीलाई नेपालीहरुको लागि थप आकर्षक गन्तव्य बनाउने दाबी उनको थियो । 

यस्तै, कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले नयाँ श्रम बजारको खोजी गर्ने जनाए । उनले भने, “वैकल्पिक श्रम बजार, नयाँ गन्तव्यको खोजीमा सयुक्त पहल गर्नेछु ।” 

घर फर्कने कामदारको रुची, क्षमता र सीपका आधारमा पुनः स्थापनाका लागि कतार सरकारका पदाधिकारीहरुसँग वार्ता गर्ने पनि पौडेलले बताए । “श्रमिकहरुको ठूलो संख्या भएको देशमा श्रमिकहरुमा आइपर्ने आकस्मिक आर्थिक संकट समाधानका लागि घुम्ति आकस्मीक कोष स्थापना गर्न पहल गर्नेछु,” पौडेलले भने । 

नेपाली युवाहरुको वैदेशिक रोजगारीका लागि मनपर्दो गन्तव्यमध्ये इजरायल पनि एक हो । अझ महिलाहरुका लागि त यो मुलुक सुरक्षित र आकर्षक गन्तव्य मानिन्छ ।  इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको सम्भावना खोजी गर्ने प्रतिवद्धता गरे । 

“इजरायलको श्रम बजार र हाम्रो जनशक्तिको आपूर्ति क्षमता हेरी कृषि, केयरगिभिङ, निर्माण, पर्यटनलगायतका अन्य क्षेत्रमा पनि कामदारहरुको रोजगारीको सम्भावनाको खोजी गर्नेछु,” पण्डितले भने । 

इजरायलमा कार्यरत नेपाली कामदारहरुको व्यक्तिगत तथा रोजगारीको सुरक्षा एवं उनीहरुको हक हित प्रवर्धनका लागि प्रयत्नशील रहने उनले जनाए । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले श्रम र रोजगारीलाई सबैभन्दा बढी प्राथमिकता दिने बताए । 

“नेपाली श्रमिकको पेशागत हकहित, सुरक्षा, सामाजिक सुरक्षा एवम् मर्यादित रोजगारको प्रत्याभूति दिलाउने काम गर्नेछु,” तिम्सिनाले बताए । 

मलेसियामा नेपाली श्रमिकलाई सेवा प्रदान गर्न विभिन्न ठाँउमा सेवा केन्द्र राख्ने योजना उनको छ ।  यसको लागि श्रम तथ्याङ्कको उचित व्यवस्थापन गर्ने पनि उनले सुनाए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro