अँधेरी रात । स्टेजको एउटा कामुक नृत्यले दर्शकदीर्घामा पनि कामुकता सल्क्यो । चारैतिर होहल्ला मच्चियो । कसैले स्टेजमा बोतल प्रहार गरेछ । कसैले हुलमुलमा कुनै युवतीलाई जबरजस्ती अँगालोमा बेरेछ । हुलदंगा मच्चियो ।
माहोल काबुबाहिर गएपछि एक हुल प्रहरीको प्रवेश भयो । प्रहरीको प्रवेशमा भागाभाग चल्यो । कुटाकुट चल्यो ।
कुट्ने र कुटी माग्ने अरू नै थिए । एक असोचनीय लफडाबाजीमा समातिनेचाहिँ हामी पर्यौँ । समातिने समूहमा पिएका र नपिएका दुवैथरी थियौँ ।
“साला, जँड्याहा हो ! मातेर जथाभावी गर्ने तिमरु नै होइन ?,” सई कड्क्यो ।
सबैभन्दा मातेको वीरलाल थियो । सई पनि मातेको थियो । सईले एक फन्का लगाएर वीरलाललाई हान्दा आफ्नो नियन्त्रण गुमाएर आफैँ लड्यो । हामी गललल हाँस्यौँ ।
“चुप् !,” सईले हाम्रो सातो लियो ।
“मुइले नकाम अरेको छैन साब, हल्का देको मात्र हो । यो हल्का भन्ने जिनिस पनि क्या बबाल हुँदो रच, हल्काहल्का मिसाउँदा तहल्का पो भच साब !”
वीरलाल हात जोरेर बोल्यो । उसको बोल्ने ढंग हेरेर हामी समातिएकाहरू आफू समातिएको पनि बिर्सिएर हाँस्यौँ ।
“चुप् !,” चोरऔँला ओठमा जोडेर सईले इसारा गर्यो । हामी आज्ञाकारी भई चुप लाग्यौँ । उसले वीरलालतिर फर्केर रौद्र गर्जनमा भन्यो, “स्याला गधा, बिरामबिना कोइ ह्याँ आउँच त !”
“आउन्न साब ।”
वीरलाललाई चुल्ठोबाट समाएर मातेको सईले मुन्ट्याएर सोध्यो, “ह्याँ आएसि ढुंगा नि बोल्च बुजिस् कि नाइँ !”
“बुजिनँ साब !”
“अझ बुझिनँ भन्चस् !,” वीरलालले भक्कुमार कुटाइ खायो ।
चारै दिशा लत्रिएका नजर फिराउँदै सई बोल्यो, “ढुंगा बोल्च कि बोल्दैन ?”
उसको लर्बरिएको आवाज हाम्रा कानमा बजारिए । चोटले आच्छु आच्छु भएका वीरलाल अन्ततः ‘ढुंगा बोल्च साब !’ भन्न बाध्य भए ।
“ल, ढुंगा बोल्च रे ! ढुंगा कसरी बोल्च, काँ बोल्या देखिथिस् हँ ?,” सईले लौरो मुखमा कोचेर वीरलाललाई हुत्यायो । वीरलाल भुइँमा जोतिन गए ।
उसले आफ्नो नियन्त्रण गुमाउन लागेको देखेर हामी त्राहिमाम् भयौँ । सईले उसलाई आफूतिर फर्काएर उठायो । मातेको वीरलाल अर्धबेहोसीमा उक्कउक्क गर्न लाग्यो ।
“स्याला, नक्कल पार्चस् !,” सई कड्क्यो ।
वीरलाल अघिदेखि उल्टी गर्लाजस्तो अवस्थामा थिए । अहिले भने आफूलाई सम्हाल्दा सम्हाल्दै सम्हाल्न नसकेर सईको मुखैमा हुलुलुलु उल्टी गरे ।
“आ...थु !” सईले पनि उक्कउक्क गर्यो । हेर्दाहेर्दै उसले पनि उल्टी गर्यो । वीरलाल र सईको उल्टीले कोठा पाइखानाजस्तै भइदियो ।
यी दृश्य हेरिरहेका हामी समातिएका पनि उक्क गर्न लाग्यौँ । यो उक्कले बेलगाम गति लियो ।
रौद्ररसमा निमग्न सईले सबलाई पालैपालो ढुंगा बोल्छ कि बोल्दैन सोध्दै कुट्दै गयो । मेरो टुपी तानेर मलाई आफूतिर घिसार्यो ।
“यो तपाईंको अड्डा हो साब, ह्याँ तपाईंले भनेसि ढुंगाले पनि बोल्छ । ह्याँ जे’नि तपाईंको इसारामा चल्च साब !,” मैले यसो भन्दा अकस्मात् उसको मुहार उज्यालियो ।
“स्याबास, तँलाई था रैछ त !”
त्यसपछि हामी रिहा भयौँ ।
आँखा खोलेँ । हातखुट्टा जाम हुने तरखरमा थिए । म त तन्द्रामै ऐँठन परेको रहेछु ।
०००
यायावर समयले कोल्टे फेर्यो । हिँड्दै थिएँ । पाइला एकसुरले लम्किँदै गए । दिन कसरी ढल्यो, याद भएन । दिन जलेर अँधेरो भयो ।
समय परिवर्तित छ ।
जे होस् दिन ढल्यो । घरको सिँढी उक्लिँदै थिएँ । तँ को, म को भन्ने गरी झपक्क साँझ परेको छ । अँधेरोमा कसैसँग ठोक्किने डर उस्तै छ । पूरा गाउँ अँध्यारिएर सुनसान प्रायः थियो ।
रातभर भुक्ने कुकुरको भुकाइ हरायो । उखरमाउलो तन्नेरीहरूको हल्ला कतै सुनिएन । रातरातभर उधुम मच्चाउने मुसाको छुसुक्क आवाज छैन । श्मशानघाटजस्तो शून्यता । बिल्कुल शून्य ।
अँधेरोसँग मेरो मन पनि अँध्यारिएको छ । मन उदास छ । तन शिथिल छ । वञ्जर भूमिजस्तै लाग्ने गाउँमा मानौँ कुनै जीवात्मा छैनन् । म यही उजाड बस्तीमा रातजस्तै अँध्यारिएको छु । म यही रात पिएर बेहोसिएको छु ।
जीवनमा यस्तो अनौठोपन कहिल्यै छाएको थिएन । शरीर बिल्कुल गह्रौँ ।
घरको सिँढी उक्लिँदै थिएँ । हातमा लाइट थिएन । प्रकाशबिनाको हिँडाइ । उदासीपन । अनौठोपन । मानसिक शिथिलता । शून्याभास । बेचैनीले तन आक्रान्त छ । रिक्ततासिवाय केही थिएन ।
हैन, के भयो आज मलाई ! यो के भइरहेको छ मलाई आज ! केही यकिन गर्न सकिनँ ।
सिँढी उक्लिँदै गर्दा कुखुराका चल्ला सिँढीमै अलपत्र परेका भेटिए । लाग्यो, माउलाई कतै स्यालले पो लग्यो कि !
बिचल्ली परेका चल्ला नाघ्दै म अघि बढ्छु ।
म घरको ढोकामा पुगेँ । भान्साकोठामा चिमको प्रकाश हो कि होइनको लयमा बलिरहेको थियो । घर पनि उदास लाग्यो । खण्डहर लाग्यो । घरमा कुनै रोगन थिएन । अचम्मित भएर मैले चारैतिर नजर लगाएँ । वातावरण बिल्कुल शून्य ।
सोचेँ, खै त मभित्रको जागरुक मनुवा !
उदात्त सपना हराएजस्तो । मनोकांक्षाको नुर गिरेजस्तो । घर पनि मौनव्रती गुफाजस्तो । मेरो अहम्को हिउँचुलीमा अकस्मात् पहिरो गएजस्तो । एउटा निराकार महाशून्यताले मन घेराबन्दीमा पर्यो ।
घरको ताल्चा खोलेँ । ढोका आधाउधीजति मात्र के उघारेको थिएँ, मेरो आङ सिरिङ्ङ भयो । आधाउधी उघ्रिएको ढोकामा जीवनमा कहिल्यै नदेखेको एउटा अनौठो दृश्य ‘कृष्ण कटेज’ शैलीको डरलाग्दो क्षण ! एक किसिमले मेरो सातो गयो ।
प्रेतात्मा छैन भन्ने मान्छे म, सधैँ रातबिरात हिँड्ने मान्छे म, तर यो कस्तो परिस्थितिमा जकडिएँ ! आफ्नै घरभित्र आज के देख्दै छु म ? यो कस्तो प्रेतात्मा ! यो अचानक किन मेरै घरमा आएको होला, मेरै आँखाअगाडि !
डर र रिसले म थरथरी काँप्न थालेँ । प्रेतात्मासँग जुध्न भएभरको शक्ति लगाएँ । भान्साकोठाको ओदान हातमा लिएँ । ज्यानमा अन्तिम दम भर्दै ओदानले हिर्काउन अदम्य साहस देखाएँ । जोडजोडले हिर्काएँ ।
जति हिर्काए पनि प्रेतात्माले केही मानेन । ऊ मेरो घाँटी अँठ्याउन आयो । मैले अँठ्याउन दिइनँ । कहिले म उसको मुनि, कहिले ऊ मेरो मुनि । कहिले ऊ मेरो घाँटी अँठ्याउन आउँछ, कहिले म उसको घाँटी अँठ्याउन पुग्छु ।
दाउमा परेको जीवन मल्लयुद्धमा कस्सिएको थियो ।
अकस्मात् उसले मेरो घाँटी निमोठ्यो । भएभरको बल निकालेर मैले त्यसको कडा प्रतिकार गरेँ । लडाइँ अप्रत्याशित भयो । म भित्रभित्रै हारिरहेको थिएँ ।
ओदानले भएभरको प्राण खिचेर भक्कुमार प्रहार गरेँ । प्रेतात्मा टसको मस भएन !
अब घरभित्रको ओदान पनि हातमा लिएँ । दुवै ओदानलाई ब्रह्मास्त्रको रूपमा प्रयोग गरेँ । जीवनकै अदम्य साहस निकालेर अन्तिम लडाइँ लड्न विवश थिएँ ।
जसो गरे पनि लडाइँ जित्ने कुनै मेसो आएन । अन्तिम सास लिएर हुँकारका साथ दुइटै ओदानले हिर्काएँ ।
यति धेरै चिच्याएछु कि सँगै सुतिरहेकी छोरी झसंग हुँदा म हठात् ब्युँझिएँ ।
ओहो, म त भयंकर ऐँठनमा परेको रहेछु ! के भयो आज मलाई, यो कस्तो तन्द्रा हो ? म फेरि स्वाभाविक गतिमा निदाउने कोसिस गरेँ ।
०००
लामो एउटा कविता अकस्मात् डिलिट भएपछि मसँग रिसाएर कुनामा फ्याँकिएको ज्याकेटले खुच्चिङ गर्यो । मतिर हेर्दै ऊ गुनगुनायो, “के गर्छस् मंगले आफ्नो ढंगले !”
उसको कुराले मलाई खुब रिस उठ्यो र भनेँ, “स्याला, बर्ता हुन्छस् ! च्यातेर फ्याल्दिन्छु अनि !”
“लु च्यात् त, म पनि हेरूँ !,” ज्याकेट झन् जंगियो ।
“च्यात्न सक्दिनँ भन्ठानिस् कि के हो ! बर्ता हुने होइन । रिसको बेला वेद पढ्दिनँ भन्ने थाहा छ कि छैन ?m” हकारेर भनेँ ।
विस्तारै रिसको पारो चढ्दै गयो । “ख्याँसिस्, वेद कहिले पढ्या छस् ! वेदको कुनै भेद थाहा नपाउने मुलाले के घुर्की देखाउँछस् ?,” ऊ बमझैँ बम्कियो ।
“ओइ, आफ्नो औकातमा झरेर कुरा गर् ! कुनामा चुप लागेर बस्न सक्दिनस् ? तँ थाङ्नेलाई नबोली बस्न हुन्न !,” झपार्दै भनेँ ।
हामीबीच लामो विवाद भयो । भनाभन भयो । तथानाम भयो ।
ज्याकेटलाई भित्ताको ह्यांगरमा झुन्ड्याएँ । ऊ अर्कोतिर फर्कियो ।
म पनि ओछ्यानमा ढलेँ । अब हामीबीच कुनै बात भएन । बोलचाल भएन ।
कुनै एक अलौकिक आवाज हुर्रिंदै मेरोसामु सशरीर हाजिर भयो ।
अञ्जान व्यक्ति मेरो कोठामा बिनाअनुमति छिर्यो । ज्याकेटको साथी होला भनेर मैले कुनै प्रतिक्रिया दिइनँ ।
केही समयको बातचितपछि थाहा भयो, ऊ मोहन कोइरालाको फर्सीको मुन्टा रहेछ ।
मैले कुराको सुरुआती क्षेप्यास्त्र प्रक्षेपण गरेँ, “मुन्टाजी, तिमी हेर्दा त यति सरल छौ, तर तिम्रो जीवन असाध्य दुर्बोध्य छ भन्ने छ नि ! खास कुरा के हो ?”
“देखिनलाई मात्र सरल हुन्, यिनी ऊ जमानादेखि अहिलेसम्म उस्तै दुर्बोध्य नै छन्,” ज्याकेटले पोल खोल्यो ।
चियाको चुस्की लिँदै फर्सीको मुन्टाले भन्यो, “आखिर मेरो वंशज उस्तै त छन्, त्यही भएर होला सायद म दुर्बोध्यजस्तै लागेको !”
“साह्रै सरल हुनु पनि त बेठिक रहेछ नि !,” भित्तामा झुन्डिएको ज्याकेट बोल्यो ।
ज्याकेटको कटाक्षले मुन्टाको मेरो मुन्टो आधा झुक्यो ।
हामीबीच गफगाफ हुँदै थियो । टाढैबाट कसैको पदचाप नजिकिँदै आयो । बन्द ढोका ढकढक गर्यो ।
ढोका खोलियो ।
“तिमी को हौ ?,” अपरिचिततर्फ फर्केर मैले भनेँ ।
“म पैतला हुँ ।”
“को पैताला ? कसको पैताला ?,” मैले चौदिशा नजर फिराउँदै सोधेँ ।
“चिनेनौ ? म भूपीको पैताला । फर्सीको मुन्टालाई यतैतिर मुन्टिएको देखेर मलाई पनि यतै पैताला लम्काउन मन लाग्यो,” उसले निर्बाध रूपमा भन्यो ।
“दुवैजना मेरो अतिथि भई मुन्टिन आएको हुँदा म औधी खुसी छु । लौ, गजब हुने भो,” मैले भनेँ ।
चियाले तलतल नमेटिएको दुखेसो पैतालाले पोख्यो । अब दारुमय वातावरणको सुरुआत भयो । आफूहरू आएको बखत एउटा कविता जाओस् भनेर पैताला र मुन्टाले उधुम गरेपछि अघि भर्खर डिलिट भएको लामो कविताको सारांश अनुमानको भरमा दारुको रमरममा सुनाएँ–
पँधेरीहरूमा कुरेँ
अँधेरीहरूमा कुरेँ
कुर्दाकुर्दै तिमीलाई मैले
आँसुका मझेरीहरूमा कुरेँ ।
पीरहरूमा खोजेँ
भीरहरूमा खोजेँ
खोज्दाखोन्दै तिमीलाई मैले
चर्च, गुम्बा, मस्जिद र मन्दिरहरूमा खोजेँ ।
फूलका तरेलीहरूमाझ धाएँ
तिम्रा सहेलीहरूमाझ धाएँ
यतिबिघ्न धाएँ कि प्रिय,
आज त म हसेँलीहरूमाझ धाएँ ।
मायाको रास थियो
मायाकै बास थियो
यो जिन्दगीको सफरमा
तिम्रो सवारी हुने आस थियो ।
मेरो कविता सुनेर पैताला र मुन्टाले चियर्स गरे । ह्यांगरमा झुन्डिएको ज्याकेट पनि तल ओर्लियो । उसको मुड अझै खराब थियो । यही खराबमा उसले पनि एक पेग सराब घुट्क्यायो ।
रित्तो गिलासमा फेरि सराब भर्दै टेबलमा बजार्दै ढ्याप्प पार्यो । उसले टेबलमा गिलास बजार्दा सराब छचल्किएर आजका अतिथि मुन्टा र पैतालाको मुखभरि छल्कियो ।
ज्याकेटको अनादर व्यवहारले माहोल खराब भयो । सराब र कवितामा रमाइरहेका पैताला र मुन्टा यही कुराले बाहिरिए । यही बहानामा भनाभन हुँदा ज्याकेटसँग लुछालुछ प्लस कुटाकुट हुँदा ज्याकेट नराम्ररी घाइते भयो । ज्याकेटको अर्धमृत लासलाई सडकको डंगुरमा मिल्काएर म निरुद्देश्य लम्किएँ ।
तथानाम हिँड्ने क्रममा अकस्मात् म एउटा असोचनीय हेमाद्रि क्षेत्रमा हराउन पुगेँ । चिस्यानले थुरथुर काँप्दै हेमापद्र क्षेत्रबाट बाहिरिने मेसो खोज्दै गर्दा झन्झन् गहिराइमा फस्दै गएँ । जति उम्किने साहस गरे पनि मेरो प्रयास बेकम्मा साबित हुँदै थियो ।
यति बेला मलाई ज्याकेटको बहुत याद आयो । अनाहकमा झगडा भएको पश्चात्तापमा जीवनको इहलीला समाप्त हुन लागेको थियो । यहीक्रममा एउटा हेमाद्रि चट्टानबाट अकस्मात् चिप्लिँदा अज्ञात हेमाद्रि छहरामा खस्दै गएँ । बजारिन गएँ ।
एउटा भयानक चिच्याइ भयो । खै, मेरो आवाज ! म किन कराउन पनि सकिरहेको छैन आज ? मेरो आवाज कुनै विस्तीर्ण हेमाद्रि तलाउमै हराइरह्यो । तैपनि, जोडजोडले चिच्याउँछु । चिच्याउन खोज्छु ।
“ए बा, किन त्यसरी कराएको ! कस्तो डरलाग्दो गरेर कराउनुभ’को ?,” छोरीको आवाजले फेरि पनि मेरो होस खुल्यो ।
उफ्, आज मलाई तन्द्रामै कस्तो ऐँठन भएको ! मलाई भयंकर ऐँठन भइरहेको छ । मनमनमा छोरीलाई धन्यवाद दिएँ, जसले मलाई ऐँठनको संकटबाट उद्धार गरी । हत्तपत्त ज्याकेट भएको ठाउँमा हेरेँ, धन्न मेरो ज्याकेट ह्यांगरमा मस्त थियो ।