काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिका सदस्यहरूले श्रीलंकाका लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईले प्रस्तुत गरेको कार्ययोजना छोटो भएकामा असन्तुष्टि जनाएको छ ।
सोमबार संसदीय सुनुवाइका क्रममा भट्टराईले दुई पृष्ठको कार्ययोजना प्रस्तुत गरेपछि समितिका सदस्यहरू असन्तुष्ट बनेका हुन् ।
“कार्ययोजनामा धेरै कुरा भेटिएन । नेपाल–श्रीलंका सम्बन्धका कुरै छैन । लेख्न भ्याउनुभएन कि चाहिँदैन जस्तो लाग्यो,” समितिका सदस्य जगप्रसाद शर्माले भने ।
अर्का सदस्य प्रकाश अधिकारीले पनि कार्ययोजना निकै छोटो भएको जनाउँदै असन्तुष्टि व्यक्त गरे ।
सांसद ईश्वरी घर्तीको भनाइ पनि उस्तै थियो । “कार्ययोजना अत्यन्त संक्षेप छ । केही जानकारी गुगल गरेर पनि थाहा हुन्छ । तर, प्रस्तावित राजदूतले कन्जुस्याइँ नगरेको भए हुन्थ्यो,” घर्तीले भनिन् ।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको कार्यक्रम संक्षिप्त भए पनि धेरै कुरा समेटिएको बताए ।
सांसदहरूले कार्ययोजना छोटो भएको जनाएपछि भट्टराईले भने, “बुद्धिजीवी व्यक्तिहरूलाई विद्यार्थीलाई सम्झाएझैँ सम्झाउन पर्दैन भन्ने लागेको थियो । ठूलो भएछ, माफी पाऊँ ।”
संसदीय सुनुवाइका क्रममा भट्टराईले आफूले राजनीति गरेको ४५ वर्ष भए पनि कूटनीतिमा भने नयाँ भएको बताए । “राजनीति र कूटनीतिलाई सँगसँगै अगाडि बढाउन खोज्दै छु,” भट्टराईले भने ।
४५ वर्ष राजनीतिक गरेकाले कूटनीति पनि गर्न जान्ने दाबी उनको थियो । कूटनीति गर्न आवश्यक ज्ञान आफूसँग रहेको पनि उनले जनाए ।
भट्टराईले सुनुवाइका क्रममा प्रस्तुत गरेको कार्ययोजनामा १३ बुँदा थिए । “वर्तमान विश्व परिवेशमा आर्थिक कूटनीति ज्यादै महत्त्वपूर्ण छ । यसर्थ, आर्थिक कूटनीतिलाई केन्द्रबिन्दु बनाएर म कार्य गर्ने छु,” भट्टराईले भने, “नेपाल र श्रीलंकाबीचका धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ र सार्थक तुल्याउन दूतावासमार्फत क्रियाशील रहने छु । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्ने छु ।”
बौद्धमार्गी श्रीलंकालीका लागि नेपालको तीर्थाटन गराउन प्रचारप्रसारको माध्यमबाट प्रोत्साहित गर्ने उनले जनाए । यसबाट धार्मिक पर्यटन प्रवर्धनका लागि उल्लेखनीय सहयोग हुने तर्क उनको छ ।
लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाई उडान सञ्चालनको लागि पहल गर्ने पनि उनले जनाए ।
उनले नेपालका चिया उद्योगहरूको विकास र प्रवर्धनका लागि श्रीलंकाको अनुभव र प्रविधिको आयात एवम् अनुशरणका लागि परिणाममुखी पहल गर्ने बताए ।
दुई देशबीच नियमितरूपमा विद्यार्थी आदानप्रदान कार्यक्रमलाई उपलब्धिमूलक ढंगबाट अघि बढाउने पनि उनको योजना छ । सार्क र बिम्स्टेकलाई थप क्रियाशील एवम् यस भेगका मुलुकहरूको हित तथा विकासका लागि सक्दो कूटनीतिक प्रयास गर्ने उनले बताए ।
“नेपालमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालय र श्रीलंकामा सञ्चालित बौद्ध विश्वविद्यालय र अन्य धार्मिक शिक्षण संस्थाहरूबीच सहकार्यको परिस्थिति निर्माणमा विशेष जोड दिने छु,” भट्टराईले भने ।
क्रिकेटलगायत कतिपय खेलमा नेपालको लागि श्रीलंकाको अनुभव र प्रविधि आवश्यक हुने भएकाले खेलकुदमा सहकार्यको वातावरण निर्माणका लागि आवश्यक पहल गर्ने उनले बताए ।