पोखरा । पछिल्ला नौ महिनमा गण्डकीका ११ मध्ये १० वटा जिल्लामा डेंगी संक्रमण फैलिएको छ । एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीका कारण तीन जनाले ज्यान गुमाएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबारसम्म मात्रै डेंगीबाट गण्डकीमा पाँच हजार ५४६ जना संक्रमित बनेका छन् ।
गत साउन १० गते तनहुँका ४८ वर्षीय पुरुषको डेंगीकै कारण निधन भएको तथ्यांक मन्त्रालयसँग छ । उनी गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । मन्त्रालयले हरेक दिन पब्लिक हेल्थ इमरजेन्सी अपरेसन सेन्टर (पीएचईओसी) रिपोर्टमार्फत डेंगी संक्रमितको अवस्थाबारे विवरण संकलन गर्दै आएको छ । जसअनुसार, साउनमा नै तीनजनाले ज्यान गुमाएका हुन् ।
साउन १० पछि साउन २२ गते कास्कीका ४० वर्षीय पुरुषले पनि ज्यान गुमाए । उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत थिए । डेंगीका कारण ज्यान गुमाउनेमा ५२ वर्षीय महिला पनि छन् । उनको साउन ३१ गते फिस्टेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
गण्डकीमा पछिल्ला नौ महिनामा तीन जनाको मृत्यु हुँदा दुईजना आईसीयूमा छन् । मन्त्रालयले गत जनवरीयता डेंगीबाट संक्रमितहरूको साप्ताहिकरूपमा विवरण प्रकाशन गर्दै आएको छ ।
रिपोर्टका अनुसार अगस्ट महिनामा सबैभन्दा बढी डेंगीका बिरामी भेटिएका हुन् । तीन हजार ४९३ जना यही महिनामा मात्रै डेंगी संक्रमित बनेका । पहिलो महिनामा ७० जना डेंगीका बिरामी भेटिँदा फेब्रुअरीमा ११, मार्चमा १४, अप्रिलमा २९, मे मा ४३ र जुनमा ९२ जना डेंगीका बिरामी भेटिएका थिए ।
गण्डकीमा त्यसपछि भने डेंगीको ग्राफ तीन अंकले उकालो लागेको हो । बर्खा लाग्दालाग्दै गण्डकीमा त्यसपछि पाँचहजारभन्दा बढी बिरामी थपिए । जुलाईमा ७२५ बिरामी भेटिए । अगस्टमा एकैपटक तीन हजार ९४३ थपिए । सेप्टेम्बरको पहिलो हप्तामा मात्रै ६२५ डेंगीका बिरामी भेटिएको मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीले जानकारी दिए ।
जिल्लागतरूपमा सबैभन्दा धेरै कास्की, त्यसपछि तनहुँमा डेंगीका बिरामी भेटिएका छन् । कास्कीमा हालसम्म दुई हजार ४००, तनहुँदामा एक हजार ८३२, पर्वतमा ४५८, गोरखामा २९३ बिरामी भेटिएका छन् । स्याङ्जामा १९२, बागलुङमा १५८, लमजुङमा ८०, म्याग्दीमा ७७, नवलपुरमा ५४ जना डेंगीका बिरामी भेटिँदा मुस्ताङमा भने हालसम्म डेंगीका बिरामी नभेटिएको प्रतिवेदनमा उल्लेख छ ।
पालिकागतरूपमा तथ्यांक हेर्दा पोखरा महानगरपालिकामा दुई हजार ३३६ जनामा डेंगी संक्रमित बनेका छन् । तनहुँको आबुखैरेनी गाउँपालिकामा एह जार १९७, पर्वतको कुश्मा नगरपालिकामा ४४५, तनहुँकै व्यास नगरपालिकामा ३३०, शुक्लागण्डकीमा १९९, गोरखाको गोरखा नगरपालिकामा २१८ जना डेंगीका बिरामी भेटिएको तथ्यांक मन्त्रालयसँग छ ।
पोखरा महानगरपालिकाभित्र पनि वडा नम्बर ८ मा मात्रै ३१६ संक्रमित छन् । त्यसपछि वडा नम्बर ५ मा २५३ संक्रमित छन् । यसबाहेक ५० भन्दा बढी संक्रमित भएका अन्य सात वडा छन् । अन्नपूर्ण गाउँपालिकामा १५, माछापुच्छ्रे गाउँपालिकामा १३, रुपा गाउँपालिकामा आठ र मादी गाउँपालिकामा चार जना संक्रमित छन् । पालिका नखुलेका १९२ र कास्की बाहिरका १७४ जना संक्रमित छन् ।
तत्कालीन अवस्थामा स्वास्थ्य मन्त्रालय पनि सम्हालेका गण्डकीका सामाजिक विकास तथा युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्थानीय तहसँग समन्वय र सहयोगमा आपत्कालीन प्रतिकार्य टिम (आरआरटी) बनाइएको बताएका छन् ।
आइतबार आफू मन्त्री बनेको १०० दिने उपलब्धि सुनाउने क्रममा उनले 'खोज र नष्ट' अभियान चलाइएको बताए ।
“स्थानीय तहसँगको समन्वय र सहयोगमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा देखा परेको डेंगी रोगको प्रकोप नियन्त्रण एवम व्यवस्थाको लागि आपत्कालीन प्रतिकार्य टिमलगायतका स्वास्थ्य प्राविधिक टोली खटाई लामखुट्टेको बासस्थान 'खोज र नष्ट गर' अभियानलाई थप व्यवस्थित बनाई समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिएको छ,” उनले भने ।
सोही कार्यक्रममा उपस्थित स्वास्थ्य प्रशासक डा. केसीले हालसम्मको डेंगी संक्रमितको विवरण सार्वजनिक गर्दै रोकथामका लागि विभिन्न अभियान निरन्तर चलाइएको जानकारी दिए ।
“पानी परिहेको छ, यतिबेला विभिन्न ठाउँमा ससानादेखी ठूला भाँडाहरूमा पानी जमिरहेको छ । यो सफा पानीमा लामखुट्टेले पानी अण्डामा समेत संक्रमण हुन्छ । अहिले संक्रमण दर बढिरहेको छ । तर, समुदायस्तरमा त्यति चासो नदेखिएको हामीले निष्कर्ष निकालेका छौँ, डेंगी नियन्त्रणका लागि हरेक घरघरमा हामी पुग्न सक्दैनौँ नागरिक आफैँ सचेत हुनुपर्छ । पानी जम्न दिन हुदैँन । वडा जनप्रतिनिधिहरूसँग पनि हामीले पटकपटक छलफल गरिरहेका हुन्छौँ । उहाँहरूले राम्रो काम गरिरहेको बताउनुहुन्छ । तर, बिरामी भने बढिरहेका छन्,” उनले भने ।
पोखरामा २०७२/७३ सालदेखि डेंगी देखिन थालेको थियो । सुरुका तीनवर्ष पोखरामा एकजना मात्र डेंगीका बिरामी भेटिएका थिए । तर, त्यसपछिका वर्षमा संक्रमण दर बढ्दै गएको छ । चौथो वर्षमा आइपुग्दा डेंगीका बिरामीको संख्या ५७१ थियो । अर्को वर्ष उक्त संख्या झन्डै दुई हजार पुगेको थियो ।
डेंगी नियन्त्रणका लागि हरेक नागरिक आफै सचेत भई आफ्नो घरआगन वरपर सफा पानी जमेमा त्यसलाई तत्कालै फालेमा डेंगी नियन्त्रण गर्न सकिन्छ । कुनै डेंगी संक्रमित व्यक्तिलाई टोकेर अर्कोलाई टोक्ने मात्र नभई डेंगी सार्ने लामखुट्टेको अण्डामा समेत उक्त संक्रमण हुने हुँदा लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले अघिल्लो महिना हरेक दिनजसो डेंगी प्रतिकार्य समितिको बैठक बस्ने र नियन्त्रणको लागि स्थानीय तह, विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको थियो ।
डेंगी नियन्त्रणका लागि सरसफाई अभियान, लामखुट्टेको लार्भा खोज र नष्ट अभियान, आवश्यकता अनुसार डेंगी किट तथा अन्य सामग्री वितरण, निजी अस्पताल तथा प्रयोगशालाहरूमा डेंगी परीक्षण शुल्को निरीक्षण, डेंगी रिपोर्टिङका लागि स्थानीय तहलाई स्थलगत अभिमुखीकरण, डेंगी रोगसम्बन्धी अडियो जानकारीका लागि क्यूआर कोड सुविधालगायत कार्यक्रम सञ्चालन गरिएको निर्देशनालयले जनाएको छ ।
डेंगी सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगी सार्ने लामखुट्टेले प्रायः दिउँसोमात्र टोक्छ । खासगरी, एडिज प्रजातिको लामखुट्टे डेंगीका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । यो लामखुट्टे जमेको सफा पानीमा अण्डा पार्दछ । पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकीलगायत भाडामा फुल पार्छ ।
डेंगीमा के हुन्छ ?
डेंगीलाई 'ब्रेक बोन' ज्वरो पनि भनिन्छ । किनकि, यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ ।
डेंगी ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन । बर्खाको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप बढ्ने गरेको पाइन्छ ।
कस्ता हुन्छन् लक्षणहरू ?
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरि तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घाँटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु/वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु,
- आँखा तथा घांटी रातो हुनु,
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
संक्रमण भइहाले के गर्ने ?
- सकेसम्म चिकित्सकलाई भेटेर उनीहरूको सल्लाहबमोजिम गर्नुपर्छ । ज्वरो लागि प्यारासिटामोलसम्म प्रयोग गर्न सकिने भए पनि मात्रा मिलाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग गर्न हुँदैन । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगीमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, दीर्घ बिरामीहरूलाई विशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आए पनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी/फलफूल/गेडागुडीको रस, दाल आदि धैरै खानुपर्छ ।