site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारत समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र सहनशील  भएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताएका छन् ।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्रीको निवासमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै उनले नेपाल–भारतबीचमा केही समस्या रहेका र तिनको समाधानका निम्ति आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएको बताए ।

“ईपीजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लागेको छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाती रहेका विषयमा छलफल गर्न सहज हुन्छ,” उनले भने, “भारत उन्नत संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुलस्त रूपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन हामीले जे पनि गर्नु हुँदैन ।”

भूराजनीति शब्दलाई आफ्नो स्वार्थी कामको ढाकछोपका निम्ति प्रयोग गर्न नहुनेमा उनले जोड दिए । विदेशमा बसेर आफ्नो देशका प्रमुखको विरोध गर्ने नेपाली संस्कृति नभएको उनले बताए ।

“पहिला–पहिलाका वैदेशिक सम्बन्धहरू बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचित रूपमा प्रस्तुत गर्नुपर्छ । साझा स्रोतमा काम गर्दा एकपक्षीय रूपमा काम गर्नु हुँदैन । दुवै पक्षको सहमति र छलफलका आधारमा गरिनुपर्छ,” उनले भने ।

उनले सरकारले सुशासन, देश र जनतालाई केन्द्रमा राखेर सोचिरहेको बताए । लोकतन्त्रका नाममा अराजकता हुन नहुनेमा उनले जोड दिए ।

संयुक्त राष्ट्रसंघको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको उनले बताए । प्रधानमन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र त्यसका आधारमा थप बहस गर्न सकिने उल्लेख गरे ।

पुस्तकको समीक्षा गर्दै संविधानविद् डा. विपीन अधिकारीले देशमा उपलब्ध अपार जलसम्पदाको उपयोग गर्ने गरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro