site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : महत
प्रकाशशरण महत । फाइल तस्बिर ।

हेटौँडा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार मकवानपुरको हेटौँडामा आयोजित ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उनले महिला, मधेसी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राखे ।

Argakhachi Cement Island Ad

‘‘महिलाको ३३ प्रतिशत र अरू समुदायको प्रतिनिधित्व नघट्ने गरी प्रत्यक्ष निर्वाचन विधिबाट समानुपातिक समावेशितालाई सुनिश्चित गर्दै संविधान संशोधन गर्न सकिन्छ,” उनले भने, ‘‘यसबाट महिलालगायत वर्गमा प्रत्यक्ष चुनाव लड्ने गरी नेतृत्वको विकास हुन्छ । एउटै दलले बहुमत ल्याउन सक्छ । यस्तो भन्दैमा पार्टीको त्यसै  बहुमत आउँदैन । त्यसका लागि पार्टीका नेता–कार्यकर्ता एक ढिक्का भएर जनताको घरमा पुग्नुपर्छ ।”

चुनौती स्वीकार गरेरै नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग पार्टीले सरकार गठनका निम्ति गठबन्धन गरेको प्रवक्ता डा. महतको स्पष्टोक्ति थियो । ‘‘तेस्रो दल भए पनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन । त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो । यो सहकार्य कम चुनौतीपूर्ण छैन भन्ने कुरामा हामी प्रस्ट छौँ,” उनले भने ।

प्रतिनिधिसभा सांसद डा. महतले अब नेपालमा केही गर्न सकिँदैन÷हुँदैन भनेर बनाइँदै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । ‘‘आजभन्दा केही वर्षअघिसम्म नेपालका दुर्गम गाउँबस्तीमा सडक पूर्वाधार पुग्छ भन्ने कसैले कल्पना गरेको थियो ? तर, आज गाउँगाउँमा सडक, स्वास्थ्य, शिक्षालगायत पूर्वाधार पुगेका छन् । त्यसैले यहाँ पनि धेरै कुराहरू सम्भव छ भन्ने कुरा युवामा बुझाउनुपर्छ,” उनले भने । रासस

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्