साहित्य
शान्त, सौम्य र गम्भीर देखिन्छ
पहिलो नजरमै बकुल्लो
सोच्छु,
आफ्नै घडीमा
फरक गतिमा चल्छ त्यो
मतलब राख्दैन घामपानीको
अनि, त्यसलाई देख्ने जोकोही
बहकिँदै भन्छ–
त्यो ध्यानी हो
त्यो ज्ञानी हो
समाधिनजिक पुगेको
त्यो दिव्य प्राणी हो ।
स्वाभाविक हो,
ताँतीहरू बढ्छन् जलचरहरूको
समीपै देख्दा विराट बकुल्लो
ज्ञान पाउने आशामा
ध्यान पाउने भरोसामा !
तर, उपस्थित छैनन् माछाहरू
जलचरहरूको त्यो कुम्भमेलामा
पक्कै पनि जानकार छन् ती
एउटा लामो कालखण्डको
दुःखद अवसानको
आफ्ना पूर्वजहरूको, बन्धुबान्धवहरूको ।
कठिन हुन्छ पक्कै जलचरहरूलाई
बकुल्लोभक्ति बुझ्न
आवरण हेरी बकुल्लोको
बुझ्न त बकुल्लोभक्ति
बकुल्लो के हो बुझ्नुपर्छ
बकुल्लो भएकै कारण
मेटिन विवश माछाहरू बुझ्नुपर्छ !
(बर्लिन, जर्मनी)
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ ०७:३०
प्रतिक्रिया दिनुहोस्