निखिलको सपना थियो, आफ्नी आमा रुखबाट खसेपछि तुरुन्त उपचार नपाएर बितेकी हुँदा सोही ठाउँमा हाडजोर्नीको डाक्टर भएर गई अरूलाई अकालमा मर्नबाट जोगाउने ।
ऊ १० वर्षको हुँदा आमा ‘ऐेया ऐया’ गर्दागर्दै मरेको दृश्यले उसलाई कहिले तर्साउँथ्यो भने कहिले प्रेरित गर्थ्यो, अझै मिहिनेत गरेर पढ्न ।
उसको यही मिहिनेतले गर्दा सरकारले अनुदान दिएर चलाएको नमुना विद्यालयमा पूर्ण छात्रवृत्ति पाउने सिटमा निखिलले जिल्लाबाट छानिएर पढ्न पाउने भयो । छात्रावासमा उसको रुम पार्टनर हुन पुग्यो टोनी ।
टोनी थियो काठमाडौंको । बाआमाले महँगो शुल्क तिरेर उसलाई त्यस विद्यालयमा भर्ना गरेका थिए । त्यति मात्र हैन, छात्रावासमै राखेका थिए ।
टोनीको घर स्कुलबाट टाढा थिएन । तर पनि छात्रावासमा नै राखेर पढाएका थिए, पढाइमा छोरोले राम्रो गर्ला भनेर ।
छात्रावासको एउटै कोठामा बस्नुपर्ने भएपछि निखिलले परिचयको क्रममा आफ्नो थर बताएको थियो सापकोटा र टोनीले आफ्नो थर बताएको थियो विश्वकर्मा । दुवै मिलेर बसेका थिए ।
टोनीका बाआमा १/२ दिन छुट्टीमा उसलाई लिन आउँदा निखिल पनि सँगै जान्थ्यो । ऊ आफ्नो गाउँमा बाले जसोतसो गरेर उसलाई र भाइबहिनीहरूलाई पढाएको सम्झिन्थ्यो ।
बाको घेरो फाटेको टोपी र चिथ्रो लुगासँग टोनीको विशाल भवन, टोयोटा कारको तुलना गर्थ्यो र अनि आफैँ आश्चर्य मान्थ्यो– हामी यति भिन्न परिवेशका केटाहरू कसरी एउटै कोठामा, एउटै खाना खाएर बसिरहेका छौँ !
ऊ आफूलाई धन्य सम्झिन्थ्यो । मिहिनेत र तीक्ष्ण बुद्धि अनि स्कुलको छात्रवृत्ति दिने नीतिले उसलाई तानेकोले टोनीको स्तरसम्म आइपुग्न सकेछ ।
भविष्यको सपनाबारे कुरा गर्दा निखिल भन्थ्यो– मैले डाक्टर बनेर मेरो आमाजस्तै अकालमा मर्नेलाई जोगाउनु छ ।
अनि, टोनी भन्थ्यो– मेरो ड्याडीममी त मलाई डाक्टर बनाउँछु भन्नुहुन्छ । डाक्टर बन्न धेरै मिहिनेत गर्नुपर्छ रे ! मलाई त्यस्तो धेरै मिहिनेत गर्न मन छैन । तर के गर्नु, जहाँ भर्ना गरिदिनुहुन्छ त्यहीँ पढ्न परिहाल्यो ।
निखिलले एसएलसीमा ९० प्रतिशत अंक ल्यायो भने टोनीले ६५ प्रतिशत । टोनी र उसका बाआमालाई महसुस भएको थियो, निखिलसँग एउटै कोठामा नबसेको भए टोनीको त्यति अंक कुनै हालतमा आउने थिएन ।
एसएलसीपछि पढाइ अगाडि बढाउने कुरामा निखिललाई संकट पर्ने अवस्था थियो । तर, व्यवसाय गर्न खोलिएको एक उच्च माध्यमिक विद्यालयले बोर्डमा परेको विद्यार्थी समेत आफ्नो स्कुलमा पढ्दै छ भनेर विज्ञापन गर्न सकिने देखी उसलाई छात्रवृत्ति दिने र शुल्क छुट गर्ने सर्तमा भर्ना गरियो ।
निखिलको साथ नछुटोस् भनेर टोनीका बाआमाले उसलाई पनि त्यहीँ भर्ना गरे । प्रवेश परीक्षा पास गर्न नसकेको टोनी निखिलको सिफारिसमा भर्ना भएको थियो । त्यस उच्च विद्यालयमा छात्रावास थिएन ।
१२ कक्षा पढ्दा निखिलका बा पटकपटक सिकिस्त बिरामी परिरहेका कारण घर गइरहनुपर्ने भयो । बाको रेखदेख गर्नुका साथै अन्त्यमा बा बितेका कारण मानसिक तनावमा प¥यो ऊ । उसले गर्दा पढाइमा खास राम्रो गर्न सकेन ।
१२ कक्षा पास गर्दासम्म ऊ समस्याले घेरिएको थियो र उसको सपना चकनाचुर हुने अवस्थामा पुगेको थियो । यस्तो अवस्थामा टोनीका बाआमाले आफूकहाँ बसेर पढ्न आश्रय दिने, खान दिने र सामान्य खर्च समेत व्यहोर्ने सदाशयता देखाए । खासमा उनीहरू निखिलको संगतबाट टोनी नछुटोस् भन्ने चाहन्थे ।
मेडिकल डाक्टरका लागि लिइएको सीमित छात्रवृत्ति कोटामा १ प्रतिशतको कमीले गर्दा निखिल उत्तीर्ण हुन सकेन । प्रवेश परीक्षामा ८८ प्रतिशत ल्याउँदा पनि ऊ असफल भयो ।
छात्रवृत्तिका २÷३ थरी परीक्षामा सानो मार्जिनले ऊ असफल भइरह्यो । तर, टोनी दलितका लागि आरक्षित कोटाका कारण ६२ प्रतिशत मात्रै ल्याउँदा पनि पास भयो ।
निखिलको दिमाग चक्राएको छ अहिले । ८८ प्रतिशत अंक ल्याउँदा ऊ पढ्ने मौकाबाट वञ्चित छ भने टोनीलाई ६२ प्रतिशतमै पनि पढ्ने अवसर प्राप्त छ, किन ? मात्र उसको थर सापकोटा र टोनीको थर विश्वकर्मा भएकोले ? उसले सापकोटा थर भएकै कारणले बढी अंक ल्याउँदा पनि पढ्न नपाउने कारण के हो ?
उसले केही जानेबुझेका मानिससँग सोध्यो– थरमा यति ठूलो कुरा के हुन्छ र यत्रो विभेद हुनुपर्ने ?
जानेबुझेका मानिसले अर्थ्याए– विश्वकर्मा थर दलितको हो । सापकोटा बाहुनको ! बाहुनले हिजोअस्ति धेरै अवसर पाए र दलितले पाएनन् भनेर दलितलाई उठाउन यो व्यवस्था गरिएको हो ।
निखिललाई उनको कुरो कत्ति पनि चित्त बुझेन । थरमा गरिएको तर्क ठिक भएको उसलाई कत्ति पनि सही लागेन । ऊ बाहुन भनिएको मानिसको बा नमर्दासम्म गाउँमा जसोतसो खेती गर्नुहुन्थ्यो, हलो जोत्नुहुन्थ्यो ।
उसका हजुरबा पनि दुःख गर्नुहुन्थ्यो रे– बटौलीबाट तानसेनसम्म साहुको भारी बोक्दा मस्यामको उकालोमा सास रोकिएर मरेको रे !
अनि, टोनीका बाआमा दुवै विदेशीको अफिसमा काम गर्नुहुन्छ । छुट्टाछुट्टै गाडी चढेर हिँड्नुहुन्छ । छुट्टीको दिन थुप्रै बाहुनक्षेत्री अंकलहरू उहाँको घरमा आएर दिनभरि तास खेल्छन् ।
उसले टोनीको परिवारले सामाजिक छुवाछुत व्यहोरेको देखेको छैन । टोनीको हजुरबाको असनमा ठूलो भाँडा पसल पनि थियो रे ! उसको खानदान नै धनी रे ! अनि, कसरी भन्न सकिन्छ विश्वकर्मा थर हुनेले हिजो दुःख नै पाएका थिए र सापकोटा थर हुनेले सुख नै पाएका थिए ?
निखिलले सोच्यो– यदि, गर्भमा रहनुअघि भगवान्ले सोधेका भए ‘तँ विश्वकर्मा भएर जन्मिन चाहन्छस् कि सापकोटा ?’ म टोनीको बाल्यकाल र उहिलेको अवस्था हेरेर भन्ने थिएँ, ‘विश्वकर्मा भएर जन्मिन चाहन्छु ।’
तर, न त भगवान्ले सोधे न मैले बताउनै पाएँ । जन्म मेरो वश र इच्छामा रहेन । मेरो वशमा त थियो पढ्नु, मिहिनेत गर्नु । त्यो मैले गरेँ, तर प्रतिफल पाउन सकिनँ ।
निखिलले कतै पढेको सम्झ्यिो– राज्यको एउटा काम न्याय दिनु हो र न्याय भनेको आफ्नो कर्मअनुसारको फल पाउनु हो ।
अनि, ऊ तर्क गर्न नसक्ने अवस्थामा पुग्यो– कर्मको आधारमा म टोनीभन्दा निकै अगाडि छु । तर, कर्मअनुसारको फल मैले पाइनँ । मेरो वशमा नरहेको कुरा, जन्म कसकहाँ भएको भनेर मलाई अवसरबाट वञ्चित पारिएको छ र भनिँदै छ– यो न्याय सामाजिक हो ।
के सामाजिक न्याय भनेको कर्म होइन, जन्म हेरेर मानिसलाई पुरस्कृत र दण्डित गर्नु हो ? सामाजिक न्यायका नाममा सापकोटा भएकै कारण उसको मिहिनेतले लोप्पा खानुपर्ने हो ?
उसले अरू धेरै नबुझे पनि यति भने बुझ्यो, नेपालमा आफ्नो परिश्रमभन्दा जात बिकाउ हुने भएछ । परिश्रम आफ्नो हातमा हुन्छ, जन्म भाग्यको हातमा । अग्रगामी कुरा गर्ने त प्रकारान्तरले भाग्यवादी पो हुँदा रहेछन् ।