site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले माओवादीलाई भन्यो– गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिनू 

काठमाडौं । नेकपा (एमाले)ले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताबाट बाहिरिएपछि आवेगपूर्ण अभिव्यक्ति आउन थालेको पनि बताए । 

मंगलबार प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा आक्रोश पोखेका थिए । उनले बंगलादेश र श्रीलंकाको घटना सम्झाएका थिए । एमालेले सोही लक्षित निर्णय गरेको छ । 

Argakhachi Cement Island Ad

“समाजमा अराजकताको प्रवृत्ति बढ्न थालेको जस्तो, विभिन्न देशका घटनाक्रमसँग जोडेर विभिन्न चर्चा परिचर्चा हुँदै गरेको, संसद्का कतिपय दल सत्ताबाट बाहिरिएसँगै आवेगपूर्ण टिप्पणी, प्रतिक्रिया दिन थाल्नुभएकोप्रति ध्यानाकर्षण भएको छ,” उनले भने । 

देश असहज अवस्थामा भएकाले सहज तुल्याउँदै जाने जिम्मेवारी सबै दलहरूको भएको उनले बताए । कसैले पनि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन बैठकले ध्यानकर्षण गराएको उनले जानकारी दिए । सत्ता पक्षले केही नभन्दा पनि प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएको ज्ञवालीको भनाइ छ । 

त्यस्तै, बैठकले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदा तयारमा सामान्य छलफल गरिएको बताए । नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए । बैठकले यही भाद्र २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्