
काठमाडौं । सत्ताधारी राजनीतिक दलले थालेको हस्ताक्षर संकलन अभियानमा विपक्षी सांसदको पनि साथ रहने भएको छ । मंगलबार (भदौ ३) बिहानदेखि नेपाली कांग्रेस र नेकपा (एमाले)ले सांसदको हस्ताक्षर संकलन गरिरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अभियानप्रति समर्थन जनाएकी छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले हस्ताक्षर गरेकी हुन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीका सांसदले पनि हस्ताक्षर गरेका छन् । अभियानमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को समेत साथ रहेको कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।
उनका अनुसार, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि अभियानमा साथ रहने आश्वासन दिएका छन् ।
“नागरिक उन्मुक्ति, सीके राउत, अशोक राईजीहरूको पार्टीका तर्फबाट हस्ताक्षर गरिएको छ,” उनले बाह्रखरीसित भने, “उपेन्द्र यादवले पनि आफूहरूको समर्थन रहने आवश्वासन दिनुभएको छ ।”
यादव नेतृत्वको जसपा नेपाल विपक्षी दल हो । हस्ताक्षर संकलन अभियानलाई उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारीका रूपमा हेरिएको छ ।