काठमाडौं । केही कम्पनीका लगानीकर्ताहरूले कम्पनी राम्रोसँग चल्दा नाफा खाने र घाटामा जान थालेपछि प्राथमिक सेयर (आईपीओ) निस्कासन गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
विज्ञले उदाहरणका रूपमा उखुको रससँग पनि तुलना गर्ने गरेका छन् । उखुमा रस आउन्जेलसम्म चुस्ने र रस सकिएपछि झन् खोस्टाबाट उच्च लाभ लिन सेयर निस्कासन गर्ने प्रवृत्ति बढेको छ ।
हुन पनि आईपीओ निष्कासन गर्न वित्तीय विवरणमा फर्जी नाफा देखाउने र दोस्रो बजारमा सूचीकृत भएपछि घाटामा गएको प्रमाण पेश गर्ने कम्पनीहरूको नियति पहिलेदेखि नै हो ।
पछिल्लो समय धितोपत्र दोस्रो बजारमा भित्रिएका केही सिमेन्ट कम्पनीहरूले पनि त्यस्तै प्रवृत्ति देखाएका छन् । गत आर्थिक वर्षमा सर्वाेत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स् एण्ड आयलले आईपीओ निष्कासन गरेका थिए ।
यी तीन उत्पादन तथा प्रशोधन समूहका कम्पनीमध्ये घोराही र सोनापुर मिनरल्स्ले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका थिए । प्रिमियममा आईपीओ निष्कासन गरेका कम्पनीमध्ये सोनापुरले यो वर्ष लगानीकर्तालाई लाभांश दिनै सकेन ।
तर, घोराही र सर्वाेत्तम सिमेन्टले भने अघिल्लो आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट १५ प्रतिशत लाभांश दिएका छन् । चालु आर्थिक वर्षमा भने यी तीनवटै कम्पनीले लाभांश दिन सक्ने सम्भावना कम छ ।
तर, यी नै कम्पनीको सेयर मूल्य धितोपत्र दोस्रो बजारमा उच्च छ । लगानीकर्ताहरू पनि यीनै कम्पनीका सेयर खरिद गर्न उत्साहित छन् ।
सर्वाेत्तमले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गरेको थियो । बुक विल्डिङ विधिमार्फत सर्वाेत्तमले प्रत्तिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ निष्कासन गरेको थियो ।
घोराहीले प्रतिकित्ता ३३५ रुपैयाँ थप गरी ४३५ रुपैयामा आईपीओ निष्कासन गरेको थियो । त्यसैगरी सोनापुर मिनरल्स्ले प्रतिकित्ता अंकित मूल्य १०० मा १३७ रुपैयाँ ५८ पैसा थप गरी २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो ।
आईपीओ निष्कासन गर्नुभन्दा अघिसम्म करोडौं नाफा आर्जन गरेका सिमेन्ट कम्पनीहरूले गत आर्थिक वर्षमा भने ऋणत्मक नाफा देखाएका छन् । यसरी ऋणात्मक नाफा देखाउनेमा घोराही र सोनापुर मिनरल्स् छन् ।
घोराही असार मसान्तसम्म एक अर्ब २१ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा छ भने सोनापुर ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा छ ।
तर, सर्वाेत्तम सिमेन्टले भने असार मसान्तसम्म १७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सर्वाेत्तमले नाफा आर्जन गरेको भए पनि प्रतिसेयर आम्दानी भने न्यून छ ।
सर्वाेत्तम सिमेन्ट
नवलपरासी जिल्लामा सर्वाेत्तम सिमेन्टले उद्योग सञ्चालनमा ल्याएको छ । यो कम्पनीले वि.सं. २०७१ फागुन १ गतेबाट उत्पादन सुरू भएको हो । कम्पनीको कुल लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार रहेको २०७९÷८० को असार मसान्तसम्मको लेखापरीक्षणबाट देखिएको छ ।
उक्त उद्योगको प्रतिदिन तीन हजार टन क्लिंकर र तीन हजार टन सिमेन्ट (प्रति बोरा ५० के.जी.को दरले ६० हजार बोरा) उत्पादन क्षमता छ । आईपीओ निष्कासन गर्न कम्पनीले प्रा.लि.बाट पब्लिक लिमिटेडको रूपमा २०७६ साउन ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएको थियो ।
यो कम्पनीको आईपीओ निष्कासन गर्नुभन्दा पहिले प्रतिसेयर आम्दानी र नाफाका सूचक सकारात्मक थिए । तर, आईपीओ निष्कासन गरेपछि कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ तथा नाफामा कमी हुँदै आएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि बुझाएको विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ मा ७७ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसपछिका वर्षहरू २०७७÷७८ मा एक अर्ब ३१ करोड तीन लाख, आर्थिक वर्ष २०७८/७९ मा ४६ करोड ७६ लाख रुपैयाँ र आर्थिक वर्ष २१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
आर्थिक वर्ष २०८०/ ८१ मा ८२ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको थियो । तर, आर्थिक वर्ष २०८०/८१ मा भने यो कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
घोराही सिमेन्ट इण्डष्ट्री
घोराही सिमेन्ट इण्डष्ट्रिजले गत वर्षको जेठ ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । यो कम्पनीको वि.सं. २०६४ साउन २१ गते कमपनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो ।
तर, आईपीओ निष्कासन गर्न कम्पनी प्रा.लिबाट लिमिटेडमा वि.सं. २०७७ फागुन २३ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति पाएको थियो ।
यो कम्पनीले आईपीओबाट उठाएको रकमले बैंकको ऋण तिरेको छ । आईपीओ निष्कासन गर्नुभन्दा पहिले धितोपत्र बोर्डलाई उच्च नाफा भएको विवरण बुझाएको थियो ।
यो कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब ४५ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरणमा बुझाएको थियो ।
त्यसपछिको वर्ष २०७७/७८ मा तीन अर्ब ७७ करोड ४० लाख र आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले चार अर्ब दुई करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरण धितोपत्र बोर्डमा बुझाएको थियो । यो आईपीओ निष्कासन गर्न कम्पनीले बुझाएको विवरण थियो ।
त्यसपछि आर्थिक वर्ष २०७९/८० मा चार अर्ब तीन करोड ८७ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ७८ करोड १७ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपणसहितको विवरण बुझाएको थियो ।
तर, आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म यो कम्पनी एक अर्ब २१ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा देखियो । आईपीओ निष्कासन गर्नुभन्दा पहिलेका वर्षहरूमा लगातार नाफा गर्न अनि आईपीओ निष्कासन गरेपछिका वर्षमा नोक्सानी हुने प्रवृत्तिले गर्दा सर्वसाधारणको पैसामा यस्ता कम्पनीले खेलवाड गरेको स्पष्ट देखिन्छ ।
यो कम्पनीको प्रतिशेयर आम्दानी हाल २६ रुपैयाँ ६८ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर आम्दानी गत आर्थिक वर्ष २०८०/८१ मा १६ रुपैयाँ पुर्याउने र प्रतिसेयर नेटवर्थ २९५ रुपैयाँ ९२ पैसा पुग्ने प्रक्षेपण बोर्डमा बुझाएको थियो । यो कम्पनीले लगानीकर्तालाई आगामी वर्ष प्रतिफल दिन सक्ने अवस्था छैन ।
यस्ता कम्पनीको सेयरमा लगानीकर्ता उत्साहित भएर प्रतिकित्ता ६०० सम्म हाल्न तयार छन् । यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताले कम्पनी केही गरी बन्द हुने स्थितिमा पुगे प्रतिकित्ता २०७ रुपैयाँ ९३ रुपैयाँ फिर्ता पाउनेछन् ।
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड
यो कम्पनीले गत वर्ष २०८० असोज १४ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । यो कम्पनीको कारखाना दाङ जिल्लामा छ ।
वि.सं. २०६५ जेठ ३१ गते कम्पनी रजिष्ट्रारका कार्यालयमा प्रा.लि.को रूपमा दर्ता भएको यो कम्पनी २०७७ साउन ७ गतेबाट लिमिटेडमा परिणत भएको थियो । आईपीओ निष्कासनका लागि कम्पनी लिमिटेडमा परिणत भएको थियो ।
यो उद्योगको कुल लागत आठ अर्ब ७१ करोड रुपैयाँ रहेको धितोपत्र बोर्डमा उपलब्ध विवरणमा उल्लेख छ । यो कम्पनीले पनि आईपीओ निस्कासन गर्नुभन्दा पहिलेका वर्षहरूमा नाफा देखाएर आईपीओ निस्कासनपछिका वर्षमा नोक्सानी बेहोरेको वित्तीय विवरण सार्वजनि गरेको छ ।
कम्पनीले बोर्डमा बुझाएको विवरण अनुसार आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ मा २९ करोड रुपैयाँसम्म नाफा गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा १९ करोड नौ लाख रुपैयाँ नाफा गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा २९ करोड ७७ लाख र आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ९४ लाख रुपैयाँसम्म नाफा आर्जन गरेको विवरण धितोपत्र बोर्डमा विवरण बुझाएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा पनि कम्पनीले १४ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरण छ । तर, आईपीओ निष्कासन गर्ने बित्तिकै यो कम्पनीको नाफा आर्थिक वर्ष २०८०/८१ मा भने ऋणात्मक छ । गत आर्थिक वर्षमा यो कम्पनीका वित्तीय सूचक ऋणात्मक देखिन्छ ।
कम्पनीले असार मसान्तसम्म ४६ करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । यसले पनि के देखाउँछ भने नियामक निकायले कम्पनीको पारदर्शितालाई ख्याल नगरी हचुवाका भरमा आईपीओ निष्कासन गर्न दिने गरेको छ ।
यी तीन उत्पादन तथा प्रशोधन कम्पनीलाई नमूनाको रूपमा हेर्दा कम्पनीका संस्थापक सेयरधनीहरूले पहिले नै नाफा कमाएर कम्पनी घाटामा जान थालेपछि आईपीओमार्फत कम्पनीको सेयर जनतामा भिराएको पुष्टी हुन्छ ।
आर्थिक संकटमा पनि कम्पनीहरू नाफामा जाने तर अर्थतन्त्रमा केही सुधार देखिँदा कम्पनीहरू करोडौं रुपैयाँ घाटामा जानुलाई पनि उनीहरूको खराब मनोवृत्तिको रूपमा देख्न सकिन्छ ।
यो वर्ष आईपीओबाट उठाएको पैसाबाट लाभांश वितरण गरेका भए पनि आगामी दिनमा यी कम्पनीको अवस्था नाजुक हुँदै जाने कम्पनीको पर्फर्मेन्सबाट पुष्टि हुन्छ । कुनै पनि कम्पनीको दोस्रो बजारबाट सेयर किन्दा कम्पनीको नाफा, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी र पीई रेसियोलाई ध्यान दिनुपर्ने हुन्छ ।
तर, लगानीकर्ताले त्यस्ता कुरामा ध्यान दिनेको देखिँदैन । यसरी वित्तीय सूचकहरू अध्ययन नगरी दोस्रो बजारमा लगानी गर्दा फस्न सक्ने उच्च जोखिम हुन्छ ।