site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जब देउवा र ओलीले रिस थाम्नै नसक्ने गरी टुँडिखेलमा बालेनको पक्षमा हुटिङ भयो

काठमाडौं । गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा सधैँ झैँ एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलसहितलाई आमन्त्रण गरिएको थियो । 

गौरा पर्वलाई विशेष गरी सुदूरपश्चिमका नागरिकले मनाउने गर्छन् । हरेक वर्ष गौराको अवसरमा टुँडिखेलमा कार्यक्रमको आयोजना गरिन्छ । सुदूरपश्चिमेलीहरू एक ठाउँमा भेला हुने पर्व पनि हो, गौरा ।

सधैँ झैँ यसपटक पनि देशका शीर्ष नेताहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो । सुदूरपश्चिमका नेताहरू त झनै छुट्दैनन्, पार्टी फरक भए पनि गौराको दिन उनीहरू टुँडिखेलमा जम्मा भएर सँगै देउडा खेल्ने गर्छन् ।

यसपटक पनि कार्यक्रममा केही पृथक देखियो । जसै प्रधानमन्त्री ओली मञ्चमा उक्लिए, युवाहरूको एक समूहले उनीविरुद्ध नाराबाजी गर्‍यो । उनीहरूले 'केपी तेरो पाराले, दुःख पायो साराले', 'केपी ओली, देश छोड'लगायतका नारा लगाएर नाराबाजी गरे । उनीहरू ओलीविरुद्ध नाराबाजीमात्र गरिरहेका थिएनन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थनमा हुटिङ पनि गरिरहेका थिए ।

Deuba-Olii-1724693211.jpgभाषणका क्रममा प्रधानमन्त्री ओली उनीहरूप्रति संयम भएर बोले । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए ।

तर, कांग्रेस सभापति देउवा निकै आक्रामकरूपमा प्रस्तुत भए । प्राय: छोटो भाषण गर्ने देउवा नाराबाजी गर्नेविरुद्ध खनिए । भाषणको सुरुमा देउवा नम्र देखिएका थिए । उनको अनुहारमा रिस उठेको त देखिन्थ्यो तर उनले नियन्त्रणमै राखेका थिए ।

तर, नाराबाजी झन् चर्को बनेपछि देउवाले रिस थाम्न सकेनन् । सुरुमा त उनले 'जति कराउनु छ, तपाईंहरू कराउनुस्' भने । दर्शकदीर्घाबाट आवाज झन् चर्को बन्यो । देउवा पनि के कम, औँला ठड्याएरै भने, "लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, बदमासहरू ।"

"यही हो नेपालको संस्कृति, यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरू," आफ्नै शैलीमा देउवाले भने ।

देउवाले भाषण गरिरहँदा उनको पछाडि उभिइरहेकाहरू हाँसिरहेका थिए । दर्शकदीर्घाबाट हुटिङ भइरहेको थियो ।

त्यसपछि केही संयमित हुँदै देउवाले भने, "त्यसकारण, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यस्तै छ । यहाँ गौरा पर्व सुन्न आएकाहरू छन्, यहाँ देउडा खेल्न आएकाहरू छन् । कुरा सुन्न दिँदैनन्, यस्ता अर्काको कार्यक्रम बिथोल्नेहरू यहाँ बसेका छन् । यस्ताहरूलाई जनताले ठिक पार्नेछन् भन्ने मलाई विश्वास छ ।"

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro