site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
एउटा सम्झना – २८ वर्षअघिको

आफूले पाठशालामा नेपाली पढ्न पाइएन, माथिल्लो कक्षामा पुगेपछि पनि अनेपाली शिक्षकले नेपाली पढाउनु भएको हुँदा मलाई नेपाली पढ्नु उति रूचिकर लाग्दैनथियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा बाहेक (मुनामदनका स्रष्ट्राका नाताले) नेपालका अरू कविका कृति विषयमा आफू पट्मूर्ख रहेको कुरा सम्झँदा आज पनि आत्मग्लानिले मुन्टो निहुरिन्छ !
पृथ्वीतलमा यौटासम्म
मानिस बाँकी रहँदासम्म
तुच्छ सुगाको जन्म नदेऊ
दीन दयालो बिन्ती लेऊ !

यो कविता पढ्दा सुगाप्रति दयामाया त्यस्सै लपक्क भिजेपनि यसका स्रष्टाका विषयमा केही थाहा थिएन । कसैका बार्दलीमा पिंजडा झुण्डिएको देख्दा भने त्यसभित्र थुनिएको सुगालाई छोडिदिउँ जस्तो लाग्थ्यो । कविताको गहिरो अर्थ बुझेकी थिइनँ, कसैले बुझाएनन् पनि ! मात्र सुगाको मायाले मन रसाउँथ्यो !!

त्यसैले त्यसका स्रष्टाको विषयमा मैले केही जानिनँ, साथीहरूले पनि जानेनन् । कवितासँग छापिएको कविको तस्वीर पनि अस्पष्ट र अनाकर्षक भएको हुनाले हाम्रो मनमा त्यसको छाप बस्न सकेन । कविको दर्शन पाउने कुरा त झन् आकाशको तारा नै भएको थियो ।

Dabur Nepal
NIC Asia

यसरी घेरै वर्ष बिते । बल्ल सन् १९५८, अक्टोवर महीनामा मैले कविशिरोमणि लेखनाथ पौड्यालको दर्शन गर्ने सौभाग्य पाएँ । कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा प्रचारक संघको निम्तोमा करफोक जान दार्जीलिङ्ग आउनु भएको थियो ।

दार्जीलिङ्गमा दशैं आएजस्तो भयो । जहीँतहीँ साहित्यिक समारोह, स्वागत सत्कार आयोजित भएका थिए । स्व. सूर्यविक्रम ज्ञवालीज्यूले कविशिरोमणिज्यू, समज्यू र देवकोटाज्यूलाई दार्जीलिङ्गको रामकृष्ण वेदान्त आश्रम देखाउन लाने कार्यक्रम बनाउनु भएको थियो ।

त्यस आश्रमबाट नेपालीका धेरै पुस्तकहरू प्रकाशित भएका थिए । उहाँहरूसँगै रामकृष्ण वेदान्त आश्रम जानलाई म ज्ञवालीज्यूका सरकारी बँगलामा गएँ । सन् १९५० मा मैले नाटककार समज्यू र महाकवि देवकोटाज्यूको दर्शन गर्ने सौभाग्य पाएकी थिएँ तर लेखनाथज्यूको दर्शन गर्ने सौभाग्य मलाई त्यस बेलासम्म मिलेको थिएन । मनमा उत्साह भए पनि लघुताको भावना पनि सँगै बोकेकी थिएँ ।

छात्रावस्थामा मातृभाषाको ज्ञानको अभावले मेरो नेपाली साहित्यप्रतिको अध्ययन सीमित थियो । विद्वान ज्ञवालीज्यूको सत्संग पाएपछि मात्र नेपाली साहित्यको केही अध्ययन गर्ने सुअवसर पाएकी थिएँ तर लेखनाथज्यूसँग धक फुकाएर कुरा गर्न नसक्ने आफ्नो स्थिति पनि मैले अनुभव गरिसकेकी थिएँ । मन कातर थियो, उत्साहित पनि थियो ।

ज्ञवालीज्यूको सरकारी बँगलाको आँगनमा पुगेपछि उहाँले मलाई बैठक कोठामा लानु भयो । अग्ला, सुन्दर, पौरूषपूर्ण व्यक्तित्वका धनी देवकोटा, कोमल कलाकारको व्यक्तित्व र सुरुचिपूर्ण पोशाक लाएका समज्यूका साथमा बसेका, चन्दनको टीका, लामालामा सेता दाह्री पालेका कविशिरोमणिज्यू मलाई त्यतिबेला “पण्डित बाजे” जस्तो लाग्यो ।

परिचयपछि ज्ञवालीज्यूले मलाई कविशिरोमणिज्यूको छेउमा बसाउनु भयो । छेउमा बसेर कुरा गर्दै म उहाँलाई हेर्न थालेँ । अहो, फोटोले त उहाँको तसवीर उतार्न सकेको रहेनछ । धपक्क बलेका आँखा, लामा सेता दाह्री, सेतै कपाल, सौम्य मुहारका घनी कविशिरोमणि लेखनाथज्यू पाठ्य–पुस्तकको पातामा छापिएको तस्वीरभन्दा कता हो कता आकर्षक लाग्यो ।

मलाई लाग्यो हिमालयमा तप गरेर बस्ने, ज्ञानका उपासक उहिलेका महर्षिहरू यस्तै धपक्क बल्ने व्यक्तित्व भएका हुँदा हुन् । कुरा गर्न थालेपछि भने कताकता कविवर स्व. धरणीधर शर्माजस्तै विनोदी र केटौलेजस्तो पनि लाग्यो ।

कुन्नि कसरी हो समज्यूले कुरा ‘नास्तिकवाद’को शुरू गर्नु भएछ— देवकोटाज्यूले त्यसलाई समर्थन गर्नु भयो । म आफू आस्तिक के भन्ने ? त्यत्रा दुई प्रकाण्ड विद्वानहरूका अघि ! तैपनि झिनु प्रतिबाद प्रस्तुत गर्दै थिएँ कविशिरोमणिज्यूले मसँग रामकृष्ण वेदान्त आश्रम, दार्जीलिङ्गले प्रकाशित गरेको नेपाली पुस्तकहरूका विषयमा सोध्नु भयो । विषय बद्लियो र म उम्किएँ, त्यस्ता मायालु हुनुहुन्थ्यो लेखनाथज्यू !

उहाँको व्यक्तित्व मात्र होइन जीवन पनि महर्षिको जस्तो थियो निर्मल, स्वच्छ र सुन्दर । उहाँ सनातनी तर रूढिवादको विरोधी । उहाँका कवितामा गहिरो दर्शन, आध्यात्मिकता, नैतिक गुण सुन्दरताकासाथ व्यक्त गरिएका छन् भने राष्ट्रियता र विश्वबन्धुत्वका भाव पनि उस्तै प्रखर भएर पोखिएकाछन् । त्यसैले कविशिरोमणि लेखनाथ पौड्याल पुरानोलाई नयाँमा र नयाँलाई पुरानोमा समावेश गर्नसक्ने सशक्त यथार्थवादी कवि हुन् भनी भन्न सकिन्छ ।

प्राकृतिक सौन्दर्यका माझमा जन्मेका कविको बाल्यकाल स्वच्छ हिमाली काखमा, निर्मल खोलानाला, हरिया बन–जङ्गलको संगतमा बित्यो । उनी प्रकृतिसँग रमाउँदै बढे र प्रकृतिबाटै प्रेरित पनि बने । यसैले उनका कवितामा प्रकृतिको ठूलो प्रभाव पाइन्छ ।

ऋतु विचारका ऋतु परिवर्तनमा होस् वा तरुण तपसीका चराको बोली र रूखको छायाँमा होस्, दर्शनका रहस्यहरू पत्रैपत्र परेको पाइन्छ । उनले जीवनका धेरै वर्षहरू सामन्तकालीन संस्कारको समयमा बिताउनु पर्‍यो । त्यहाँ उनका धार्मिक विश्वास, ब्राह्मणकुलीन पनि प्रभाव पर्‍यो तर यथार्थदेखि टाढा तर्केर सौन्दर्यै–सौन्दर्यको काखमा पलायन गर्ने, युगबोध नभएका कवि थिएनन् ।

लेखनाथले निरंकुश शासनको कारागारलाई तोड्न नसकी छट्पटाई रहेको सुगाको भक्कानो यसरी फुटाएका छन्—
पिंजडा फोडु भनीकन चुच्चो
बलसँग घस्ता भो सब बुच्चो ।

त्यस्तो डरलाग्दो कालमा पनि यथार्थलाई सांकेतिक रूपमा व्यक्त गर्न सक्ने कविलाई यथार्थवादी मान्नु पर्छ । मानिसको मुख थुनेर बस्नु पर्ने, स्वभाविक भावनामा तगारो तेर्सिने समयमा कविशिरोमणिज्यूले आफ्नो युगको प्रतिनिधित्व गर्दै लेख्नु भयो—
काढ़ी तरक्क पसिना दिनरात डोको
बोके पनि उदरगर्त रहन्छ भोको ।

आफू सनातनी हिन्दू भए पनि हिन्दूत्वका नाउँमा गरिने अन्धविश्वास, भेदभाव तथा कट्टरपन्थीहरूको धार्मिक अहं प्रवृतिको हाकाहाकी विरोध गर्दै लेखेका छन् । धनी परिवारमा गरीवकी छोरी पर्न जाँदा उसलाई पिट्पाट् पारेर घरबाट निकाली दिने निठुरी व्यवहारको हृदयस्पर्शी चित्रण यसरी गरेका छन्—
पैसा भए अलिकती पिटपाट पारी
भुत्ल्याई केश कपडा गहना उतारी 
लौ राँड जा अब भनेर निकालि दिन्छ
निर्धो भए सब सही पद्मा नुहुन्छ ।

यस्ता कवि नेपाली साहित्यका ठूला प्रतिभा हुन् । अरूले लेखेका श्लोक कंठस्थ गरी उत्सव, समारोहमा पाठ गर्दै आफ्नो काव्य तिर्खा मेटाउने लेखनाथज्यूका काव्य आज साहित्यका महारथीले शोधकार्यका निम्ति अध्ययन मनन् गर्नु पर्छ ।

आफ्नै जीवनकालमा कविशिरोमणिको उपाधि प्राप्त गर्ने तथा प्रधानमन्त्री, कवि कलाकार, जनता जनार्दन, कुटनीतिज्ञ राजनीतिज्ञहरूले तानेको रथयात्राको सम्मान प्राप्त गर्ने पहिलो कवि हुन् लेखनाथ !

यस्ता महान् व्यक्तित्व, नेपालमा कविशिरोमणिको २८ वर्ष अघि यही महीना ( अक्टोबर) मा भएको मीठो सम्झना आज पनि मेरो मनमा ताजै छ ।

(प्रतिष्ठान, वार्षिक मुखपत्र, वर्ष–१, अङ्क–१, २०४३, विराटनगर)
(प्रमोद प्रधानद्वारा सम्पादित ‘क्षण, विचार र स्मृतिहरू’ बाट ।)

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro