के हुँदैन र मैले पिउँदा ?
हेर न ! मैले पिएर त मधुवनमा फूल फुलेको छ
हर रात बार्दली मै जुन उदाएको छ
मेरो एकएक घुट्कोसँगै
घर हाँसेको छ
आँगन नाचेको छ
दुनिया मेरै पछाडि
म जता–जता
बाटो त्यता–त्यता
मेरो एकएक चुस्कीसँगै
धर्तीले ताण्डव गरेको छ
आँधी, हुरी, असिना झार्दै
समयले काँचुली फेरेको छ
त्यसैले दुनिया हो !
मलाई पिउन नसिकाऊ
रक्सी कालो देख्नेहरू हो !
मलाइ जिउन नसिकाऊ
होसियार ! होसियार !
सिन्दुर नघुल्ने प्याला यो
अबोध शिशुको सपना नघुल्ने प्याला यो
ऋण, दिन, इमान, जमान,
कलम, कविता,
भविष्य
केही नघुल्ने प्याला यो
कसरी कालो ?
घुल्छन् त मेरा सपनाहरू
मुटुका ढुकढुकीहरू
रक्ताम्य हुने गरी
घुल्छ त हरेक प्यालामा सञ्जीवनी
रंगिन हुनेगरी
आवाज घुलेर निस्किन्छ अनौठो नाद
कसैले नबुझ्ने
अमर नाद
खै कहाँ छ दाग ?
खै कहाँ छ कालो ?
बकवास ! सब बकवास !
हे ! मेरो प्यालालाई कालो देख्नेहरू हो
यति त बुझ
मनको आगो
आगो पिएरै मात्र निभ्छ
मनको चिसो धुवाँले त
आँखा रसाउँछ
बलेको चिताजस्तो जिन्दगीमा
हे ! रक्सी कालो भन्नेहरू हो
तिमी पनि मजस्तै आगो पिउँदै आँसु बगाऊ
जब मनको तेजले आँसुको फूललाई छेड्छ
इन्द्रेणी बन्छ प्याला
रंगीन
अनि, हरेक चुस्कीमा प्याला घुमाउँदै जाऊ
बोतल नचाउँदै जाऊ
सृष्टि हल्लाउँदै जाऊ
सात रङ जोडले हल्लाउँदै जाऊ
प्रकाश बन्छ प्याला
सेतो उज्यालो मात्र उज्यालो
खै अध्यारो ?
खै कालो ?
खबरदार ! कालो भन्ने को ?