फाजिल जिन्दगी
(कथासंग्रह : मधुवन पौडेल)
नेपाली कथासाहित्यमा परिचित नाम हो, मधुवन पौडेल । लामो समयदेखि कथा लेखनमा सक्रिय पौडेलको नयाँ कथाकृति ‘फाजिल जिन्दगी’ हालै सार्वजनिक गरिएको छ ।
उनले २०४१ सालमै पहिलो कथाकृति पाठकलाई सुम्पिएका थिए । पौडेलले ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाइएका दन्त्यकथा’, ‘अवतरण’ लगायत सात कथाकृति पस्किइसकेका छन् ।
‘फाजिल जिन्दगी’भित्र लेखकीयमा पौडेलले लेखेका छन्, “फाट्टफुट्ट केही कथा प्रकाशित भइरहे पनि विगतका १२/१३ वर्ष मेरो कथा लेखन निरन्तर रहेन । संग्रहको रूपमा १२ वर्षपछि तपाईंहरूसमक्ष फेरि आएको छु । यसमा संगृहीत कथाहरू विभिन्न कालसमयमा विदेशमा बस्दा र विदेशी परिवेशमा लेखिएका हुन् ।...।”
कृतिभित्र भूमिकामा साहित्यकार जैनेन्द्र जीवनले लेखेका छन्, “धेरैजसो कथाका सूत्रधार लेखक स्वयं छन् । र, आफू सूत्रधार भएको कुरा कतिपय ठाउँमा त लेखकले लुकाएका पनि छैनन् । कहीँकहीँ त लेखक स्वयं कथाका कुनै पात्र नै हुन् कि झैँ पनि लाग्दछ ।...।”
समालोचक ज्ञानु अधिकारीले लेखेकी छन्, “...राज्यको उच्च निकायमा बसेर काम गर्दा त्यहाँबाट देखिएका नेपालीहरूको समस्या, आफूसँग ठोक्किन आइपुग्ने विविध प्रकारका मान्छे र ती विषयसँग सम्बद्ध आफ्ना विश्वदृष्टि समेत प्रस्तुत भएका पौडेलका ती कथा केवल कथा मात्र होइनन् ।...।”
यो संग्रहभित्र २७ कथा पढ्न सकिन्छ ।
कथाकार आफैँले प्रकाशनमा ल्याएको १७२ पृष्ठको यो कृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।
०००
क्रूर पृष्ठमा जो थिए
(उपन्यास: राजव)
आख्यानकार राजव साहित्यका विविध विधामा कलम चलाउँछन् । उनी उपन्यास, कथा मात्रै लेख्दैनन्, कविता र संस्मरण पनि लेख्छन् । उनका थुप्रै कृति बजारमा उपलब्ध छ ।
केही समयअघि मात्र प्रकाशित उपन्यास हो, ‘क्रूर पृष्ठमा जो थिए’ । यो उपन्यास एउटा समयको दस्तावेज भएको राजवको भनाइ छ ।
उपन्यासकारको स्पष्टोक्ति छ अन्तिम पृष्ठतिर, त्यहाँ उनले लेखेका छन्, “२०२८ सालको असोजमा बारा, पर्सा र रौतहटमा एक क्रूरतम उन्मादी धार्मिक उपद्रव घटाइएको थियो । त्यस उपद्रवमा थु्प्रै ज्यान र धनमालको क्षति भएको थियो । ... एक झुटो, मिथ्या हल्ला चलाएर घटाइएको त्यस क्रूरतम साम्प्रदायिक दंगाको सुरुआत रौतहटको एक गाउँबाट भएको थियो । यो उपन्यास लेख्नुको मेरो बीज स्रोत तिनै घटना, उपद्रव र दंगा हुन् ।...।”
कृतिको ब्लर्बमा लेखिएको छ, “राजवका उपन्यासका कथ्य नयाँ, ताजा हुन्छन् । ती शोषित, प्रताडित जीवनको समाज, राजनीति र इतिहाससँग जोडिएका हुन्छन् । त्यसकारण उनका उपन्यास जीवन्त र स्वाभाविक लाग्छन् ।...।”
फिनिक्स बुक्सद्वारा प्रकाशित १८६ पृष्ठको यो उपन्यासको मूल्य ३७५/– रुपैयाँ राखिएको छ ।
०००
पानस प्रतिभा
(मुक्तकसंग्रह: गोकुल अधिकारी)
कवि गोकुल अधिकारी कविता लेखनमा सक्रिय छन् । दुई काव्यकृति पाठकलाई दिइसकेका उनको मुक्तकसंग्रह हालै बजारमा ल्याइएको छ, ‘पानस प्रतिभा’ ।
अधिकारीले लेखकीयमा लेखेका छन्, “छन्द शैलीमै मनको भावना पोख्न सकिने अनि अक्षरको संख्या गन्दै छन्द व्याकरणको बन्धन र लघु, गुरुको कडा अनुशासनमा पनि बसिरहनु नपर्ने, आदि सबै तत्त्व यही मुक्तक विधाभित्र फेला पारेपछि आफूभित्र गढेर बसेको छन्द सिर्जनाको मोह पूरा गर्ने सजिलो र चोरबाटोको रूपमा मैले त्यति बेला मुक्तक छन्द अर्थात् मुक्तक विधालाई रोजेँ ।”
साहित्यकार विवश पोखरेलले कृतिको भूमिकामा लेखेका छन्, “...मुक्तककार गोकुल अधिकारीका यस कृतिभित्र १३२ वटा मुक्तकहरू संग्रह गरिएका छन् । चतुष्पदी शैलीमा लेखिएका सबै मुक्तकहरूमा वर्तमान मुक्तकीय संरचना र शैलीलाई आत्मसात् गरेको पाइन्छ ।...।”
उनको एउटा मुक्तक यस्तो छ–
मान्छेहरू जङ्गल मास्छन् पीर गर्छन् चराहरू
रुँदैरुँदै पिँजडामा बसाइँ सर्छन् चराहरू
पखेटामा सपनाको इन्द्रेनी नै सजाएर
राहदानी पोको पार्दै सागर तर्छन् चराहरू । (पृष्ठ—२५)
प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरद्वारा प्रकाशित ९६ पृष्ठको यो मुक्तककृतिको मूल्य २००/– रुपैयाँ राखिएको छ ।
०००
नेताका साथी
(एकाङ्कीसंग्रह: लोकेन्द्रबहादुर चन्द)
राजनीतिज्ञ लोकेन्द्रबहादुर चन्द साहित्यकारका रूपमा पनि परिचित छन् । उनका कतिपय कृति धेरैअघि नै पाठकले रुचाइसकेका हुन् । केही समयअघि साहित्यकार चन्दको एउटा एकाङ्की नाटकसंग्रह सार्वजनिक गरिएको छ, ‘नेताका साथी’ ।
यो संग्रहमा ‘भाग्योदय’, ‘ठकठकेहरू’, ‘दिलदार सोसाइटी’, ‘आदर्श–प्रेम’, ‘नेताका साथी’, ‘खतरा’, ‘जागीर’, ‘सम्मान समारोह’ र ‘मीठो चिया’ गरेर कुल नौ एकाङ्की प्रस्तुत छ ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १९२ पृष्ठको यो कृतिको मूल्य ७५०/– रुपैयाँ राखिएको छ ।
०००
चमेरो
(कवितासंग्रह: श्याम रिमाल)
पत्रकारितासँगै साहित्यमा पनि रमाइरहेका श्याम रिमालको अर्को कविताकृति हो, ‘चमेरो’ । यो कविताकृतिको शीर्षकमुनि उनले उल्लेख गरेका छन्, ‘कोरोना कविता’ ।
कोरोनाकाल वैश्विक रूपमा हरेकका निम्ति पीडादायी रह्यो । विश्वलाई एकसाथ खलबल्याइदिएको यो रोगले लाखौँको ज्यान लियो । करोडौँलाई पीडा दियो । त्यही पीडाबीचबाट विभिन्न लेखकले साहित्यिक कृति ल्याए । त्यसैक्रममा जन्मिएको एउटा संग्रह हो, चमेरो’ ।
कविले लेखकीयमा लेखेका छन्, “गोरखा भूकम्प र त्यसपछिका परकम्पको समयलाई मैले ‘बारपाक’ कम्प काव्यसंग्रह (विसं २०७४) मा ढालेको थिएँ । एकै विषयमा कविता लेख्नाको महत्त्व रहेछ भन्ने कुरा मलाई खोज्दै बेलायत निवासी नेपाली भाषासाहित्यका प्रवद्र्धक प्रा. माइकल हटले मकहाँ आएर पुस्तक लगेको र त्यसलाई आफ्नो अनुसन्धानमा प्रयोग गरेको मलाई सम्झना छ । त्यसकै सिको गरेर कोभिड–१९ महामारीका समयलाई पनि मैले कविता लेख्ने मौकाका रूपमा उपयोग गरेँ र यो संग्रहको रूप दिएँ ।”
पुस्तकको ब्लर्बमा कवि श्यामलले लेखेका छन्, “...कवि रिमालका कोभिडकालीन लकडाउन र आइसोलेसनका चिन्ता हाम्रो समयका आम तर विशिष्ट चिन्ता हुन् जसलाई कवि रिमालले कवितामार्फत सम्बोधन गरेका छन् । आफ्नो समयको कुरूपतालाई रिमालले आफ्नो उद्गारमा राम्ररी घोलेका छन् ।”
कविता ‘न्यु भेरियन्ट’मा रिमालले लेखेका छन्–
तिमी जति कठोर छौ
भाइरस झन् झन् फोटोकपी गर्दै रहन्छ
र तिम्रो अभिमानलाई कस्दै जान्छ
तिम्रो घमन्ड तोड्न
जन्मिसकेको छ ‘न्यु भेरियन्ट’ रक्तबीज झैँ (पृष्ठ—३५)
यो कृतिभित्र २९ कविता समावेश छ ।
‘त्रिशूली प्रवाह’ साप्ताहिक, विदुर नुवाकोटद्वारा प्रकाशित ६४ पृष्ठको यो पुस्तकको मूल्य २२५/– रुपैयाँ राखिएको छ ।