site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतले ओलीलाई नबोलाएपछि मोदीलाई दिइयो भ्रमणको निम्तो

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी छन् । 

सोमबार नयाँदिल्लीस्थित हैदरवाद हाउसमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन् । 

“मैले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणको लागि भारतीय प्रधानमन्त्री मोदीलाई पठाउनु भएको निमन्त्रणा हस्तान्तरण गरेको छु,” मोदीसँग शिष्टाचार भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ । हामीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गर्‍यौँ । मलाई आशा छ यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ,”

Dabur Nepal
NIC Asia

भारतका विदेश सचिव विक्रम मिश्रीले गत साउन २७–२८ गतेसम्म नेपालको भ्रमण गर्दा भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो परराष्ट्रमन्त्री राणालाई हस्तान्तरण गरेका थिए । सोही निम्तो पाएपछि परराष्ट्रमन्त्री राणा आइतबार पाँचदिने भारत भ्रमणमा गएकी थिइन् ।

भारतीय विदेश सचिव नेपाल आउँदा भारतीय प्रधानमन्त्री मोदीले भने समकक्षी ओलीलाई भारत भ्रमणको निम्तो पठाएनन् । सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्दा पनि उनले नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएनन् ।

त्यसपछि परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रणा भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेकी थिइन् । “भारतीय प्रधानमन्त्रीले अनुकूल समयमा नेपालको भ्रमण गर्ने आश्वासन दिनु भएको छ,” सोमबार मोदीसँगको भेटवार्तामा सहभागी एक नेपाली प्रतिनिधिले बाह्रखरीसँग भने । 

भारतीय प्रधानमन्त्री मोदी नेपाल नआए र प्रधानमन्त्री ओली भारत नगए पनि अबको दुई सातामा ओली र मोदीबीच भेट हुने भने पक्कापक्की जस्तै छ । यो भेट जुराउने छ– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनले ।

बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्यान्डले बैंककमा आयोजना गर्दै छ । सम्मेलन यही भदौ १९ गते हुनेछ । सम्मेलनमा बिमस्टेकका सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात देशका सरकार प्रमुख तथा राष्ट्रध्यक्ष सहभागी हुनेछन् ।

बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा नेपालबाट प्रधानमन्त्री ओली र भारतबाट प्रधानमन्त्री मोदी सहभागी हुँदै छन् । आकस्मिक कुनै कारणले सम्मेलन नरोकिए भदौ १९ गते ओली र मोदीबीच बैंककमा भेट हुनेछ । यसअघि नै मोदी नेपाल आए दुई साताको अवधिमा ओली र मोदीबीच दुईपटक भेट हुनेछ । 

सेप्टेम्बर महिना मोदी विदेश भ्रमणमा निकै व्यस्त रहने उनको कार्यक्रम तालिकाले देखाउँछ । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार मोदीले भदौ ५ र ६ गते पोल्यान्डको भ्रमण गर्नेछन् । बितेको ४५ वर्षमा भारतीय प्रधानमन्त्रीले गर्न लागेको यो पहिलो पोल्यान्ड भ्रमण हो । 

पोल्यान्डबाट भारतीय प्रधानमन्त्री मोदी सिधैँ युक्रेन जाने कार्यक्रम छ । भदौ ७ माा मोदीले युक्रेनको भ्रमण गर्नेछन् । सन् १९९२ मा युक्रेनसँग कूटनीतिक सम्बन्ध जोडेपछि भारतीय प्रधानमन्त्रीले गर्न लागेको यो पहिलो युक्रेन भ्रमण हो । 

आगामी असोजको १५ गतेभित्र भारतीय प्रधानमन्त्री मोदीले सिंगापुर र अमेरिकाको पनि भ्रमण गर्ने कार्यक्रम छ । मोदी अमेरिकाको न्युयोर्कमा असोज दोस्रो साता हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन जानेछन् । 

नेपालका प्रधानमन्त्री ओली पनि राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तय भैसकेको छ । 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा असोज दोस्रो साता ओली र मोदीबीच भेट हुनेछ । अबको करिब डेढ महिनामा ओली र मोदीबीच दुईपटक भेट हुने पक्कापक्की जस्तै भएको छ । यदि मोदी नेपाल भ्रमण आए वा ओली भारतमा गए भने अबको डेढ महिनामा उनीहरूबीच तीनपटक भेट हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro