site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लघुकथा दिवस प्रारम्भ : स्तरीयताप्रति चिन्ता

काठमाडौं । लघुकथा समाज नेपाल, काठमाडौंले १७औँ लघुकथा दिवसको थालनी विशेष अन्तर्क्रियात्मक कार्यक्रमका साथ गरेको छ । हरेक वर्ष भदौ ५ गतेलाई समाजले लघुकथा दिवसका रूपमा मनाउँदै आएको छ ।

मंगलबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा समाजका सल्लाहकारहरू साहित्यकार अशेष मल्ल, समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम तथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथाको लेखन प्रवृत्तिमाथि आफ्ना विचार राखे । तीनैजना सर्जकले लघुकथाको स्तरीयताप्रति चिन्ता व्यक्त गरे ।

साहित्यकार तथा नाट्यकर्मी अशेष मल्लले लेखनको संख्यात्मक दृष्टिकोणले हेर्दा लघुकथाको क्षेत्र निकै उर्बर देखिए पनि, लेखकले राम्रो र स्तरीय लघुकथा लेख्नुभन्दा भटाभट लेखेर किताब छापिहाल्ने हतारमा रहेको टिप्पणी गरे । उनले भने, “किताब छाप्ने हतार गर्नुभन्दा राम्राराम्रा लघुकथा लेखेर त्यसमा पनि छनोट गरेर केही पछि मात्रै किताब प्रकाशन गर्दा राम्रो हुन्छ । त्यसले परिणाम राम्रो दिन्छ ।”

समालोचक तथा साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमले आजको समयमा लघुकथा लेखकहरू सचेत हुनुपर्नेमा जोड दिए । उनले लघुकथा लेखेर चर्चित हुनुभन्दा राम्रो सिर्जना गरेर प्रतिष्ठित हुने कुरा सर्जकले सोच्नु पर्ने बताए । उनले भने, “चर्चाको आयु फेसबुक जत्तिकै हुन्छ, २४ घण्टा । अर्को स्टाटस पोस्ट गर्नासाथ अघिल्लो हराउँछ ।”

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथाको कमजोरी भनेको सामाजिक सञ्जाल भएको उल्लेख गरे । उनले भने, “सामाजिक सञ्जालकै कारण लघुकथाको ‘ल’ पनि नबुझ्नेहरू लघुकथाकार भएका छन् । यसले लघुकथालाई कमजोर बनाउँदै लगेको छ ।”

समाजका अध्यक्ष तथा भाषा आयोगका सदस्य साहित्यकार गोपाल अश्कले लघुकथा समाजले आउँदा दिनमा लघुकथाको उन्नयनका लागि केही स्मरणीय कामहरू गर्ने जानकारी गराए ।

नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले समाजले गरेको यो अन्तर्क्रियात्मक कार्यक्रम प्रभावकारी भएको बताए ।

कार्यक्रममा प्रदीप सापकोटा, तारा केसी, शुष्मा चित्रकार, रामकुमार पण्डित, सिन्धु गौतम र सुमन सौरभले आआफ्ना लघुकथा वाचन गरे । समाजले भदौ ५ गते सर्वनाम नाट्यघरमा विशेष कार्यक्रम आयोजना गरी लघुकथाका सर्जकहरूलाई सम्मानित गर्दै छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro