site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गोसाइँकुण्डमा पहिलोपटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याइएको छ । बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ । 

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए । 

रसुवाको सदरमुकामबाट गोसाइँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २०० वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मर लगायतका उपकरणहरू मानिस र खच्चडले ढुवानी गरिएको थियो । 

गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभीएको ट्रान्सफर्मर राखिने छ । वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गुसाइकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले बताए ।

भट्टराईले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०÷५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro