site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
के गरूँ कसो गरूँ !

विशाल भीडमा पनि मानिस आफूलाई एक्लो देख्छ । एक्लो सोच्छ । वास्तवमा एक्लै पनि हुन्छ ।

यस्ता शब्द आख्यानमा वा कवितामा वा सिनेमामा सुहाउँछ, यथार्थमा होइन । कतिले भन्छन् पनि । परन्तु, वैशाख २५ गते साँझ साढे आठ बजेको समय र त्यो भीडमा हामी आफूलाई नितान्त एक्लो महसुस गरिरहेका थियौँ । हामी अर्थात् म र मेरी पत्नी सिशम ।

साँझ सवा आठ बजिसकेको थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाडीबाट ओर्लिंदा । मेरा मित्र, घरपट्टी मधु चापागाईंले एयरपोर्टसम्म पुर्‍याइदिए । साथै बस्ने शशी भाइ पनि थिए । उनले ओर्लिएर ट्रली ल्याइदिए ।

Dabur Nepal

रात परिसकेकाले मधुजी र शशी घर फर्किए ।

विमानस्थलको त्यो भीडमा ट्रलीमा सामान लोड गरेर हामी केही बेर उभियौँ । सायद मनमा केही लोभ थियो, हामीलाई बिदाइको हात हल्लाउन कोही आइहाल्छ कि भन्ने ।

विमानस्थलको यही ठाउँ हो, जहाँ हामीले धेरैलाई बिदा गरेका थियौँ । धेरैलाई स्वागत गरेका थियौँ । आज हामी पनि समुद्रपारिको महादेश अस्ट्रेलिया जाँदै थियौँ । तर, हामीलाई बिदा गर्न, बिदाइ तस्बिर खिच्न हौस्याउने र फोनको क्यामेरा तेर्स्याउने कोही छैन !

सिधै भित्र पसे हुन्थ्यो । तथापि, हामी केही क्षण त्यही भीडमा अल्झिरह्यौँ । खै किन हो, थाहा छैन !

सिशमलाई आडमा उभ्याएर एकदुइटा सेल्फी लिएँ । ‘हामी हिँड्यौँ है समुद्रपारि’ भनेर सामाजिक सञ्जालमा पोस्ट गर्नै पनि तस्बिर खिच्न जरुरी थियो ।

त्रिभुवन विमानस्थलमा भीड त थियो, तर दिउँसोको समयमा हुनेजस्तो थिएन । यसलाई छिचोल्नै नसकिने भीड हैन, खुला भीड भनिदिँदा फरक पर्दैन ।

ट्रली सार्दै अगाडि बढेँ । कसैले ‘ए राजेश’ भनिहाल्छ कि भन्ने लालसा सायद मनमा थियो । त्यसैले एकफेर फर्केर पनि हेरेँ । त्यो भीडमा मैले चिनेको अनुहार एउटै थिएन ।

बोर्डिङ पास, सुरक्षा जाँच, अध्यागमनमा मुलुक छोड्ने अनुमति छापलगायत कामको मैझारोपछि तोकिएको ढोकाछेउ पुगेर हामी दुवैले कुनाको कुर्सी समायौँ । भर्खर दश बजेको थियो । यस हिसाबले जहाज उड्न अझै एक घण्टा बीस मिनेट बाँकी थियो ।

सिशमलाई कुर्सीमै छाडेर म केही बेर सिसबाहिर हेर्नतिर लागेँ । मलाई सम्झना भयो, ३०/३५ वर्षअघिको एउटा प्रसंग ।

मामा विदेश गइरहनुहुन्थ्यो । उहाँ जानुहुँदा एकदुईचोटि एयरपोर्टसम्म आएको र माथिसम्मै उक्लिएर मामाले प्लेन चढेकोसम्म हेर्न भ्याएको थिएँ । विमानस्थलकै पसलमा कफी खाएको थिएँ ।

अचेल त छोड्न आउनेलाई भित्र छिर्ने अनुमति छैन । (त्यस्तै अप्ठ्यारो परिस्थितिमा मात्र होला ।) र, म सधैँ बाहिरैबाट फर्किएको छु ।

हामीलाई हङकङ हुँदै सिड्नीसम्म लिएर जाने क्याथे प्यासिफिकको ठूलो जहाज एउटा छेउ खडा देखेँ । जहाजको आकारप्रकारले मनमा अनौठो प्रतिक्रिया दियो, यति ठूलो जहाज त म अहिलेसम्म चढेकै छैन ।

एउटा सानो बोतल पानी किनेर फेरि आएर कुर्सीमै थच्चिएँ । धेरै बेर किन उभिरहनु ! तोकिएको ढोकामा बोलाउने समय भएकै थिएन ।

बसिरहँदा फेरि सम्झिएँ, ‘ए हैन हौ, नेपालगन्जदेखि काठमाडौंसम्म त कस्मिक एयरको फोकर जेट त एकफेर चढेको हो नि !’ यो सम्झनामा मेरो ओठ फिस्स हाँस्यो । सिशमले सायद चाल पाइनन् ।

त्यतिखेरै अमेरिकाबाट भाइ कमल पराजुलीको म्यासेन्जरमा भिडियो कल आयो, ‘दाजु, प्लेन चढ्ने बेला भयो ?’

खुसी लाग्यो, बाहिर कोही नभेटिए पनि भित्र मोबाइलमै भए पनि कमल भेटियो । केही बेरको भलाकुसारीपछि म्यासेन्जर अफ गरेँ । अनि, बुढाबुढीको गन्थनमै समय कट्न थाल्यो ।

बीचको सिट परेछ । चारजना बस्न मिल्ने यो सिट रहेछ । दाहिनेतिरको दुई सिटमा हामी बस्यौँ । छेउमा झ्यालतिरका दुइटा सिट दिएको भए बुढाबुढी अँध्यारोमा भए पनि हेर्दै उड्ने थियौँ भन्ने सोचेँ । सोच्नु मात्रै त हो । त्यसैले सोच्दै बीचमा थन्किएँ !

करिब २५० यात्रु अट्ने त्यो जहाज भरिभराउ थियो । हङकङलाई ट्रान्जिट बनाएर कोही अस्ट्रेलिया जाँदै थिए, कोही जापान, कोही अरू कुनै देश ।

अब त सिशमसँगै कुरा गर्न पनि गाह्रो भयो । अरूलाई डिस्टर्ब होला कि ! मनले यसो पनि सोच्दो रहेछ । तर, कुरा त गर्नैपर्‍यो ।

हवाईजहाज केही ढिला गरी उड्यो । विदेशका लागि पहिलोपटक उडिरहेको थिएँ । त्यसैले अनेक उहापोह थियो मनमा । के होला, कसो होला ! जे होस्, जहाज उडिसकेको छ र करिब पाँच घण्टामा हङकङ पनि पुगिन्छ । यही सोचेँ ।

जहाज उडेको केही बेर निकै हल्लियो । सानो जहाज भए त सात्तो जान्थ्यो होला । यहाँ जहाजजस्तै मन पनि दह्रो भएको थियो ।

निकै समयपछि मात्रै खाना खुवाउने तारतम्यमा हवाई क्रु लागे । सबैभन्दा पहिले त शाकाहारीलाई खाना सर्भ गरिने रहेछ । अरू उँघिरहेका थिए, हाम्रा अघिल्तिर खानाको प्याकेट आइसकेको थियो ।

जहाजमा मांसाहारीभन्दा शाकाहारी खाना मिठो हुन्छ भन्ने सुनेकाले छोरीहरूले टिकटमा ‘भेजिटेरियन मिल’ उल्लेख गरिदिएका थिए । त्यसैले हामीलाई चाँडै खाना सर्भ गरिएको रहेछ ।

रातको एक बजे के खाना रुच्थ्यो ! त्यसमाथि हामी घरबाटै चाम्रे खाएर हिँडेका थियौँ । त्यसैले खाना थोरथोरै मात्र खायौँ ।

झ्यालतिरको सिट नभएकाले निदाउनुबाहेक अरू उपाय थिएन । तर, निद्रा कोसौँ टाढा थियो । त्यसैले अघिल्लो सिटको पछिल्लो भागमा जोडिएको स्क्रिनमा सिनेमा हेर्ने प्रयास गरेँ । सिनेमासम्म पुग्न सकिनँ ।

निद्रा नलागेकाले स्क्रिनले देखाएको हङकङ पुग्ने अनुमानित समयतिर मात्रै ध्यान दिन थालेँ । समय काट्ने मेलो यही भयो । सिशम पनि निदाउन सकिरहेकी थिइनन् ।

हङकङको विशाल हवाईअड्डामा ओर्लिँदा उज्यालो भइसकेको थियो । स्थानीय समय साढे ६ बजिसकेको रहेछ ।

अबको काम झन् कठिन थियो । नयाँ ठाउँ, नयाँ अनुहार । हामीलाई सुरक्षा जाँच गराएर तोकिएको ढोकामा पुग्नु थियो । ट्रान्जिट समय सवा तीन घण्टाको भए पनि सकेसम्म ढोकासम्म चाँडै पुगौँ भन्ने नै थियो ।

फेरि यहाँ ‘दौड हिँडाइ’ हिँड्दै नेपाली खोज्न थालेँ । एकदुईपल्ट ओहोरदोहोर गरिसकेकालाई एयरपोर्टका बारेमा धेरै थाहा हुनसक्छ । केही सहयोग मिल्न सक्छ भन्ने लागेर नै मेरा आँखाले नेपाली खोज्दै थिए । तर, कहाँ भेटिनु !

अनेक सोधखोज गर्दै सुरक्षा जाँच क्षेत्रमा पुगेर काम सकाएपछि दुई नम्बर ढोकाबाट सिड्नीका लागि जहाज उड्ने थाहा लाग्यो । अबको खोजी भनेको दुई नम्बरको गेट थियो । र, गेट खोज्दै हामी लम्किन थाल्यौँ ।

हङकङको त्यो एयरपोर्टमा ‘दौड हिँडाइ’ गर्दा पनि दुई नम्बर गेटसम्म पुग्न आधा घण्टा बढीको समय लाग्यो ।

टाढैबाट देखियो दुई नम्बरको बोर्ड । ढुक्क भएँ । घडीतिर ध्यान दिएँ, नेपाली समय देखाइरहेको थियो । त्यसैले मोबाइलमा हङकङको समय हेरेँ । करिब डेढ घण्टा बाँकी थियो, ट्रान्जिटको समय ।

ढोकानजिकै बाथरुम रहेछ । बाहिर पिउने पानीको व्यवस्था पनि । नित्यकर्म सकाएँ । फ्रेस भएँ । अनि, पानी खाँदै केही बेर आराम कुर्सीमा अडेस लगाएँ ।

उता बाथरुमबाट आउँदा सिशम दंग थिइन् । त्यही फ्लाइटबाट सिड्नी जाने तीनचारजना नेपाली महिला मित्र फेला पारिछन् । उनीसँगै म पनि दंग भएँ ।

त्यसपछि म निस्किएँ चियाकफीको खोजीमा । तर, अमेरिकी र हङकङ डलर दुइटै नभएकाले खिस्रिक्क परेर फर्किएँ । बाटो हिँड्दा अमेरिकी डलर पनि बोकेर हिँड्नुपर्ने रहेछ भन्ने लाग्यो । यतिखेर भने कुनै उपाय नै थिएन । अब जहाजमै चिया पिउने मनस्थितिका साथ जहाज उड्ने समय पर्खिएर बस्नुको विकल्प रहेन ।

सवा नौ बज्यो । ढोकामा लाइन लाग्न भनियो । हामी लाइनमा लाग्यौँ । बोर्डिङ पास र पासपोर्ट हातमै थियो । तर, ढोकामा बसेका हवाई कर्मचारीले बोर्डिङ पास हेर्दै हेरेनन् । बरु, एउटा क्यामेरा अघिल्तिर उभिन भने । म उभिएँ । उनले आफ्नो अगाडिको कम्प्युटरमा हेरे र भित्र जाने इसारा गरे । म दंग परँे । समयानुसारको परिवर्तन देख्न पाउँदा दंग पर्नु अस्वाभाविक थिएन । यसरी बोर्डिङ गरिरहँदा सबै रमाइरहेका थिए ।

करिब साढे तीन सय बढी यात्रु अट्ने यो हवाईजहाजमा भने झ्यालतिरको सिट पाइयो । मेडम झ्यालतिर बसिन् । म बीचमा बसेँ । मेरो देव्रेतिर एकजना महिला बसिन् । ती भारतीयजस्ती लाग्थिन् । हुन त मैले सोधिनँ । सोध्ने कुरो पनि भएन ।

अबको यात्रा करिब नौ घण्टा लामो थियो । नौ घण्टा त्यहीँभित्र बिताउनु थियो ।

जहाजले आकाशमार्ग समाएको आधा घण्टा–४५ मिनेटपछि केबिन क्रुले हामी ‘भेजिटेरियन मिल’ उल्लेख भएकाका लागि खाजाको प्याकेट ल्याएर दिए । छेउमै बस्ने महिलाका लागि पनि भेज खाजा ल्याइएको थियो । तिनले चाहिँदैन भनेर फर्काइन् ।

हामी दुईजना मात्रै खान थाल्यौँ । मलाई देहातको सम्झना भयो । सानोमा हामीले मात्रै खाँदै गर्दा अरूलाई जिस्क्याएर भन्थ्यौँ— हम खाई छी बिलैया टुकुर टुकुर ! ठिक त्यही अवस्था थियो यहाँ ।

केही समयपछि ट्रलीबाट विभिन्न किसिमका पेयपदार्थहरू सर्भ गर्न थालियो, खाजासँगै । यात्रुहरू कोही बियर र वाइन लिइरहेका थिए । कोही कोक र जुस ।

मलाई पनि वाइन खान मन लाग्यो । नौ घण्टाको यात्रा भएकाले एक ग्लास भए पनि वाइन पाए हुन्थ्यो– मनले भन्यो । तर, मनले सुझाएको यो कुरा मैले केबिन क्रुका अघिल्तिर राख्ने हिम्मत गर्न सकिनँ ।

हाम्रो टिकटमा त ‘भेजिटेरियन हिन्दु मिल’ लेखिएको छ । ‘भेजिटेरियनले पनि कहीँ वाइन, ह्विस्की र बियर खान्छन् र !’ क्रुले कहीँ त्यस्तो पो सोच्ने हुन् कि ! मागिहाले ‘तपाईंहरूको भागमा बियर र वाइन छैन’ भन्ने पो हुन् कि !

यही उहापोहमा निकै बेर रुमल्लिएँ म । मनले खाने मन छ भने वाइन माग भनिरहेको छ, तर माग्न सकिरहेको छैन । छटपटीमा म धेरै बेर रुमल्लिएँ । के गरूँ कसो गरूँ भइरह्यो मलाई ।

त्यसपछि जे पर्लापर्ला भन्ने लाग्यो र मैले हिम्मत गरेरै केबिन क्रुसँग एक ग्लास वाइन मागेँ । हुन त त्यहाँ चियाकफी, पानी, जुस सबै थियो । तर, मनले अह्राएझैँ मैले अरू केही मागिनँ, वाइन नै मागेँ ।

तिनले पनि सहजै ‘ओ, स्योर !’ भन्दै मेरा हातमा एक ग्लास वाइन थमाइदिए । म चकित परेँ । दंगदास भएँ । सायद मेरो अनुहारै उज्यालियो ! मेरो मनमा उम्लिरहेका अनेक उहापोह हठात् शान्त भयो । लाग्यो, ‘हैट, म पनि कस्तो ! बेकारमा दिमागलाई दुःख दिइरहेको रहेछु ।’

अबका आठ घण्टामध्येका केही घण्टा यसैले साथ दिन्छ भन्ने सोचले नै मलाई आनन्दित तुल्यायो ।

र, केही बेरपछि अर्को एक ग्लास वाइन माग्ने सोचाइका साथ विस्तारै चुस्की लिन थालेँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro