site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
स्मृतिका पानाहरूमा

सम्झना साह्रै ज्याद्रो हुन्छ । जति पन्छाए पनि फर्कीफर्की आउँछ । जति पर धकेल्दा पनि घुमीघुमी आउँछ । चालै नपाई मनमस्तिष्कलाई गिजोल्न थाल्छ । केही कुराले पनि छेकारो लाउन सकिन्न उसलाई !

एकान्त र एक्लो भयो कि सुस्तरी अभ्यन्तरमा ढकढक्याउन थालिहाल्छ । रातको निस्तब्धता गहिरिँदै जान्छ । आँखामा निद्रा हराएको हुन्छ । अनि, सम्झनाका पत्रहरू खुल्न थाल्छ । चाहेर पनि त्यसबाट ध्यान विस्थापन गर्न असमर्थ भइन्छ । अतीत सौँराउन थाल्छ स्मृतिमा ।

जीवन भन्नु नै उतारचढाव हो । भोगाइको सापेक्षतामा उम्रेका सम्झनाहरू मिठा पनि हुन्छन् र अमिला पनि । सम्झानाका चाङले मानिसको जिन्दगीमा अट्टालिका नै खडा गरेको हुन्छ । कहिले बार्दलीबाट, कहिले कौसीबाट चियाउन थाल्छ यसले । समयसारिणी हुँदैन यसको ।

Dabur Nepal
NIC Asia

अतीतको शान्त तलाउमा एकलासले ढुंगा हान्दा सम्झनाका तरंग पैदा हुन थाल्छ । लहरको बन्दै विलीन हुँदै जाने वृत्तसँगै मन डोरिन थाल्छ । यो अनुभूतिले मन भित्रभित्रै गरुंगो महसुस हुन्छ । किन हुन्छ म बुझ्दिनँ आफैँ पनि ।

यो मनोभावको अर्थ अरू कसैलाई हुँदैन, मलाईबाहेक । अरू कसैलाई यसले प्रभावमा पनि पार्दैन । तिलस्मी कथा कि राजकुमारीजस्तै चैतन्य विस्मृतिको चेतना शून्यमा पुग्छु म ।

स्मृतिका पानाहरू एकपछि अर्को पल्टिँदै जान्छ । सम्झनाहरू चियाउन थाल्छ झ्यालबाट, ढोकाबाट, बार्दलीबाट, कौसीबाट । चारैतिरबाट ।

मलाई देहातको सम्झना आउँछ । त्यहाँको उखरमाउलो गर्मी सम्झन्छु । दिनभर घामले रन्केको त्यो गाउँबस्ती सम्झन्छु । पछिल्लो समयमा देहात रन्केको मानसिकता सम्झन्छु । सद्भाव अचेत भएको सम्झन्छु ।

गर्मीको हाल सम्झँदा मरुभूमिमा पसिना बगाउँदै गरेका दाजुभाइलाई सम्झन्छु । बिजुली नभएको ठाउँमा बरफको सौँराइले नै जिउ शीतल भएको सम्झन्छु । अरू कुनै चारा नै हुन्नथ्यो ।

राति चन्द्रमाको शीतल जून टहटह लाग्दा गर्मीबाट राहत महसुस हुन्थ्यो । आमाको काखमा पल्टेर कथा सुनेको सम्झन्छु । ताडको पातको हातेपंखाले आमाले हम्किनुभएको सम्झन्छु । कुन बेला निद्रा पर्थ्यो, पत्तो हुँदैनथ्यो ।

कुनै वैभवको विनिमयले प्राप्त नहुने सुखद अनुभूतिको पराकाष्ठा थियो यो । आमाको न्यानो काखको यो प्रत्यक्षण पछि कतै पाइँदैन । यो सम्झनामा मात्र रहन जान्छ ।

अतीतका सागरको गहिराइमा सम्झनाका असंख्य मोतीहरू गडेर बसेका हुन्छन् । डुबुल्की मार्दा एउटा चम्किलो मुक्ताफल मेरो हात पर्छ । बाको सम्झनाका मोती ! म बालाई सम्झन्छु । बाको बारेमा सोच्न थाल्छु ।

हामी केटाकेटीका लागि बा भन्नु नै घर हुन्थ्यो । घरको धुरी हुन्थ्यो सबैका लागि । बा शम्बल हुन्थ्यो घरका लागि । बा विश्वास हुन्थ्यो हाम्रा लागि । बाको हात समातेर बजार घुम्न जाँदा पसलका सारा खेलौना मेरै हो लाग्थ्यो, बाको गोजीमा कति पैसा छ ज्ञान नभए पनि ।

बाका साथमा रहँदा जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास हुन्थ्यो । पत्यारको यो धरोहर बाको व्यक्तित्वमा हुन्थ्यो । बाको उपस्थिति हाम्रो लागि सुरक्षाकवच महसुस हुन्थ्यो ।

आमा र बाले गरेर नै घर घरजस्तो लाग्छ । अन्यथा, घर त रैनबसेरा मात्र हुन्छ । दुवैमध्ये एउटाको अभावमा पनि घर टुहुरो लाग्न थाल्छ । बा नभएको घरमा यो विश्वासको अभाव हुन्छ । हौसला, उन्मुक्तता संकुचित हुन्छ त्यहाँ । लघुताभासले ग्रसित रहन्छ त्यहाँको माहोल । भित्ताभरि हीनताबोध टाँसेर बसेको हुन्छ ।

जीवन दुर्वहनीय बनेको हुन्छ बोक्नुपर्नेका लागि । केटाकेटी हुँदा यो कुरा बुझ्दैनथ्यौँ । ठूलो हुँदै गएपछि बुझ्न थाल्यौँ । हेरेर बस्ने मात्र हुन्छ । कसैले केही  गरिदिन नसक्ने अवस्था हुन्छ यो । जीवन यस्तै अप्रत्यासित सम्झौता बोकेर अगाडि बढ्ने चरैवेति त रहेछ ।

बालाई सम्झिँदा उहाँले पालना गर्ने कठोर अनुशासन पनि उहाँको व्यक्तित्वको साथमै उभ्रिएर आउँछ । उहाँको मितव्ययिता, सरल तथा सादा जीवन र विचारको सबै कायल थिए । उहाँ खुला किताब नै हुनुहुन्थ्यो । जसलाई जसरी पढ्न मन लाग्यो पढ्न सक्थे । जे अर्थ लाउन चाह्यो मिल्थ्यो ।

होचो कदको भएर पनि उहाँले गरेका कामले उहाँको उँचाइलाई भ्याउन अरूलाई हम्मे नै थियो । बुझ्नेजान्ने सबैले सम्मान गर्थे । पछाडि खिसीट्युरी गर्नेहरू पनि नभएका होइनन् ।

यस्ताका शरीरको माथ्लो तला खाली हुन्थ्यो वा ईष्र्या रिसरागले लपक्कै ढाकेको रहन्थ्यो । आफू अग्लो हुन नसक्नेहरू बा उभिने जमिनमुनि खाल्टो खन्न लागिपर्थे । हीनताबोधको अभिव्यक्ति !

इमानजमानका पक्का हुनेहरू आजको समाजमा शिर ठाडो राखेर बाँच्ने वातावरण नै छैन । त्यसैले आफ्नो उत्तराद्र्धमा बाले सबैतिरबाट आफूलाई समेटेर बस्नुभयो । देखेर पनि आँखा बन्द गरी नदेखेको झैँ भएर बस्नुभयो । सुनेर पनि नसुनेको, नबुझेको झैँ बस्नुभयो । कसैसित केही अपेक्षा राख्नु भएन । आफ्नो परिधिमा दिनचर्या आनन्दसाथ बिताएर बस्नुभयो ।

एउटा विरासत उहाँले आफ्नापछाडि छोडेर जानुभयो । हामी सबै यही नामले चिनिँदै रह्यौँ गाउँघरमा, आजसम्मन् । उहाँमा कुनै कुलत वा ऐब नहुँदा पैतृक जायजेथामा केही थपथाप नै गरेर जानुभयो । घट्न दिनु भएन ।

सामाजिक परम्पराको निर्वाह गर्दै उहाँले हामीसम्म आइपुग्दा जायजेथाको हिङको पोको नै छाडेर जानुभयो । हामी पछाडिकाहरूले भने हिङ पोको पारेर छाड्नुभएको टालो समेत जोगाउन सकेनौँ, कसैको मन चिमोटिएन । बरु, नियति भनेर जिन्दगीको जुवा खेलिरहे । 

शिवरात्रिको त्यो दिन
जीवन सफरको सीमा सबैको तोकिएको हुन्छ । श्रुतिगत विश्वासले भन्छ यो । प्रारब्धले यसको वासलात तयार गरिराखेको हुन्छ । चाहेर पनि कसैले हेरफेर गर्ने हैसियत राख्दैन यसमा ।

यो सत्य हो वा असत्य म जान्दिनँ । तोकिएको समयले नेटो काटेपछि जीवनयात्रामा पूर्णविराम लाग्छ नै लाग्छ । कुनै विकल्प वा छुट हुँदैन उसको हिसाबकिताबमा । त्यसले राजा, रंक, फकिर कसैलाई विभेद गर्दैन । समयले लेखापरीक्षण गरी तयार पारेको वासलात एकदम पक्का हुन्छ । सबैका लागि । सधैँका लागि ।

म केही भ्रमित छु, के लेखूँ भनेर । कहाँबाट सुरु गरूँ भन्नेमा अलमलमा छु । पाँच दशकभन्दा बढीको सान्निध्य । असंख्य सम्झना स्मृतिपटमा चित्रपटको दृश्यजस्तै आउँछ । कुन लेखूँ, कुन छाडूँ ! असमञ्जसम हुन्छु म ।

यही सोच्दासोच्दै सम्झनाको अँध्यारो गल्लीमा पस्न पुग्छु म । पत्तै भएन ।

शिवरात्रिको दिन । भक्तजनहरू महादेवको पूजाअर्चनामा तल्लीन । अर्काथरी भक्त शिवशम्भुमा लीन, शिवबुटीको प्रसाद ग्रहण गरेर । जय शिवशम्भु भोलेनाथको उद्घोेषका साथ महादेवमा समर्पित प्रमाण दुनियाँलाई देखाइरहेका हुन्छन् ।

सबै आआफ्नै किसिमबाट महादेवलाई रिझाउने कोसिसमा देखिन्छन् । जताततै यही शब्दनाद सुनिन्छ । शिवजी कसको र कुन किसिमको भक्तिबाट प्रसन्न हुन्छन्, थाहा छैन मलाई । भक्तहरू इह र इतरलोक सपार्ने कामनामा हुन्छन् । सनातनदेखि चलिआएको परम्परा र विश्वास । आजको उपभोक्तावादी संस्कृतिको भाष्यले यसलाई पशुपतिको जात्रा सिद्राको व्यापार भन्छ ।

वि.सं. २०५७ सालको शिवरात्रि । यस्तै थियो त्यो दिनको परिवेश पनि । भक्तजन सबै उल्लसित । महादेवको पूजाआराधनामा तल्लीन । वातावरण चारैतिर मंगलमय रङमा चुर्लुम्म डुबेको हुन्छ । मंगलैमंगल प्रवाहित भइरहेको हुन्छ सबैतिर ।

कतैबाट अमंगल खबर ठोक्किन आउँछ मसँग । उनी अन्तरंग थिए मसँग । शम्भु भनि चिनिन्थे । त्यस दिन शिवशम्भुमा लीन हुन पुग्छन् उनी । यो खबर बज्रपात थियो हामी सबैका लागि ।

उनको पार्वतीले आफ्नो महादेवका लागि व्रत राखेकै थिइन् । पूजाअर्चना गरेकै थिइन् । फेरि, महादेव प्रसन्न किन नभएको !

पार्वतीको सिउँदो पुछेर, चुरा फुटाएर, सेतो लिबासमा बस्नुपर्ने गराएर गए । केही नभनेर किन गएको होला ! कसैलाई केही थाहा भएन । सबै विस्मित थिए ।

प्रारब्धले कोरेर राखेको वासलातमा समयको हिसाबकिताब सायद यही नै थियो । जीवनलाई बुझ्न नसक्दा यस्तै सम्झौता गरी चित्त बुझाउँछन् मानिसहरू ।
 
यो अमंगल खबरले मनलाई गह्रुँगो बनायो । केही गर्नै मन नलाग्ने । अघिसम्म रहेको उल्लासपूर्ण वातावरण उराठलाग्दो परिवेशमा बद्लिन पुग्छ । आकाशमाथि हुकुचिल मडारिन थाल्छ । एकनासको ‘क्यार क्यार’को कर्कश ध्वनिले वायुमण्डल नरमाइलो बन्न जान्छ ।

साँझ विरक्तिएर धुमधुम्ती बसेजस्तो लाग्छ । आकाशले छाती थिच्न खोज्याजस्तो लाग्छ । बोझले सास फेर्न पनि अप्ठ्यारो भएजस्तो लाग्छ । बुझ्नै नसकिने अनौठो छटपटीले घेराबन्दी पारेजस्तो । त्यहाँबाट उम्कन पनि नसकिने, बसिरहन मनै नमान्ने ।

जीवनलाई बुझ्न, महात्माहरूको प्रवचन सुन्न भक्तहरूको भीड लागेको हुन्छ । सत्सङमा गएर घण्टौँ लीन हुन्छन् । सरल रूपमा त्यहाँ बुझेको जीवन घर फर्की आउँदा भोग र मोक्षको जटिलतामा जस्ताको तस्तै खडा हुन्छ । भोग र मोक्ष एउटै जीवनमा किन प्राप्त नहुने ? मोक्ष पाउन इतरजीवनमै जानुपर्ने, किन ? कसले दिने यसको जवाफ !

मभित्र शून्य व्यापिन्छ । म शून्यलाई पहिल्याउन खोज्छु । तर, शून्य त निराकार पाउँछु । अनि, कुन शून्यलाई खोज्दै छु म आफैँ पनि अन्योलमा हुन्छु ।

भोलिपल्ट विराटनगर जानका लागि एयरपोर्ट पुग्छु । जहाज उडिरहेको हुन्छ । मन भने त्यहाँ पुगिसक्छ । किन हो, जहाज सुस्त गतिमा उडेको झैँ लाग्छ त्यस दिन । मन अस्थिर हुन्छ छिटो पुग्नका लागि । मनलाई लागेर मात्र कहाँ पुगिन्छ र ! भौतिक दूरी कुनै भौतिक साधनको सहायताले नै नाप्न सकिन्छ ।

तर, समय त आफ्नै गतिमा हिँड्छ । यो कसैको खटनमा हिँड्दैन । कसैका लागि न छिटो हिँड्छ न कसैका लागि रोकिन्छ । मनलाई चित्त बुझाउँछु ।

विराटनगर एयरपोर्ट नपुगुन्जेल जहाजमा चुपचाप बस्नुबाहेक अरू विकल्प थिएन । मनमा भने स्मृतिको ज्वारभाटा उर्लिरहेको थियो । आँखा चिम्लेर म त्यही लहरमा बगिरहेँ । मेरा मित्र जीवन मन्थनबाट निस्केको विष पिएर नीलकण्ठ हुन सकेनन् । अन्ततः त्यही शिवमा लीन हुन पुगे ।

जहाजले भुइँ छोएपछि यथार्थको धरातलमा फर्किएँ ।

विमानस्थलबाट निस्केर गन्तव्यमा पुगेँ, सिँचाइ डिभिजन कार्यालयपछाडि, चतरा नहरको इनटेकबाट अलि टाढा । अन्तिम दर्शनको मौका मिल्यो । अनुहार देखेपछि जिउ ढक्क फुलेर आयो । मन गह्रुँगो हुन गयो । चित्त अशान्त बन्न थाल्यो । कसैसित बोल्न मन लागेन । चुपचाप बसेँ, घाटको विधि नसकिएसम्म ।

उनी एउटा व्यक्ति मात्रै थिएनन् । मेरा मित्र पनि थिए । हामी कुनै घटनाले नजिक्याएको मित्र थिएनौँ । परिवेशले हुर्काएको मित्र थियौँ । भूगोलको दूरदराजको एउटा सानो ठाउँमा जन्मेका हामी । त्यहीँ खेलीखाई हुर्केका हामी । एउटै स्कुलमा पढ्ने दौँतरी थियौँ ।

बर्खायाममा सँगै रुझेर रमाउँथ्यौँ । बाढीको पानीमा पौडिन जान्थ्यौँ । पोखरीमा निर्वस्त्र नुहाउँथ्यौँ । एउटै परिवेशमा हुर्केका हामी, कुनै कृत्रिमता थिएन व्यवहारमा । लुकाउनुपर्ने केही थिएन हामीमाझ ।

आकाशको खुलापनजस्तै उदांग थियो । हाम्रो व्यवहारमा नाकाबन्दी हुँदैन थियो । तर पनि सामाजिक मर्यादाको सीमा रहन्थ्यो नै । यसलाई कसरी बुझ्ने ! यो बुझ्नेहरूले सोच्ने कुरा हो ।

चिता दनदनी बलिरहेको हुन्छ । मेरो चारैतिर इन्द्रियले छाम्न नसक्ने शून्य फैलिएको छ । मनभित्र ब्रह्माण्डको शून्य व्याप्त हुन्छ । त्रासदीपूर्ण शून्य ! यसबाट निरपेक्ष कसरी बस्ने, जब हामी सारा जीवन सापेक्षतामा बाँच्छौँ !

सम्झनाका रङ पोखिन थाल्छ असरल्ल परेर । बलिरहेको आगोको लप्कामा केही खोजिरहेको हुन्छ आँखा । कुनै अमूर्त चित्रमा मर्त्य अनुहार ! केही नबोल्दा पनि सुन्छ कान । केही नगर्दा पनि देख्छ इसारा । अस्तित्व नभएर पनि हुन्छ उपस्थितिको अनुभूत । आगोको मुस्लोसँगै उठेको धुवाँमा घुलेर विलीन हुन्छ अन्तरिक्षमा । म चुपचाप छु । हुँदैन मसित बोल्न केही पनि ।

म मित्रको चिताअगाडि उभिएको छु । जीवनको कठोर सत्यको सामुन्ने एउटा निरीह मानिस ! यो कठोर सत्य अवश्यम्भावी हो । यो ज्ञान सबैलाई छ । तर पनि यसलाई आकस्मिक नै ठान्छौँ हामी ।

यो नियोजित हो भनेर भुलाइराखेको हुन्छौँ आफैँलाई । मरुभूमिमा उँटले बालुवामा टाउको लुकाएर सुरक्षित ठानेजस्तै !
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro