site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
बंगलादेश सम्झिँदै संसद्‌मा शीर्ष नेताले भने– नैतिक सीमा तोड्नेहरू टाउको उठाउन खोज्दै छन्
SkywellSkywell

काठमाडौं । सदनमा राजनीतिक दलका शीर्ष नेताहरूले लोकतन्त्रविरुद्ध सामाजिक अराजकता फैलाएर समाज भड्काउन खोजेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बुधबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकको छलफलका क्रममा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘नैतिक सीमा तोड्नेहरूले टाउको उठाएको’ निष्कर्ष सुनाए ।

बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले मुलुक छाड्नुपरेको घटनाले सचेत गराएको टिप्पणी पनि नेताहरूबाट आयो । “केही केही प्रवृत्तिहरू देखा पर्न खोजेका छन्, लोकतन्त्रका विरुद्धमा,’’ ओलीले भने ‘‘हामीले रोजेर, संघर्ष, बलिदान दिएर छानेको यस प्रणालीविरुद्ध गन्तव्य के हो भन्ने स्पष्ट नगरिकन केही प्रवृत्तिहरू कहाँ पुग्ने भन्ने थाहा छैन, के बनाउने भन्ने थाहा छैन ।’’

Dabur Nepal
NIC Asia

OLi-1723637971.jpgओलीको भनाइमा, प्रणालीभन्दा बाहिरका प्रवृत्तिहरू सामाजिक मर्यादा, सभ्यता शिष्टताका सीमा, सामाजिक, नैतिकता बन्धनलाई वास्ता नगरेर चल्ने खालका केही प्रवृत्तिहरू प्रकट भएका छन् । 

ओलीले कमीकमजोरी र उपलब्धि हासिल हुन नसकेको देखाएर लोकतन्त्रविरुद्ध जानेहरू देखिएको बताए । उनीहरूको अभिव्यक्तिप्रति सरकार सचेत रहेको उनले सुनाए । 

उनले भने, “यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? विभिन्न ढंगले समाज भड्काउन खोजेको छ । केही कमीकमजोरी होलान्, केही वाञ्छित उपलब्धि हासिल नभएका होलान् । ती विषयलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीविरुद्ध जाने खालका अभिव्यक्ति प्रकट भएको देखिन्छ ।’’

संघीय लोकतान्त्रिक गणतन्त्रका लागि धेरै जनताको रगत बगेको ओलीको भनाइ छ । उनले भने, “सरकार यस मामलामा सजग छ । हामीले लोकतन्त्रका लागि बलिदान दिएका छौँ । बलिदान, संघर्ष, त्याग ख्यालख्याल कुरा हैन, कठिन कुरा हो ।”

उनले निर्वाचित प्रधानमन्त्री अकारण जेल जानुपरेको, निर्वाचित सरकार बलजफ्ती अपदस्त गरेको दिन पनि स्मरण गरे । अधिनायकवादले जितेजस्तो देखिए पनि त्यो दीर्घकालीन नहुने र लोकतन्त्र नै दिगो हुने निचोड ओलीको छ ।

Deuba-1723637971.jpgसत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र व्यवस्था सबै दलहरू मिलेर ल्याएको स्मरण गरे । “हामीले राम्रो संविधान बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अवलम्बन गरेका छौँ । यो संविधानले समावेशितामा विषेश जोड दिएको छ,” देउवाले भने, “हामी सबै दलहरू मिलेर यो व्यवस्था ल्याएको हो । यसको सही कार्यान्वयन, संरक्षण र सुदृढीकरण गर्नु पनि हामी सबैको दायित्व हो ।” 

माओवादीका अध्यक्ष प्रचण्डले व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने संशय व्यक्त गरे । “शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने बेला व्यवस्थामा नै संकट पर्ने हो कि ? फेरि शान्ति सम्झौता हामीले गरेको सहमति धरापमा पर्ने हो कि भन्ने प्रश्न खडा भएको छ,” प्रचण्डले भने ।

उनले नैतिक मूल्य मान्यता, सभ्यताको सीमा भत्काउन खोज्नेले टाउको उठाएको भन्दै सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुपरेको घटनाप्रति संकेत गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । 

Prachandaa-1723637972.jpgदेशमा अराजकता फैलाउने एउटा प्रवृत्ति देखापरेको बताउँदै उनले भने, ‘‘सामाजिक नैतिक मूल्य मान्यता, सभ्यता, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोज्दै छ । यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दल, संघ संस्थाहरू समझदारीका साथ अघि बढ्न आवश्यक छ ।’’

छिमेकतिर, दक्षिण एसियामा राजनीतिक घटनाक्रम बढेको उल्लेख गर्दै उनले यस्ता चुनौतीको सामना गर्ने हतियार एकता नै भएको बताए । उनले भने, ‘‘सबै एक–अर्काप्रति गम्भीर हुन्, निषेधको होइन । एक–अर्कासँग हातेमालो गरेर यो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने आवश्यकता झन् बढेको छ ।”

'प्रणाली भत्काउँदाको परिणाम' 

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बंगलादेशको घटनाले घण्टी बजाएको बताए । “एउटा घण्टी बजेको छ । बंगालादेशको घटनाले सबैलाई सचेत बनाएको छ,” नेपालले भने, “तर, कुनै किसिमका तानाशाही नेपालमा चल्न सक्दैन । कुरा लोकतन्त्रको, व्यवहार प्रतिगमनको, अधिनायकवादको, दुई दलीय शासनको दिशामा जाने कुरा स्वीकार्य छैन ।”

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछानेले आशंका र खबरदारी प्रणाली भत्काउँदाको परिणाम भएको निचोड प्रस्तुत गरे । “दक्षिण एसियामा भइरहेको परिस्थितिमा जान सक्ने आशंका उत्पन भइरहेको छ । खबरदारी र आशंकाको ठाउँ विगतमा हामीले दिएका छौँ’’ लामिछानेले भने, ‘‘हामी लोकतन्त्र, संविधानप्रति प्रतिबद्ध छौँ, हाम्रो यो भेट भनेको संविधान जोगाउन हो, गठबन्धन व्यवस्था बचाउन हो, हामी त्यसैमा प्रतिबद्ध छौँ भनेर लोकतन्त्रको राग गाइरहँदा लोकतन्त्र भत्किएको प्रमाण हो ।” 

उनले प्रणालीलाई काम गर्न दिइएको छ ? भनी प्रश्न गरे ।  “लोकतन्त्रलाई जीवन पद्धति मानेका छौँ । साँच्चिकै छातीमा हात राखेर राखेर भनेर हेरौँ त, के हामीले प्रणाली (लोकतन्त्र)लाई काम गर्न दिइरहेका छौँ त ? पटक–पटक अल्झाउने काम गरेका छौँ,” लामिछानेले भने । 

Prachanda-Pa-1723637971.jpgलामिछानेले आफ्नो पार्टीको २१ सिटको उपस्थिति प्रणालीमाथिको प्रहारको उपज भएको समेत बताए । “अलाप लाउँदैमा, जपतप गर्दैमा लोकतन्त्र जोगिने होइन । यसका लागि ठूलो प्रतिबद्धता चाहिन्छ । सरकारबाट प्रणाली नभत्काउने ऐक्यबद्धता चाहिन्छ,” लामिछानले भने । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बंगलादेशको घटनाले ठिक ढंगले काम नगर्दा के हुन्छ भन्ने परिणाम देखाएको बताए । उनी भन्छन्, “संसद्‌मा प्राप्त गरेको गणितमात्रै सत्य हुँदैन रहेछ नि त । एकै रातमा समाप्त हुँदो रहेछ, ठिक ढंगले काम गर्न सकेनौँ, जनतालाई सम्बोधन गर्न सकेनौँ भने ।”

'दुई दलीय व्यवस्था ल्याउन लागेको हो ?'

प्रतिपक्षी माओवादी र एकीकृत समाजवादीले दुई दलीय व्यवस्था ल्याउन लागेको हो भनी सोधेका छन् । माओवादीका अध्यक्ष प्रचण्डको प्रश्न थियो, ‘‘दुई दलीय बनाउने कोसिस भइरहेको त होइन ?’’

“पछिल्ला राजनीतिक गतिविधिहरूले त्यसमा शंका उत्पन्न भएको छ । सुशासनको गति रोकिने त होइन भन्ने प्रश्न खडा भएको छ । सुशासनको गति रोक्ने प्रयास भइरहेको छ । बहुदलीय प्रतिस्पर्धाको ठाउँमा दुई दलीय बनाउने कोसिस हुने त होइन भन्ने प्रश्न खडा भएको छ,” प्रचण्डले भने ।

प्रधानमन्त्री ओलीले 'त्यो होइन, बहुदलीय नै भएको' बताएको उल्लेख गर्दै प्रचण्डले भने, ‘‘त्यही नै सावित होस् । उहाँले हुन्छ भने हुन्न र हुन्न भनेपछि हुन्छ भने बुझ्नुपर्ने भएपछि आशंका भएको छ ।”

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष नेपालले दुई दलीय शासन व्यवस्था ल्याउन नदिने चेतावनी दिए । उनले दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउने बताए ।

“दुई दलीय शासन ल्याउन खोजिएको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन, हामी आउन दिदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ,” उनले भने, ‘‘दुई दलबीच रातारात सहमति किन ?’’

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro