काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीलाई जनताबाट अलगथलग पारेर नेतृत्वले तलैदेखि परिवारवाद लादेको आरोप लगाएका छन् । स्थायी कमिटी बैठकमा उनले पेस गरेको प्रस्तावमा नेतृत्वका कमीकमजोरीमाथि छलफल गर्नुको साटो त्यसलाई टार्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइएको उल्लेख छ ।
“पार्टीलाई आमजनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,” उनले भनेका छन्, “पार्टीभित्र मुद्दाविशेषमा कमी–कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो ।”
पार्टी विधि र पद्धतिमा चलाऔँ भनेर बहस गर्न समेत डराउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरेका छन् । त्यस्ता प्रयासलाई दुरुत्साहन गर्न राज्यशक्तिको समेत प्रयोग गरिएको उनले आरोप लगाएका छन् ।
“विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो,” जनार्दनले लेखेका छन्, “पार्टी सञ्चालनको मूल्य–मान्यता, विधि, पद्धतिको धज्जी उडाइएका कारण न प्रणालीको स्थापना भयो न संगठनको स्वरूप र कमिटीहरू कति बेला के बन्छ भन्ने कुरा अन्योलग्रस्त रह्यो ।”
नेतृत्वको शैलीले पार्टीसँग नजिकिएका सबै वर्ग टाढिएको पनि उनले उल्लेख गरेका छन् । “माओवादी संघर्ष नयाँ आन्दोलनको रूपमा विकसित भएको थियो । यो आन्दोलन महिला, जनजाति, दलित, सीमान्तकृत, मधेसी, उत्पीडित वर्ग र समुदायको साझा आन्दोलन हुन पुगेको थियो,” उपमहासचिव जनार्दनले भनेका छन्, “आन्दोलनबाट राष्ट्रिय सहमतिमा ओर्लंदा त्यसमा सहभागी समूह र शक्तिलाई पार्टीमा कसरी संगठित र रूपान्तरित गर्ने भन्ने एक अहं प्रश्न थियो । त्यसका लागि सोच, योजनालगायत युद्धकालीन कमान्ड प्रणालीबाट लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रूपान्तरण आवश्यक थियो ।”
त्यस्तो आवश्यकता नेतृत्वले नबुझदा संगठनात्मक संरचना र प्रणाली युद्धकालीन सोचमै सञ्चालन भएको र परिणाम माओवादी शून्यउन्मुख रहेको उनले औँल्याएका छन् ।
“माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाति, दलित, सीमान्तकृत, मधेसी, उत्पीडित वर्ग र समुदायहरू विस्तारै आन्दोलनबाट अलग हुँदै गए,” उनले लेखेका छन्, “छरपष्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन ।”
उनले पार्टीभिको संघर्ष नेतृत्वलाई अस्वीकार्य हुँदा कम्युनिस्ट भावनामा बहस र छलफलको वातावरण समेत कमजोर भएको बताएका छन् । “पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गयो,” उनले भनेका छन्, “फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गयो । कम्युनिस्ट स्प्रिटअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुग्यो ।”
उनले संघर्षबाट शान्तिमा आएको माओवादी जनता र देशसँग जोडिएका लक्ष्यबाट व्यक्तिगत स्वार्थमा गएर टुंगिन लागेको समेत बताएका छन् । “संघर्षबाट शान्तिमा आएको माओवादी लक्ष्यविहीन र एजेन्डाविहीन हुँदै समाज रूपान्तरणको अभियानबाट विस्तारै आफ्नो निजी स्वार्थ र सुविधाउन्मुख भयो,” उनले भनेका छन्, “एकथरी नेता–कार्यकर्ताहरू पद र सुविधा तथा अर्कोथरी अभाव र पीडामा भौँतारिने वातावरण निर्माण भयो ।”
कार्यकर्ता कामविहीन भएका र उनीहरूलाई क्रियाशील बनाउने योजना समेत नेतृत्वसँग बाँकी नरहेको उनले उल्लेख गरेका छन् ।