काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी नेतृत्वले परिवर्तन केका निम्ति भनेर औचित्य स्थापित गर्न नसकेको आरोप लगाएका छन् । यही साउन २५ गतेदेखि जारी स्थायी कमिटी बैठकमा उनले नेतृत्वको असफलताले माओवादी ‘जनयुद्ध’को संघर्ष, बलिदान र त्याग केका निम्ति भन्ने प्रश्न उठाइएको बताएका छन् ।
“त्याग र बलिदान, पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धिहरू आखिर केका लागि भन्ने प्रश्न उठ्यो । माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो,” जनार्दनले प्रतिवेदनमा भनेका छन्, “आज हामीसँग संविधानका अलावा न जनाधार छ न संगठन छ । केही सीमित उपलब्धिबाहेक न कुनै देखाउन लायक कामहरू छन् न हाम्रो कुनै मौलिक विकासको मोडेल छ ।”
माओवादीका एजेन्डा खोसिँदै जाँदा माया गर्ने वर्ग, जाति, समुदाय पनि आफूहरूबाट टाढिएको र पार्टी शून्यतर्फ उन्मुख रहेको उनले उल्लेख गरेका छन् । “२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शून्यतर्फ उन्मुख छौँ,” उनले प्रतिवेदनमा लेखेका छन्, “पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ । र, त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौँ ।”
हाल पार्टीमा जो जति आबद्ध छन्, ती सबैले असन्तुष्टि साँचेको पनि उनले उल्लेख गरेका छन् । त्यस्तो अवस्थाको जिम्मेवारी लिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आनाकानी गरिरहेको उनको भनाइ छ ।
“यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौँ ? हाम्रो पार्टी साँघुरिँदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर हो,” उनले भनेका छन्, “शान्ति प्रक्रियामा आएयता हाम्रो तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरू सही नभएको, हाम्रो बसाइउठाइ, रहनसहन राजा–महाराजाको जस्तो भएको जनताले मन पराएनन् ।”
माओवादीलाई अँगालो हाल्न चाहनेले त्यो अवसर नपाउँदा पार्टी जनताबाट टाढिएको उनले औँल्याएका छन् । “न हामीलाई अँगालो हाल्न चाहने आफ्नै वर्गले त्यो गर्न सक्ने अवस्था छ न सुमसुम्याउन चाहनेहरूले त्यो अवसर पाउने स्थिति छ,” जनार्दनले प्रचण्डको दैनिकीबारे भनेका छन्, “सीमित मान्छेको घेरामा टाढैबाट दर्शनभेट हुने वातावरणमै हामी रमाउन थाल्यौँ । के हामी यो अवस्थाको अन्त्य गरी पूरै जनतामा जान सक्ने वातावरण बनाउन सकौँला ? हामीले जनताका लागि उठाएका मुद्दा र नाराहरूलाई पुनः जनताको विश्वास जागृत हुने गरी उठाउन र पूरा गर्न संघर्ष गर्न सकौँला ?”
माओवादीले कार्यकर्ताले आफ्नो नेतृत्व आफैँ निर्माण गर्ने विधि र व्यवहार लागु गर्न नसकेको, पार्टीलाई आदेशमा मात्र चल्ने संस्था बनाएर स्वचालित हुन नसक्ने बनाएको र अरू पार्टी र माओवादीमा फरक देखिने अवस्था बाँकी नरहेको पनि उनले उल्लेख गरेका छन् ।