site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भयो : कुलमान घिसिङ 
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले विद्युत् आपूर्तिभन्दा निर्यात बढी गरेको दाबी गरेका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको जानकारी दिए ।

“जसले गर्दा आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ,” घिसिङले भने ।

यो नेपालको जलविद्युत् विकासका लागि कोसेढुंगा र महत्त्वपूर्ण प्रस्थानविन्दु भएको उनले बताए । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको उनले जनाए ।

“विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिकरूपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट सुरु गरेको थियो ।  निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ,” कार्यकारी निर्देशक घिसिङले भने ।

वर्षायाममा दैनिक ७०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको जानकारी उनले दिए । सुख्खायाममा नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो  भएको उनले सुनाए । यसकारण गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको तथ्यांक उनले प्रस्तुत गरे ।

“नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बंगलादेश पनि निर्यात हुँदै छ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ । बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौँ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro