उदीयमान प्रतिभा हुन्, अनिता कोइराला । उनी ‘डिग्रीवाली गृहिणी’ शीर्षकको निबन्धमार्पmत मेरा आँखामा परिन् । लेख पढेपछि म आफैँले उनको खोजी गरेँ ।
उनको लेखन र पठनको तीव्रता देखेपछि उनको संगत खोजेँ । बेलाबखत फोनमा कुरा हुन थाले । उनी निर्विकार र प्रत्येक विषयलाई सकारात्मक निचोड दिएर बोल्ने स्वभावकी पाएँ । कपटरहित । स्वार्थरहित ।
उनको त्यो व्यवहारले मलाई अझै निकट बनायो । मलाई मात्रै होइन, साहित्यिकवृत्तमा अनिता कोइरालालाई माया गर्नेको संख्या ह्वात्तै बढ्यो । तिनै फलोअर र फ्यानहरूले हौसला थपेकै समयमा अनिताले ‘उज्यालो औँसी’ लेखिन् ।
अर्थात्, औँसीभित्र पनि उज्यालो नै देखिन् र हामी पाठकहरूलाई औँसीभित्रको उज्यालो हेरिदिन मिठो आग्रह गरिन् ।
पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा कविता, निबन्ध, समीक्षा र नियात्रा प्रकाशन गरेर पाठकमाझ स्थापित लेखिका भइसकेकी अनिताको पहिलो कृति ‘उज्यालो औँसी’ पनि पाठकप्रिय रह्यो ।
कृतिको विमोचनपछि दैनिक रूपमा कुनै न कुनै पाठकले केही न केही लेखिरहेकै छन् र अनितालाई अरूअरू कृति लेख्नका लागि हौस्याइरहेकै छन् । यो उनैको मिहिनेत र साधनाको प्रतिफल हो । उनैले आर्जन गरेको सम्पत्ति हो ।
नेपालको राजनीति र आर्थिक विकासका हिसाबले मूल्यांकन गर्नेहरूले प्रयोगमा ल्याउने एउटा उखान छ, सतीले सरापेको देश । नेपालले सत्ता र शक्तिको खिचातानी हेतु अनेकौँ युद्धहरू भोग्यो ।
राजनीतिले अनेकौँपल्ट अपराधीकरणको बाटो लियो । अपराधीकरणले राजनीतिको खोल ओढ्यो । व्यक्तिहत्या, जातीय र वर्गीय द्वन्द्वका बुई चढ्दै सत्ताको पहुँचसम्म पुग्यो । मारिनेहरू गुमनाम मरे । मरिरहे । आजपर्यन्त मरिरहेकै छन् ।
राजनैतिक परिवर्तनका नाममा गरिएको व्यक्तिहत्याको एउटा गहन कथा हो, ‘उज्यालो औँसी’ । अनिता कोइलारा आफू भ्रूणको स्वरूपमै रहँदाको अवस्थामा बाबु गुमाएकी गर्भेटुहुरी हुन् । तिनै गर्भेटुहुरीको अत्यन्त कारुणिक कथा हो, ‘उज्यालो औँसी’ ।
कृतिकार अनिता गर्भमा हुर्कंदै गर्दा राजनैतिक अपराधीकरणले उनका बाबुको निर्ममतापूर्वक हत्या ग¥यो । धरती टेक्नै नपाई बाबुको ओत खोसिएकी अनितालाई उनको समाजले जन्मँदा नै बाबुटोकुवीको बिल्ला भिरायो र उनको बालमस्तिष्कमा अपहेलनाका सिर्कना चलाइरह्यो ।
हुर्कंदै जाँदा उनको जीवनले अनेकौँ औँसीहरू झेल्यो । चरम निराशा भोग्यो । तर, ती कठिन क्षणहरूमा पनि माया दिने आमा, दिदी, घरीघरी भेटिने सेतो घोडा, बुवा र हजुरबुवाको प्रतिच्छायाले उनलाई विचलित हुनबाट जोगाए ।
अनिताको बाल्यकाल र किशोरकालका उतारचढाव विश्वचर्चित लेखिका एन फ्र्यांकको भन्दा कम रोचक छैन । एनले हिटलरकालीन बर्बरता भोगिन् । अनिताले नेपाली राजनीतिको अमानवीय उपेक्षा भोगिन् । आतंक भोगिन् ।
ती किशोरकालमै जीवन गुमाएकी एन र अँध्यारोलाई जितेर उठेकी अनिता दुवैले आफूभित्रको सम्यक उज्यालोलाई विमुख हुन दिएनन् ।
सत्यलाई कल्पनासँग र कल्पनालाई सत्यसँग समाहित गराउँदै, अतीतको एउटा अँध्यारोभित्रबाट घाम, जून र ज्ञानको सम्यक उज्यालो मिसाउँदै पाठकको हृदय स्पर्श गर्ने सामर्थ्य बोकेको कथा हो, ‘उज्यालो औँसी’ ।
उमेरभन्दा कैयौँ गुणा उतारचढाव भोगेकी डिग्रीवाली गृहिणीको कथा हो, ‘उज्यालो औँसी’ । ‘उज्यालो औँसी’ साँच्चै कौतुकमय छ । कौतुकमय यस मानेमा कि यसभित्रका कथाले कौतुकमय मोड लिइरहन्छन् र पाठकलाई सोच्तै नसोचेका आकस्मिकतासँग साक्षात्कार गराएर पटकपटक छक्क पारिरहन्छन् ।
कथा, घटना, पात्र र परिवेशले पाठकलाई पनि अनेकौँपल्ट जीवनबोध गराइरहन्छन् । मानवता, शान्ति, सद्भावनाका सागरमा डुबुल्क्याइरहन्छन् । छक्क लाग्छ, यी सानै उमेरकी लेखिकामा यो तहको जीवनबोध कसरी सम्भव भयो ?
छोरी जन्मनुलाई व्यर्थ ठान्ने नारीपात्रहरूप्रति अनिताको दयाभाव पनि साँच्चै अनुकरणीय लाग्छ । बोक्सी हुन्थ्यो नै यदि भने बोक्सी जाँच्ने मेसिन किन बनाएनन् वैज्ञानिकहरूले ? बाल्यकाल र किशोरकालमा बाउटोकुवीको आरोप खप्न अभिशप्त अनिता क्रोधमा होइन, वर्तमान समाजप्रति विनम्रतापूर्वक शालीन प्रश्न गर्छिन् ।
जन्मँदै अलच्छिना, भङ्जाही र अधबेस्रीजस्ता अपशब्दले अपहेलित भएकी अनिता हिंसा र प्रतिशोधभन्दा टाढै बस्न रुचाउँछिन् र भन्छिन्– परिवर्तन प्रेमकै मार्गबाट सम्भव हुन्छ ।
अनिता आफूभित्रको उज्यालोले अरूलाई समेत उज्याल्न चाहन्छिन् । अनिताको सम्यकतातर्पmको यात्रा साँच्चै विशेष लाग्छ ।
उनको उपन्यासभित्रको एउटा पंक्ति पढ्दा पाठकलाई दोहो¥याएर पढ्न र पढेर धेरैपल्ट सोच्न बाध्य पार्छ । सूर्यमा ग्रहण लाग्दा केही बेरका लागि सूर्यको उज्यालो छोपिएको न हो । सूर्य आफैँ अँध्यारो भएको त कहाँ हो र ?
औँसीलाई पनि उज्यालो देख्ने उनको तर्क स्वयम् नै प्रेरणादायी छ । उनी आफ्नै बाबुको हत्या गर्ने शत्रुहरूलाई पनि माया गर्छिन् । यो उनको अनुकरणीय विशेषता हो ।
मैले ‘उज्यालो औँसी’का सन्दर्भमा अहिलेलाई यत्ति नै भनेँ । यो कृति पढ्नुभयो भने तपाईंहरूको हृदयमा पनि आस्थाको उज्यालो पक्कै बल्नेछ । तपाईंहरूलाई पनि यसको मूल्य र पठनको समय खेर गएको आभास हुने छैन ।
मलाई त ‘उज्यालो औँसी’का रूपमा एउटी सशक्त नारी–कलम उदाएको जान्न पाएर गर्वबोध भएको छ ।