
मलाई थाहा छ
कुनै बेला
तिमीले पनि मलाई
मिल्काइदिनेछ्यौ
सेन्ट सकिएको सिसीजस्तै
कुनै बेला म आएको थिएँ
तिम्रा सारा सपना सजाएर
सेन्ट भरिएको बेला
कति ठूलो डिमान्ड थियो सिसीको
कति ठूलो थियो मूल्य
हारालुछ थियो
शिर, अनुहार र अंगअंग
सबै तँछाड मछाड गर्थे आफ्नो सर्वस्व सुम्पन
कुनै बेला
म कसैको सजावट भएको थिएँ सोकेसको
बहुमूल्य उपहार बनेको थिएँ मित्रताको
सम्बन्धको सुमधुर पुल बनेको थिएँ
प्रेमको गुलाबी फूल बनेको थिएँ
जब रित्तियो गुलाब मसँग
अहिले हतार गर्दै छ्यौ तिमी
फालिदिन मलाई फोहोरको कन्टेनरमा
रित्तिएपछि
कसले पो सुन्छ र आर्तनाद
कसले पो हेर्दो रहेछ र रूपका रेखाहरू
कसले सम्झन्छ र संघर्षको इतिहास
कुनै बेला
सारा गुलाबी यौवनका गुच्छाहरू समर्पण गरेर
सेन्टमा परिणत भएको थिएँ म तिम्रो लागि
कैयौँ मेसिनले कुटिएको थिएँ
कैयौँ मनहरूले चुटिएको थिएँ
मागका सारा हात र मनहरू पन्छाएर
तिमीलाई खुसी बनाउन
भित्रेको थिएँ
तिम्रै सोकेसमा
तिम्रा सारा दुर्गन्ध हटाएर
सुगन्धित रबाफ चढाएको थिएँ तिम्रा पाइलापाइलामा
रित्तो पारेर बाटाको छेउमा
फाल्नेबित्तिकै
लत्याउँदै विपरीत हिँड्यौ तिमी आफ्नै गन्तव्यमा
मसँग भने
तिमीलाई सम्झेर रुने
आँसुको एक थोपा पनि बाँकी छैन
जिन्दगीभरि अरूमा सुवास छरेर बाँचेँ
अहिले फालिनुपरेको छ दुर्गन्धको माझमा
फेर्नेहरू
रित्तो बोतल फालेर
पुगेका छन्
भरिएको सेन्टको बोतल किन्न बजारमा ।