site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउन काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताए । उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको उल्लेख गरे ।

Argakhachi Cement Island Ad

साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्त्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पारे । यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने प्रतिबद्धता जनाए ।

उनले भने, "यो सरकार निजी क्षेत्रको आत्मविश्वास, मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको छ । हामी आइसकेपछि उत्पादनको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? व्यवसायीका समस्याहरू के छन् ? तिनलाई हामीले एकपछि अर्को जानकारी लिने, छलफल गर्ने काम गरिरहेका छौँ ।"

उनले घरेलु तथा साना उद्योग व्यवसायीहरूले ऐन, कानुनमा सुधार गर्न चाहेको बुँदाहरूको सम्बन्धमा लिखित रूपमा सुझाव दिन पनि आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्