site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दीपक खड्का र कुर्मीलाई मन्त्री बनाइएकामा महामन्त्री शर्माको आपत्ति

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धनले सरकार बनाउँदा स्वार्थ बाझिने र मन्त्री बन्नै नहुने मान्छेलाई जिम्मेवारी सुम्पिइएको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले केन्द्रमा दीपक खड्कालाई स्वार्थ बाझिने मन्त्रालय र लुम्बिनी प्रदेशमा बादशाह कुर्मीलाई मन्त्री बनाइनु गलत भएको उल्लेख गरे ।

“एकजना मन्त्रीको द्वन्द्वको स्वार्थ जोडिएको छ, फरक मन्त्रालय हुन सक्थ्यो, हामीले हेक्का राख्नुपर्दथ्यो । एउटा सामाजिक संस्थाको कुरा छ, त्यसलाई क्लियर गर्नुपर्छ‚” उनले भने‚ “लुम्बिनीमा संघीयताको हेक्का राख्न नसकेको दुष्परिणाम आउन सक्छ । अनुसन्धानको प्रश्न थियो, उहाँ मन्त्री बनाइनुभयो । मन्त्री नबनाइनुपर्ने मान्छे मन्त्री बनाइयो । वस्तुगत तथ्य राख्नुपर्छ ।”

‘फाइल लुकाउन’ वर्तमान गठबन्धन बनाइएको आरोप लगाउने गरिएको भन्दै उनले काम गरेर देखाउनुपर्नेमा जोड दिए । विशेष गरी गिरिबन्धु टी–इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको फाइलका कारण वर्तमान गठबन्धन बनाइएको भन्ने रास्वपाको आरोपमा उनले भने‚ “फाइल दबाउन गठबन्धन बनाएको भन्ने आरोप गठबन्धलाई छ, यसको जवाफ सरकारले काम गरेर दिनुपर्छ ।”

महामन्त्री शर्माले गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै मोलाहिजाबेगर इमानको अनुसन्धान सुरु गर्नुपर्ने माग गरे । ७० बिघा गिरिबन्धुमा खान खोज्ने कांग्रेस को रहेछ त्यसको पनि खोजी गरेर कारबाही गर्नुपर्ने उनले बताए । कांग्रेस प्रतिपक्षमा हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आरोप लगाएका थिए ।

“गिरिबन्धुको ७० बिघा कांग्रेसले बेचेर खाएको आरोप लागेको थियो । कांग्रेसको को व्यक्ति हो, तिनले छुट पाउनु हुन्न, छानबिन होस् । नक्कली भुटानी शरणार्थीको पनि छानबिन होस्, निष्कर्षमा पुर्‍याउनुपर्छ‚” शर्माले भने ।

नेकपा (एमाले)सँग सात बुँदामा सहमति भएको भन्दै उनले त्यसबाहेक फरक मत र विमति रहन सक्ने उल्लेख गरे । उनले ती सात बुँदा अक्षरशः पालना भए गठबन्धन सफल हुने बताए ।

संविधान संशोधन गर्न दुईतिहाइ मत चाहिने र राष्ट्रियसभाको छुट्टै अंकगणित हुने भन्दै उनले विपक्षीको आवाज पनि गठबन्धनले खुला हृदयले स्वीकार गर्नुपर्नेमा जोड दिए ।

हवाई र बस दुर्घटनाको शोकमा समेत विभेद गरिएको भन्दै उनले ध्यानाकर्षण गराए । “राष्ट्रिय झन्डा आधा झुकायौँ, दुर्घटना र मृत्यु दुःखद हुन्छन् । त्रिशूलीमा बस खस्यो, आधा न कुनै शोकको घोषणा भएन । राज्यले गर्ने व्यवहारमा एकरूपता कायम होस्‚” उनले भने ।

पोखरा र भैरहवाको एयरपोर्ट ऋणमुक्त गराएर नाफामा लैजान र बूढीगण्डकी परियोजनामा लगानी मोडल निर्क्योल गरेर काम थाल्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro