वि.सं. २०७३ सालमा मेरो नियुक्ति श्री नं २४ बाहिनी अड्डा जुम्लामा बाहिनीपतिको रूपमा भएदेखि नै कैलाश मानसरोवरको यात्रा गर्ने हुटहुटी असाध्यै बढेर गयो ।
हिल्सा, सिमकोट हुँदै मानसरोवरबाट फर्केका तीर्थयात्रीहरूले दर्शन गरेपछिको आत्मसन्तुष्टिको वर्णन र वर्षैपिच्छे फर्कने क्रममा केही तीर्थयात्रीहरूलाई हिल्सा तथा सिमकोट आसपासबाट उद्धार गर्ने कार्यमा स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रत्यक्ष/अप्रत्यक्ष संलग्न हुनुपर्ने नै यसको प्रमुख कारण थियो ।
अझै त्यस समयमा भारतीय तीर्थयात्रीहरूले कैलाश मानसरोवरको दर्शन गर्नुअगावै आफ्ना श्रीसम्पत्ति, व्यवसाय र कारोबारका नालीबेली छोराछोरीलाई बुझाई घरव्यवहारबाट आफूलाई पूर्णरूपेण मुक्त गर्दछन् भन्ने अधिकांशको भनाइले मेरो जिज्ञासा झनै बढ्न गएको थियो ।
देश र जनताको सेवाका खातिर हरदम तयार रहनुपर्ने, त्यसमाथि दुर्गम क्षेत्रमा कार्यरत भएका कारण समयमा हाजिर हुन सक्ने/नसक्ने चिन्ताले नै कैलाश मानसरोवरको दर्शन अवकाशपछि मात्र पूरा गर्ने संकल्पका साथ यो यात्रा योजनालाई थाती राख्ने निर्णय गरेको थिएँ ।
श्रीमद् भगवद्गीतामा कुनै पनि कुराको प्राप्ति समयभन्दा अघिपछि हुँदैन भनेझैँ एक साँझ साथीभाइहरूको जमघटमा कैलाश मानसरोवर यात्राको पोयो फुक्यो । र, वार्ताको श्रीगणेश हुन गयो ।
यसको व्यवस्थापनको जिम्मा मैले लिने भएँ र तत्काल भेला भएका मन मिल्ने साथीहरूसँग सल्लाह र सुझाव लिँदै बौद्ध पूर्णिमाका दिन मानसरोवरको पवित्र जलमा स्नान गरी रुद्रीपूजा, लक्ष्यदीप, हवन र श्राद्ध गर्ने निधो गरियो । त्यसमाथि कैलाश पर्वतको दर्शन निश्चित नै थियो ।
झन्डै सात वर्षदेखिको मेरो सपना साकार हुन गइरहेको थियो । त्यसै पनि अवकाशपछिका दिनहरूमा आफू सेवामा रहँदा पुग्न सम्भव नभएका रमणीय र ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने र मनमा लागेका इच्छाहरू क्रमशः पूरा गर्दै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति थिएन ।
यात्राको नेतृत्व मैले लिएकै कारण हरसम्भव तवरबाट यसलाई पूरा गर्ने अठोटका साथ अर्को दिनदेखि नै भ्रमणसँग संलग्न रहेका सञ्चालक र संस्थासँग सम्पर्क गर्न थालेँ ।
अन्ततः हामी सबैको सामूहिक सल्लाहबाट नमस्ते होलिडेजलाई जिम्मा दिइयो, जसले केरुङ नाका हुँदै २०८१ सालको जेठ ६ गतेदेखि सञ्चालन गर्ने कैलाश मानसरोवरको दशदिने यात्रामा हामी चौधजनाको समूहलाई सहभागी गराउने भयो ।
यात्रा सरल र सहज होस् भन्ने उद्देश्यले मानसिक र शारीरिक दुवै तवरबाट तयार हुनका लागि शिवपुरी, फर्पिङ वरपरका डाँडाहरू नियमित उक्लने—ओर्लने काम पूरा गर्यौँ ।
यात्राका क्रममा आवश्यक पर्ने बुट, ज्याकेट, पन्जा, टोपी, भित्री वस्त्र, बर्सादी, थर्मस, सनस्क्रिन लोसन, टर्चलाइट र पूजाका सामाग्री जम्मा गर्यौँ । समूहमा जाने हुँदा त्यसै पनि आत्मविश्वास बढ्ने नै भयो ।
म आफैँ पनि सेनामा हुँदा माउन्टेन वारफेयर तालिम गरेको, गराएको र उत्तर अमेरिकाको अग्लो शिखर दिनाली आरोहणको अनुभवले पनि हाई अल्टिच्युडका बारेमा राम्रै जानकार थिएँ । यसले गर्दा हामी सबैको हौसला उच्च हुनु स्वाभाविक थियो ।
यात्राको पहिलो दिन बिहानको ७ बजे हामी सबै आराध्यदेव श्री पशुपतिनाथ मन्दिरको परिसरमा उपस्थित भयौँ । हाम्रा लागि तोकिएका बसहरूमा आफ्ना सामान राख्यौँ । शुभसाइतमा गुरुबाट स्वस्तिवाचनको श्रवणसँगै सबैले आ–आफ्ना इष्टदेवता, कुलदेवता र सम्पूर्ण देवीदेवताहरूको स्मरण र प्रार्थना गर्यौँ ।
गुरुबाट पशुपतिनाथको प्रसाद ग्रहणपश्चात् हाम्रो यात्राको शुभारम्भ भयो । आजको यात्रा हामीले १६५ किमिको दूरी २ हजार मिटरको उँचाइमा सम्पन्न गर्नु थियो ।
बिहानको खाना त्रिशूली बजारमा खाईवरी बेत्रावती बजार र त्रिशूली नदीको किनारैकिनार स्याफ्रुबेँसी हुँदै अपराह्न ४ बजेको समयमा टिमुरे बजार पुग्यौँ । यहाँ आफ्ना सामानहरू होटेलमा राखी खाजा खाएपश्चात् केही बेर बजार घुमघाम गर्न तथा सीमाक्षेत्रतिर लाग्यौँ ।
चीनबाट आयात गरिएका विद्युतीय गाडीहरूले टिमुरे बजार र वरपरका कुनै ठाउँ खाली थिएनन् । जीर्ण अवस्थाको त्यस सडकबाट यी गाडीहरू काठमाडौंसम्म कसरी ल्याइपुर्याउँदा हुन्, उदेक समेत लाग्यो ।
सीमानजिकको हाइड्रोपावर निर्माणकै क्रममा रहेछ । जलविद्युत् उत्पादनमा त्रिशूली नदीको भूमिका ज्यादै महत्त्वपूर्ण लाग्यो । सीमासँगैको निर्माणाधीन भन्सार कार्यालयले ऐतिहासिक रसुवागढीको अतिक्रमण भएको प्रस्ट देखियो । नेपाली सेनाबाट निर्माण भएको रसुवागढीस्तम्भले केही हदसम्म भए पनि रसुवागढीको इतिहासलाई जीवन्त राख्न सफल भएको महसुस भयो ।
समयमै रसुवागढीलाई व्यवस्थित गर्न सकिएन भने यसको भौतिक अस्तित्व समाप्त हुनेछ र भावी पुस्ताले हामीलाई धिक्कार्ने छन् जस्तो लाग्यो ।
केही समयको घुमघामपछि बसेको होटेल फर्कियौँ । भोलिदेखिको हाम्रो यात्राको उँचाइ क्रमशः बढ्दै जाने हुँदा अल्टिच्युड सिकनेस नलागोस् भन्ने हेतुले खानासँगै औषधि सेवन थाल्यौँ ।
दोस्रो दिनको यात्रा बिहान ७ बजे प्रारम्भ भयो । यसअघि नै ब्रेकफास्ट खाईवरी सबैले आफ्नो–आफ्नो सामान होटेलका कोठाबाहिर राखिसकेका थियौँ । अबको यात्रा अवधिभर हाम्रा झोलाहरू गाडीबाट होटेल र होटेलबाट गाडीसम्म ल्याउने–लैजाने जिम्मा ट्राभलका कर्मचारीहरूले लिइसकेका थिए ।
ट्राभल एजेन्सीका स्टाफहरूबाटै यात्राको सम्पूर्ण प्रबन्ध मिलाइने र उनीहरू पनि हामीसँगै यात्रा गर्ने हुँदा भनेको समयमा उपस्थित हुने, समयमै खाना खाने र दिएको सल्लाह ग्रहण गर्ने हामी सबैको कर्तव्य हुन आउँथ्यो ।
सीमाद्वार बिहान ८ देखि १० बजेसम्म र बिहानको खानापछि पुनः ११ः३० देखि दिउँसो ३ बजेसम्म मात्र खुल्ने प्रावधान रहेकोले सकभर बिहानकै समयमा सीमापार गर्ने र गराउने प्रायः सबै एजेन्सीको उद्देश्य हुँदो रहेछ ।
टिमुरे बजारबाट सीमासम्मको करिब २.५ किमिको दूरी र यसबीचमा पर्ने नेपालको अध्यागमन र प्रहरीको चेकजाँचको काम सकी हामी ८ बजे सीमाद्वार पुग्यौँ ।
तिब्बतमा यात्रा गर्न अनिवार्य गाइडको आवश्यक पर्दो रहेछ । चीनतर्फको अध्यागमन व्यवस्थापन उच्चस्तरको पाइयो । त्यहाँ कार्यरत कर्मचारीहरूको कार्यशैली, चेकजाँचमा आधुनिक उपकरणहरूको प्रयोग र पार्किङस्थल साह्रै व्यवस्थित देखियो ।
अध्यागमनका सम्पूर्ण प्रक्रियाहरू पूरा गरी करिब १ घण्टा केरुङ नदीको किनारैकिनारको २४ किमि यात्रापछि २८ सय मिटरको भञ्ज्याङ पार गर्दै हामी केरुङ सहरमा प्रवेश गर्यौँ ।
चीनतर्फको अध्यागमन कार्यालय ।
ऐतिहासिक दृष्टिकोणबाट यस सहरको विशेष महत्त्व छ । सन् १७८८ को युद्धमा नेपाली सेनाले यस सहरलाई आफ्नो कब्जामा लिएको थियो । तर, सन् १९७२ मा चिनियाँ सेनाको सहयोगमा चिनियाँ तथा तिब्बती संयुक्त सेनाले पुनः यस सहरलाई आफ्नो नियन्त्रणमा लिन सफल भयो ।
सन् २०१४ देखि यस सहरलाई चीनले पोर्ट अफ इन्ट्रीको रूपमा अन्तर्राष्ट्रिय यात्रीहरूका लागि खुला गरिदिएको छ । नेपाल–चीन व्यापारका लागि पनि केरुङ एक महत्त्वपूर्ण सहरका रूपमा रहेको छ ।
यहाँ नेपाली मूलका व्यक्तिहरू पनि भेटिन्छन् । यिनीहरू नेपाल–चीन युद्धमा भाग लिएका नेपालीका सन्ततिहरू रहेको विश्वास गरिन्छ ।
केरुङ्ग स्थित भृकुटीको मन्दिर ।
केरुङको होटेलमा आफ्ना सामानहरू थन्क्याई लन्च लिएपछिको छोटो विश्रामपश्चात् यात्राका लागि केही नपुग सामानहरूको जोहो गर्न र बजारको अवलोकन गर्न हामी त्यहाँबाट निस्कियौँ । बजारकै प्रवेशविन्दुमा नेपालकी छोरी भृकुटीको प्यागोडा शैलीको मन्दिर र छेवैको खुला स्क्वायर यहाँका प्रमुख आकर्षण केन्द्रहरू हुन् । यस मन्दिरले नेपाल र भोटबीचको प्राचीन मित्रतालाई स्मरण गराउँदछ ।
बजारमा थुप्रै नेपालीका पसल र रेस्टुरेन्टहरू भेटिए, जहाँ नेपाली मुद्रामा सजिलै आर्थिक कारोबार गर्न सकिँदो रहेछ । चिल्ला र फराकिला सडकका साथै सडकमा राखिएका साइनपोस्टहरू हेर्दा केरुङ सहर पनि युरोप, अमेरिकाको सानो सहरभन्दा कुनै हिसाबले कम थिएन ।
तेस्रो दिनको यात्रा लन्चपछि १ बजे मात्र थालियो । यात्रा तुलनात्मक रूपमा छोटो थियो । १६० किमिको दूरी मात्र पार गरिने भए तापनि बढ्दो उँचाइका कारण अधिकांशको मुहारमा कौतूहलसँगै अन्योल प्रस्ट देखिन्थ्यो ।
हामी केरुङ नदीको किनारैकिनार उकालो चढ्दै गयौँ । त्रिशूलीलाई नै तिब्बतमा केरुङ नदी भनिँदो रहेछ । पुरानो केरुङ बजार पुग्नुअघि दायाँतिर सुक्खा बन्दरगाहमा नेपाली नम्बर प्लेटका थुप्रै मालवाहक ट्रकहरू लस्करै राखिएका देखिए । हामी बाटोमा पर्ने पुराना मठमन्दिरहरू, सुन्दर झरनाहरू छोड्दै अघि बढ्यौँ ।
दायाँबायाँका वनस्पतिहरू क्रमशः पातलिँदै थिए । अघि बढ्ने क्रममा यस यात्राको सबैभन्दा अग्लो स्थान ५ हजार २३६ मिटरको घुण्टाला भञ्ज्याङ पुग्यौँ । चीन सरकारले भञ्ज्याङको विकल्पमा सुरुङ निर्माणको काम तीव्र गतिमा अघि बढाएको देखियो ।
अल्टिच्युड सिकनेसबाट बच्ने उद्देश्यले फर्किंदा यस स्थानमा केही समय विश्राम गर्ने वाचासहित बस नरोकी पुनः ओरालो हान्नियौँ । यहाँबाट पूर्वतर्फ ८ हजार १३ मिटर अग्लो शिशापाङमा हिमाल प्रस्ट देखिँदो रहेछ ।
यो ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरूमध्येको सबैभन्दा कान्छो र तिब्बतमा रहेको एक मात्र हिमाल पनि हो । तिब्बतीहरूले यसलाई माउन्टेन अफ लकको रूपमा ठूलो श्रद्धाका साथ पुज्ने रहेछन् । हामी अहिले यात्रा गरिरहेको क्षेत्र चोमोलुङमा नेचर रिजर्भअन्तर्गत पर्दो रहेछ ।
यात्रालाई निरन्तरता दिने क्रममा अन्य दुईवटा भञ्ज्याङहरूलाई समेत पार गरी दुई घण्टाको यात्रापछि हामी ब्रह्मपुत्र नदीको किनारमा आइपुग्यौँ । यो संसारको नवौँ ठूलो नदी हो, जुन भारतको आसाम हुँदै बग्दछ । र, अन्त्यमा बंगलादेशको पद्मा नदीमा समाहित हुन्छ । प्रचण्ड वेग र आक्रामक स्वभावका कारण यस नदीलाइ पुरुषको रूपबाट हेर्ने गरिन्छ ।
नदी पार गर्नासाथ ल्हासा, सिगात्से, मानसरोवर जाने सडकसँग हामी आएको सडक जोडिँदो रहेछ । नदीको दक्षिण किनार हुँदै आधा घण्टा पश्चिमतर्फ बढेपछि हामी ४ हजार ५०० मिटर उँचाइको सागा सहरमा प्रवेश गर्यौँ ।
यस सहरले पनि आधुनिकताको प्रदर्शन गरिरहेको थियो । होटेलका सबै कोठाहरू अक्सिजनजडित थिए । केही समयको विश्रामपछि बेलुकीपख सागा सहरको भ्रमणमा निस्कियौँ । अबका केही दिन हामी यही उँचाइमा यात्रा गर्नुपर्ने थियो । अधिक उँचाइका कारण हामीले एक्लमटाइजेसनमा केही समय खर्चिनु अति आवश्यक थियो ।
चौथो दिनको यात्रा ७ बजे नै सुरु भयो । आजको यात्रा, यात्रामध्येको सबैभन्दा लामो ४६६ किमिको थियो । समथर भूभाग र अग्ला पहाडहरूबचिको फराकिलो फाँट, दायाँबायाँ चौँरीयाक, भेडा र जंगली गधाहरू चर्दै गरेको दृश्य हेर्दै हामी दोङबा आइपुग्यौँ । यहाँबाट मुस्ताङ जिल्लाको कोरला नाका जम्मा ४८ किमिको दूरीमा रहेछ ।
चीनतर्फ सीमानाकासम्मका भौतिक संरचनाहरू चीन सरकारले निर्माण गरिसकेको र नेपालतर्फ नेपाल सरकारले निर्माण गर्नुपर्ने भौतिक संरचनाहरू निर्माणकै क्रममा रहेको भन्ने बुझियो । यदि, यो नाकालाई छिटो खोल्न सकिएमा दुई देशबीचको व्यापारलाई सहज बनाउन र यसबाट दुवै देशका नागरिकहरू अझै लाभान्वित हुने कुरामा दुई मत नहोला ।
नेपाल हुँदै कैलाश मानसरोवर यात्रा गर्ने तेस्रो देशका नागरिकहरूलाई पनि यो रुट ज्यादै छोटो पर्ने देखिन्छ । यात्रालाई अघि बढाउने क्रममा दक्षिणतर्फ नेपालका हिमशृंखलाहरूलाई आँखामा सजाउँदै करिब १० घण्टाको निरन्तर यात्रापछि हामी होर्चु चेकपोस्ट पुग्यौँ । यहाँबाट मानसरोवर र कैलाश दुवैको दर्शन गरी आफूलाई अति भाग्यमानी महसुस गर्यौँ ।
सामान्यतया होर्चुबाट वातावरणमैत्री सरकारी बसबाट मात्र मानसरोवर तालको परिक्रमा गराइँदो रहेछ । तर, बुद्ध पूर्णिमाको दिन धेरै तीर्थयात्रीहरूको चाप र वातावरणमैत्री बसको कमीले गर्दा हामी आएकै बसद्वारा यात्रालाई निरन्तरता दिन अनुमति प्राप्त भयो ।
मानसरोवर ताल विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित पवित्र जलको भण्डार हो । तालको परिक्रमा गर्ने क्रममा सबैले आ–आफ्नो साथमा रहेको ग्यालेनमा मानसरोवरको जल भर्यौँ । समुद्री सतहबाट यसको उँचाइ चार हजार ५९० मिटर छ । तालको औसत गहिराइ ३०० फिट छ भने यसले ३२० वर्गकिलोमिटरको क्षेत्र समेटेको छ ।
हुम्ला जिल्लाको हिल्सा नाकाबाट ५० किमि उत्तरपश्चिम र तिब्बतको ल्हासाबाट ९४० किमि दक्षिणपश्चिममा रहेको यस तालको आकार सूर्यको जस्तो छ भने यसलाई उज्यालोको प्रतीकका रूपमा लिइन्छ ।
संस्कृत शब्दको मानस र सरोवर मिलेर यस तालको नाम मानसरोवर रहन गएको हो भनिन्छ । मानसको अर्थ बुद्धि र सरोवरको अर्थ ताल हो । स्वयं श्री ब्रह्माद्वारा गंगाको सृष्टिसँगै रचित यस तालमा श्री विष्णु भगवान्को वासस्थान रहेको जनविश्वास छ ।
देवीदेवताहरू र सप्तऋषिहरू ब्रह्ममुहू्र्तमा यस तालमा आई स्नान गर्ने विश्वासले प्रातःकालीन स्नान अत्यन्त प्रभावकारी हुन्छ भन्ने कुरा धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ ।
यहाँको एकपटकको स्नानले सात जन्मको पाप नष्ट हुने र जलको सेवन मात्रले पनि शिवत्व प्राप्त हुन्छ भन्ने हिन्दु धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ ।
मानसरोवर ताल ।
मानसरोवर तालको परिक्रमा गर्ने क्रममा दक्षिणतर्फ रहेको ७ हजार ७२८ मिटर अग्लो गुर्ला मान्धाता हिमालको दृश्यावलोकन गर्ने मौका पनि मिल्यो । यो हिमाल हेर्दा मानिस सुतेको जस्तो देखिँदो रहेछ । अलिकति अग्लो जमिनमा पुगेपछि मानसरोवर तालको ठिकविपरीत पश्चिमतर्फ राक्षस ताल देखियो । अर्ध चन्द्राकारको यो ताल नुनिलो पानीको भण्डार हो र यसलाई अँध्यारोको प्रतीकको रूपमा लिइन्छ ।
मानसरोवर र राक्षस ताललाई गंगा चु भन्ने एक सानो नदीले जोड्दो रहेछ । मानसरोवर तालको पवित्र जलबाट अशुद्ध मानिएको राक्षस ताललाई शुद्ध बनाउनका लागि ऋषिहरूले यस नदीको रचना गरेको किंवदन्ती रहेछ ।
शास्त्रमा लंकाको राजा रावणले कैलाश पर्वतमा विराजमान भगवान् शिवको तपस्या गर्नका लागि राक्षस तालको सृष्टि गरेको भन्ने पढ्न पाइन्छ । यस तालमा रहेका विशेष प्रकृतिका टापुहरूबाट रावणले प्रत्येक दिन भगवान् शिवको पूजा–आराधनासहित आफ्नो एकएकवटा शिरच्छेदन गरी अर्पण गर्ने गर्दथे । यसै क्रममा दशौँ दिन अन्तिम शिर चढाउँदा शिव प्रसन्न भई रावणलाई विशेष शक्ति प्रदान भएको भन्ने धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ ।
समुद्र सतहबाट यस तालको उँचाइ ४ हजार ५७५ मिटर छ भने यसले २५० वर्गकिलोमिटरको क्षेत्र समेटेको छ । राक्षस ताल र यसको वरपर कुनै पनि जीवजन्तु तथा वनस्पतिहरू पाइँदैन र धार्मिक दृष्टिकोणबाट यस तालको कुनै पनि महत्त्व छैन ।
यो तालमा प्रवेश गरेमा वा स्नान गरेमा पुनः पापको सागरमा डुबिने मान्यता रहेको छ । झण्डै २०० मिटरभित्रको दुई तालबीचको भिन्नता प्रकृतिको अद्भुत रचना मान्न सकिन्छ ।
यस तालको छेवैबाट गएको हाइवेले मानसरोवरलाई ताक्लाकोटसँग जोड्दो रहेछ । केही समय यस तालको अवलोकनपश्चात् हामी मानसरोवर तालको किनारमा रहेको गुम्बामा पुगी रात्रि विश्राम लियौँ ।
लामो यात्राले केही थकान महसुस भए तापनि त्यस पुण्यभूमिको ऊर्जा हाम्रो शरीरभित्र प्रवेश भइसकेकाले भोलिपल्टको पूजाको तयारीमा लाग्दालाग्दै रातको १ बजेको पत्तै पाइएन ।
पाँचौँ दिन बुद्ध पूर्णिमा । चिनियाँ टुर गाइडलाई अनुरोध गरी हामी आएको बसलाई मानसरोवर तालको नजिकसम्म लग्यौँ । बसबाट यात्रा गर्दा जम्मा १० मिनेट लाग्ने भए तापनि पूजाका सामाग्रीहरू बोकेर पैदल हिँड्न सम्भव थिएन । ४ हजार ५०० मिटरको उँचाइमा अलिकति गह्रौँ सामान बोक्दा वा छिटछिटो हिँड्दा थकाइ महसुस र लामोलामो श्वास लिनुपर्ने बाध्यता हामी सबैमा थियो ।
६ बजेसम्ममा स्नानादि कार्य सकेर पूजा आरम्भ गर्न हाम्रो समूह तयार भइसकेको थियो । केही सदस्यहरू ताल र कैलाश पर्वतको फोटोहरू आफ्ना क्यामेरामा कैद गर्न व्यस्त थिए भने केही पारिवारिक सेल्फी बनाउनमा व्यस्त देखिन्थे ।
बिहानी सूर्यको किरण तालमा छरिँदाको वातावरणले हामी सबैमा एक किसिमको छुट्टै ऊर्जा सिञ्चित भएको थियो । यस स्थितिमा हामी सबैले अलौकिक दिव्य आभाको अनुभूति गरिरहेका थियौँ ।
मानसरोवरमा धार्मिक अनुष्ठान ।
हामी सबैले मानसरोवर तालको छेवैमा बसी कैलाश पर्वतको दर्शन गर्दै रुद्रीपूजा, लक्ष्यदीप, हवन, श्राद्ध आदि धार्मिक अनुष्ठान सम्पन्न गर्यौँ । बिहानको खाना गुम्बामा खाईवरी ४० किमि उत्तरतर्फ कैलाश पर्वतको काखमा रहेको ४ हजार ७०० मिटर उँचाइको सुन्दर सहर दार्चेन आइपुग्यौँ । यसलाई कैलाश पर्वतको आधारशिविरको रूपमा पनि चिनिँदो रहेछ ।
कैलाश पर्वत परिक्रमा गर्ने तीर्थयात्रीहरू, साहसिक पदयात्रीहरू र तीर्थपुरी दर्शन गर्ने श्रद्धालु भक्तजनहरू दार्चेनमा बसी आफ्ना तयारी र बन्दोबस्तीका कार्यहरू पूरा गर्दा रहेछन् । हाम्रो समूह पनि होटेलमा सामानहरू थन्क्याई तीर्थपुरीतर्फ लाग्ने निधो गरियो । यो भ्रमणको लागि प्रतिव्यक्ति थप ५०० युआन शुल्क लाग्दो रहेछ ।
तीर्थपुरी दर्शन ।
तीर्थपुरी दार्चेनबाट ६० किमि पश्चिममा रहेको एक धार्मिकस्थल हो । यो ४ हजार ३१० मिटरको उँचाइमा अवस्थित छ । शिव भगवान्बाट भस्मासुरले वरदान प्राप्त गरेपछि उन्मत्त भई जथाभावी गर्दै हिँडेको अवस्थामा श्री विष्णु भगवान्ले मोहिनीको रूप धारण गरी चलाखीपूर्ण तरिकाबाट भस्मासुरलाई यसै स्थानमा भस्म गरेको किंवदन्ती रहेको छ ।
डाँडाहरू पूरै कालो र ठाउँठाउँमा खरानीको रूपमा कमेरो माटोका थुम्काहरू भेटिनुले यस कुराको पुष्टि भएको जस्तो लाग्दछ । यस माटोलाई शरीरमा घस्नाले छालाको रोगबाट मुक्ति मिल्ने र खाँदा शरीर स्वस्थ रहने तिब्बतीहरूको मान्यता रहेछ ।
यस स्थानमा कैलाश पर्वतको प्रतिकृति निर्माण गरिएको छ, जसको तीनपटक परिक्रमा गर्नाले कैलाश पर्वतको परिक्रमा गरेसरहको फल प्राप्त हुने जनविश्वास रहेको छ । यस स्थानमा तातोपानीको मूल समेत रहेको र यसले हातखुट्टा धुँदा धेरै रोगहरू निको हुने विश्वासले मानिसको ठूलो घुँइचो लाग्ने रहेछ ।
हामीले पनि तातोपानीको भरपुर उपयोग गर्यौँ र दार्चेनतर्फ फर्कियौँ । भोलिपल्टको पदयात्राका लागि आवश्यक तयारी गर्नु थियो । कैलाशलाई नजिकबाट दर्शन गर्न हामी सबै लालायित थियौँ ।
दार्चेन (दक्षिण) बाट देखिने कैलाश ।
यात्राको छैटौँ दिन कैलाश परिक्रमाको प्रारम्भ गरियो । आफूलाई चाहिने आवश्यक सामानहरू ब्याकप्याकमा राखी ब्रेकफास्ट खाईवरी ७ बजे नै हामी सबै तयार भयौँ । दार्चेनबाट यमद्वारसम्म सात किलोमिटर बसबाट र त्यसपछि कैलाश परिक्रमा गर्ने यात्रीहरूले १२ किमि पैदलयात्रा पूरा गरी देरापुक पुग्नुपर्ने थियो ।
देरापुकसम्म सामान्य मोटर बाटो भए तापनि गाडीको प्रवेशलाई निषेध गरिएको छ । शारीरिक अस्वस्थताका कारण एम्बुलेन्सद्वारा सोही बाटो हुँदै दार्चेन फिर्ता हुन भने कुनै समस्या छैन ।
यस क्षेत्रमा सामान्यतया जीपलाई नै एम्बुलेन्सको रूपमा प्रयोग गरिँदो रहेछ । घोडा र भरिया आवश्यक पर्नेले अग्रिम बुकिङ गर्नुपर्ने व्यवस्था रहेछ । हामी सबै ८ बजे यमद्वार आइपुग्यौँ । मौसम एकदम सफा थियो । कैलाश पर्वतले दिव्य दर्शनको लागि हामीलाई निमन्त्रणा गरेजस्तो लाग्यो ।
यमद्वार ।
सबैले लन्चप्याक र तातोपानी भरेको थर्मस आ–आफ्नो ब्यागमा राख्यौँ । अल्टिच्युडमा झोलिलो पदार्थको सेवन ज्यादै महत्त्वपूर्ण मानिन्छ । त्यसमाथि निरन्तर डायमक्सको सेवनले शरीरलाई निर्जलीकरण गर्दो रहेछ । सम्पूर्ण यात्रीहरूले यमद्वारको पूजा गरी तीनपटक परिक्रमा गर्यौँ । यसरी परिक्रमा गर्नाले सबै पापहरूबाट मुक्त भई कैलाश दर्शनका लागि शुद्ध भइन्छ र स्वास्थ्यका कारण कैलाश पर्वतको परिक्रमा गर्न नसक्ने अवस्थामा समेत सोसरहको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेछ ।
समूहका केही सदस्यहरू दार्चेन फर्किए भने अधिकांश देरापुकतर्फ लाग्यौँ । आज हामीले थप ३५० मिटरको उँचाइ चढ्नु थियो । बाटो अधिकांश समथर र केही ठाउँमा मात्र उकालो पर्दथ्यो ।
जमिनी बनावट हेर्दा माथिल्लो मुस्ताङसँग धेरै हदसम्म मिल्दोजुल्दो थियो । झन्डै तीन घण्टाको हिँडाइपछि हामी टी–सपमा पुग्यौँ । एकएक गिलास चिया पिएर थर्मसमा तातोपानी भरी केही बेरको विश्रामपछि यात्रालाई पुनः निरन्तरता दियौँ ।
पश्चिमबाट देखिने नन्दीसहितको कैलाश ।
केही बेरको हिँडाइपछि हामीले कैलाश पर्वतको पश्चिमतर्फबाट दर्शन गर्ने मौका पायौँ । कैलाश पर्वतको पश्चिमतर्फ नन्दी र हात्तीको आकृति प्रस्ट देखियो । अझै अघि बढ्ने क्रममा नदीको पश्चिममा विन्ध्याचल पर्वतको दर्शन प्राप्त भयो । नदीको पानी जमेर पूरै बरफ बनेको थियो ।
उँचाइ क्रमशः बढ्दो थियो । अक्सिजन लिएका केही मानिस पनि बाटोमा भेटिए । सात घण्टाको पैदलयात्रापछि हाम्रो समूह ५ हजार ५० मिटरको उँचाइमा रहेको देरापुकस्थित गेस्टहाउसमा पुग्यो ।
आफ्ना सामानहरू राखी अल्पविश्रामपछि नजिकबाट कैलाश पर्वतको दर्शन गर्न दक्षिणतिरको डाँडामा उक्लियौँ । हामी सबै एकदमै नजिकबाट सुनौलो कैलाशको दर्शन गर्न सफल भयौँ ।
भगवान् भोलेनाथको साक्षात् दर्शन गर्ने वर्षौँदेखिको मनोकामना पूर्ण भएकोले सबैका आँखाबाट हर्षको आँसु बगेको थियो । मौसमले साथ दिएमा सूर्योदय र सूर्यास्तको समयमा यहीँबाट सुनौलो कैलाशको दर्शन प्राप्त हुने प्रबल सम्भावना पनि रहन्छ ।
कैलाश पर्वतको उँचाइ समुद्र सतहदेखि ६ हजार ६३८ मिटर छ । र, यो ५२ किमिको परिधिमा फैलिएको छ । नेपालको उत्तर–पश्चिममा रहेको नेपाल, चीन र भारतीय त्रिदेशीय विन्दुबाट १०० किमिको दूरीमा यो अवस्थित छ ।
दक्षिण एसियाका चार ठूला नदीहरू – सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णालीका स्रोतको रूपमा रहेको कैलाश पर्वत शृंखला हिन्दु, बौद्ध, बोन, जैन र शिख धर्मावलम्बीहरू सबैको उत्तिकै पवित्र तपोभूमिको रूपमा रहिआएको छ । कैलाश पर्वतलाई ब्रह्माण्ड विज्ञानको केन्द्र, विश्व आध्यात्मिकजगत्को केन्द्र तथा समस्त विश्वकै केन्द्रको रूपमा लिइन्छ ।
हिन्दु ग्रन्थानुसार कैलाश पर्वत हिन्दुहरूका आराध्यदेव श्री महादेव र माता पार्वतीको वासस्थान हो । श्री विष्णुपुराण र श्री मत्स्यपुराणमा व्याख्या गरेबमोजिम यस पर्वतका चार मुखहरू – स्फटिक, रुबी, नीलम र स्वर्ण शृंगारको रूपमा रहेको छ । यसलाई हेमशृंग, बैधुत, कुकन्दमान, बरुणा, शृंगबान र हिरण्यशृंगजस्ता छवटा दिव्य पर्वतहरूद्वारा घेरिएको छ ।
देरापुकबाट तीनवटा पहाडहरू बज्रपाणि, अवलोकितेश्वर र मञ्जुश्रीले कैलाश पर्वतलाई गहिराइ प्रदान गरेको छ । पौराणिक कथाअनुसार देवगण, ऋषिगण, राक्षसगण, रावण, भस्मासुर, अन्धकासुर आदि सबैले यही कैलाश मानसरोवर क्षेत्रमा तपस्या गरी वरदान र सिद्धत्व प्राप्त गरेका थिए ।
विभिन्न समयमा पर्वतारोहीहरूले कैलाश पर्वत आरोहणको असफल प्रयास गरेको पाइन्छ । धार्मिक आस्था र यस पर्वतको अलौकिक शक्तिका कारण कसैले पनि आजसम्म आरोहणको सफलता हात पार्न सकेका छैनन् । धार्मिक महत्त्वका कारण केही वर्षदेखि चीन सरकारले कैलाश पर्वत आरोहणमा प्रतिबन्ध लगाएको छ ।
देरापुक (उत्तर)बाट देखिने सुनौलो कैलाश ।
देरापुकको बसाइ धेरैका लागि सहज रहेन । रातिको ९ बजे खाना खाइसकेपछि टुर गाइडबाट ब्रिफिङ भयो । धेरैजनामा खाना नरुच्ने, टाउको दुख्ने र श्वास फुल्नेजस्ता उँचाइको कारणले गर्दा हुने लक्षणहरू देखापर्न थालिसकेका थिए । बल गरेर खाना खान र जतिसक्दो बढी झोलिलो पदार्थको सेवन गर्न गाइडहरूले सुझाइरहेका थिए ।
तथापि, हामी सबै निरन्तर यात्राका लागि उत्साहित थियौँ । तर, डोल्माला भञ्ज्याङ (५ हजार ६३० मिटर) हुँदै जुथुलपुकसम्मको परिक्रमाको दोस्रो दिनको यात्रा व्यक्तिविशेषको अक्सिजन सेचुरेसनले तय गर्ने रहेछ । त्यसैले राति १० र १२ बजे अक्सिजनको मात्रा मापन गर्ने व्यवस्था मिलाई हामी गाइडबाट छुट्टिई सुत्ने तरखरमा लाग्यौँ ।
१० बजेको मापनमा सबैको अक्सिजनको मात्रा सामान्य थियो भने १२ बजे धेरैको अक्सिजन सेचुरेसन ७० को आसपासमा देखियो । रात छिप्पिने क्रमसँगै वायुमण्डलमा अक्सिजनको मात्रा घट्दै जाँदो रहेछ । अक्सिजनको कमीले उत्पन्न तनाव, श्वासप्रश्वासमा कठिनाइ, थकान र अनिद्राले गर्दा समूहका प्रायजसो सबैले कैलाशको दर्शन भइसकेकाले परिक्रमालाई यहीँ नै बिट मार्ने सोच बनाइसकेका रहेछन् ।
यात्राको सातौँ दिन ब्रेकफास्टको समयमा हाम्रो समूहले सामूहिक निर्णय गरी कैलाश परिक्रमाको यात्रालाई देरापुकमै टुंग्याई दार्चेन फर्किने निधो गर्यौँ । हामीसँगै गएका अन्य केही यात्रीहरू गाइडका साथमा ७ बजे जुथुलपुकतर्फ लागे ।
हामी दार्चेन आइपुग्दा दिनको २ बजिसकेको थियो । तातो खाना, केही बेरको विश्राम र उँचाइबाट झरेकोले हामी सबै फुर्तिलो र तन्दुरुस्त भइसकेका थियौँ । जुथुलपुक गएका यात्रीहरू पनि यात्रालाई छोट्ट्याएर ५ बजेसम्ममा आइसकेका थिए ।
सबै यात्रीहरू स्वस्थ्य र सुरक्षित रहेकाले टुर गाइड र अपरेटरहरू खुसी देखिन्थे । कैलाश परिक्रमाका दौरान अत्यधिक उँचाइको कारण लेक लागेर कुनैकुनै वर्ष त यात्रीको मृत्यु समेत हुने गरेको इतिहास रहेछ ।
दोस्रो दिनको यात्राको झन्डै १५ किमि दूरीमा उद्धार गर्नुपरेमा ज्यादै कठिन र समय लाग्ने हुँदा यसबीचको यात्रा निकै चुनौतीपूर्ण मानिँदो रहेछ । त्यहाँ पुग्नुअघि हामी कसैलाई पनि यस कुराको जानकारी थिएन । यसरी हाम्रो मानसरोवर र कैलाश दर्शन यहीँ नै पूरा भएको थियो ।
आठौँ दिनको यात्राको थालनी बिहान ७ बजे दार्चेनबाट गरियो । मानसरोवर परिक्रमाको बाँकी रहेको २० किमिको यात्रालाई पूर्णता दिँदै हामी होर्चु आइपुग्यौँ । स्थानीय पसलमा केही सानातिना उपहारका सामान खरिद गरी पुनः सागातर्फको फिर्ती यात्रालाई निरन्तरता दियौँ ।
कैलाश पर्वत र मानसरोवर विस्तारै हाम्रो आँखाबाट ओझेल हुँदै थियो । तर, दिव्य दर्शनका स्मृतिहरू मानसपटलमा पुनरागमन हुँदै थिए । सागा आइपुग्दा झन्डै ६ बजिसकेको थियो । त्यस साँझ स्थानीय बजारबाट केक ल्याएर साथीको जन्मदिन मनाएर रमाइलो गर्दै हामीले रात्रि विश्राम लियौँ ।
यात्राको नवौँ दिन अन्तिम विन्दु केरुङ सहर । यात्रा त्यति धेरै लामो थिएन । बिहानको समय भएकोले सडकमा सवारीको चाप कम थियो । तसर्थ, प्रहरीहरूको चेक प्वाइन्ट पार गर्न ज्यादा समय लागेन ।
हामी बह्मपुत्र नदी पार गरेर घुण्टाला भञ्ज्याङतर्फ बढ्दै गयौँ । पूर्वतर्फ शिशापाङमा हिमाल चाँदीजस्तो टल्केर आफ्नो उपस्थिति जनाइरहेको थियो । नागबेली सडकका थुप्रै घुम्तीहरू उक्लँदै सबैभन्दा अग्लो स्थान घुण्टाला भञ्ज्याङ आइपुग्यौँ हामी ।
गाडीबाट ओर्लिएर छोटो समयमा हिमालका मनोरम दृश्यहरू कैद गरेर केरुङतर्फ ओरालो झर्यौँ । हामी मरुभूमियुक्त जमिनलाई छाड्दै हरियाली वातावरणतर्फ प्रवेश गर्दै गइरहेका थियौँ ।
बाटोमा पर्ने झरनाको आनन्द लिँदै सबै केही बेरको विश्राममा अडिए । त्यहाँबाट हिँडेका हामी करिब १ बजेतिर केरुङको होटेलमा आइपुगेका थियौँ ।
४ हजार ५०० मिटरबाट २ हजार ७०० मिटरको उँचाइमा झरेकोले होला सायद, हामी सबैले आफूलाई फुर्तिलो महसुस गर्यौँ । शाकाहारी भोजन सुरु गरेको १० दिन भइसकेछ !
दार्चेनमा हुँदै हामीले केरुङ पुगेपछि स्थानीय खानाको स्वाद लिने योजना बनाएका थियौँ । त्यसैले होटेलमा सामान थन्क्याईवरी कुनै विलम्ब नगरेर बजारतर्फ हुँइकियौँ । खाना अर्डर गर्न सुरुमा भाषागत समस्याले कठिनाइ परे तापनि त्यहाँ कार्यरत स्टाफ तथा स्थानीय नेपालीको सहयोगमा धीत मर्ने गरी खाना खायौँ ।
यात्राको दशौँ तथा अन्तिम दिन गन्तव्य थियो काठमाडौं । चिनियाँ अध्यागमन कार्यालय ८ बजे खुल्ने हुँदा बिहान सबेरै ६ बजे सीमातर्फ लाग्यौँ । त्यस दिन झन्डै ५०० मानिस सीमापार गरेर नेपाल आउने कुराको जानकारी तिब्बतीयन गाइडबाट प्राप्त भइसकेकोले पनि हाम्रो समूह सकभर अगाडि रहने कोसिसमा थियौँ । सोहीअनुसार योजना सफल पनि भयो । तर, अलिकति छिटो भएकाले सीमा आउनुभन्दा अघिकै चेक प्वाइन्टमा झन्डै एक घण्टा कुराइमा पर्यौँ ।
ठिक ८ बजे अध्यागमनको सम्पूर्ण प्रक्रियाहरू पूरा गरी टिमुरे आइपुग्यौँ । बिहानको खाना टिमुरेमा खाईवरी धुन्चे हुँदै काठमाडौंतर्फ लाग्यौँ । मानसरोवर र कैलाश यात्राका क्रममा १० दिनसम्म सँगै यात्रा गरेका सबै स्वदेशी तथा विदेशी सहयात्रीलाई धन्यवाद दिँदै जीवनको गोरेटोमा पुनः भेट हुन सक्ने सम्भावना व्यक्त गर्दै हामी छुट्टियौँ ।
यात्राका क्रममा हामीले केही अनुभव पनि बटुल्न सफल भयौँ । ज्यादै चिसोको कारणबाट धेरै हिमपात भइरहने हुँदा वैशाख महिनाको दोस्रो हप्तादेखि आश्विन महिनाको पहिलो हप्तासम्मको अवधिलाई यात्राको सबैभन्दा उपयुक्त समय मान्न सकिँदो रहेछ । तथापि, नेपालबाट पहाडी र हिमाली भूभाग पार गरी जानुपर्ने र कमसल सडकका कारण बर्सातको समयको यात्रा कठिन र चुनौतीपूर्ण रहन्छ ।
व्यावसायिक र व्यवस्थित किसिमले नेपालबाट मानसरोवर र कैलाश यात्रा गराउँदा तीनवटा रुटहरूको प्रयोग हुँदै आएको छ । रसुवागढी–केरुङ हुँदै कैलाश दर्शन गर्ने हो भने सात दिन बसको यात्रा र तीन दिन परिक्रमालाई गरी जम्मा १० दिनको समय लाग्दछ । बजेटको हिसाबले अन्य रुटभन्दा यो सस्तो र तीर्थयात्रीहरूको पहिलो छनोटमा पर्ने गर्दछ ।
दोस्रो रुट सिमकोट–हिल्सा–ताक्लाकोट हुँदै कैलाश दर्शन गर्ने हो भने नेपालगन्जदेखि सिमकोटसम्म हवाईजहाज, सिमकोटदेखि हिल्सासम्म हेलिकोप्टर र ताक्लाकोटबाट बसद्वारा यात्रा गर्ने गरिन्छ । तीन दिनको परिक्रमालाई समेत जोड्ने हो भने यस रुटमा पनि १० दिनको समय लाग्दछ । बजेटको हिसाबले यो पहिलो रुटभन्दा केही महँगो छ । तर, बसको यात्रा कम रुचिकर हुनेका लागि यो रुट पहिलो रोजाइमा पर्न सक्दछ ।
ल्हासा हुँदै कैलाश दर्शन गर्ने तेस्रो रुट अन्य रुटभन्दा महँगो छ र यात्राको अवधि पनि १२ देखि १४ दिनसम्म लाग्न सक्दछ, जो बस वा हवाईसाधनको प्रयोगमा निर्भर गर्दछ । यो मार्ग हुँदै यात्रा गर्दा पोटाला दरबार र सिगात्सेको अवलोकन गर्न पाइने अनि उँचाइका हिसाबले क्रमशः एक्लमटाइजेसन हुने हुँदा कैलाश यात्रामा केही सहजता हुने गर्दछ ।
आफूलाई अनुकूल हुने समय र रुटको छनोट गरी सोहीअनुरूप यात्राको योजना र तयारी गर्न ज्यादै आवश्यक छ । मानसरोवर र कैलाशको दर्शन गर्न अन्य तीर्थयात्राजस्तो सहज छैन । अत्यधिक उँचाइ, फरक खानपान, लामो यात्रा र सबै ठाउँमा चाहेको सुविधा उपलब्ध हुन नसक्नु यस यात्राका प्रमुख कठिनाइहरू हुन् ।
यात्रा सुरु गर्नुअगावै मानसिक र शारीरिक दुवै तवरबाट आफूलाई तयार बनाउने र सकेसम्म विचार मिल्ने व्यक्तिहरूको समूह बनाएर यात्रा गर्न सकेमा ज्यादै रमाइलो र सुखद हुने गर्दछ ।
खासमा भन्नुपर्दा यो उमेरमै गर्नुपर्ने एक तीर्थयात्रा हो । स्वास्थ्य अवस्था राम्रो नभएका व्यक्तिहरूले जबरजस्ती कैलाश परिक्रमा गर्न खोज्नु हुँदैन । अत्यधिक उँचाइको भञ्ज्याङ पार गर्नुपर्ने हुँदा यो आफैँमा चुनौतीपूर्ण छ ।
अर्को महत्त्वपूर्ण कुरा, अन्तर्राष्ट्रिय सीमापार गर्दाको समयमा चिनियाँ सुरक्षासँग संवेदनशील सामग्रीहरू साथमा नरहेको बारे सबैले यकिन गर्न पनि ज्यादै जरुरी छ ।
(लेखक नेपाली सेनाका पूर्वरथी र सेक्युरिटी स्टडिजका ज्ञाता हुन् ।)