मोदीखोलाको माछा मार्दामार्दै
मोरिया र घान्द्रुकको उकालो चढ्दाचढ्दै
जवान नहुँदै बुढो भएको छ वीरेठाँटी !
सम्झँदो होला बिर्सिएका यादहरू
आफैँलाई कुल्चिएर गएकाहरू
नफर्किएपछि उदास छ
हिजोआज वीरेठाँटी ।
अन्नपूर्ण र माछापुच्छ्रेलाई
सुम्सुम्याउन जानेहरू
आउँदैनन् अचेल वीरेठाँटीलाई सम्झिएर
कुनै दिन वीरेठाँटी
सुन्दरता र आकर्षणको केन्द्र थियो
भोकाएकाहरूका लागि खाना थियो
तिर्खाएकाहरूका लागि चिसो पानी थियो
अनिदोहरूका लागि मिठो निद्रा थियो
दृष्टिविहीनहरूका लागि दृष्टि थियो
आवाजविहीनहरूका लागि आवाज थियो ।
घुम्न आउनेहरूले
वीरेठाँटीलाई पछाडि राखेर
तस्बिर खिचे कतिले
आज पनि कतिको घरका भित्तामा
वीरेठाँटी झुन्डिएको छ तस्बिरसँगै ।
मोदीखोलाको पानीजस्तै
कहिल्यै फर्किएर आएनन्
वीरेठाँटीलाई औधी माया गर्छु भन्नेहरू
वीरेठाँटीसँग मित लगाएर
झोलामा जवानी बोकेर लाहुर गएकाहरू
उत्तै भासिएपछि पीरैपीरेले
जवान नहुँदै बुढो भएको छ वीरेठाँटी !