site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रयोग गरेको पैसा उद्योगीले तिर्छन्, मैले महसुल नउठाउँ भनेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा नौ वर्ष अघिदेखिको महसुल प्रधानमन्त्रीले नउठाऊ भनेको जस्तो भाष्य निर्माण गर्न खोज्नु गलत भएको बताएका छन् ।  

विश्वासको मत लिनुअघि सदनमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले डेडिकेटेड तथा ट्रंकलाइनमा नौ वर्षदेखि महसुल लिनुपर्छ कि पर्दैन अथवा तिर्नुपर्छ वा पर्दैन भन्ने विवाद रहेको र पटक–पटक लाइन काटिँदै र जोडिँदै आएको विषय रहेको स्मरण गराए । 

नेपाल विद्युत् प्राधिकरणले धेरै उद्योगको बक्यौता रहेपनि ६ वटा मात्रै उद्योगको लाइन काटेको र अन्यको किन नकाटेको भन्दै उनले प्रश्न गरे । “उद्यमीहरूले पैसा तिर्दिनँ भनेको छैन, हामी जति प्रयोग गरेको हो त्यति तिर्छौं भनेका छन्”, उनले प्रश्न गरे, “यसमा  सरकारले बिल दिनुपर्छ । तर तिमी धनी छौ, तिमीसँग यति असुल गर्न मन छ । यति मलाइ चाहिन्छ भनेर हुन्छ ?”

ओलीले प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन मात्रै भनेको तर विद्युत् सप्लाई नभएको भन्ने आरोप रहेको बताए ।

“डेडिकेटेड तथा ट्रंकलाइन भनेको तार जोड्ने होइन । यसमा बिजुली सप्लाई हुनुपर्छ । २४ घण्टा बिजुली सप्लाई भनेको छ, लोडसेडिङ लगाइदिएको छ”, उनले भने, “केही घण्टा विद्युत् पाएको छ, केही घण्टा पाएको छैन भन्ने विवाद छ ।”

सदनमा प्रधानमन्त्रीले जंगबहादुर शैलीमा हुकुम दिएको माओवादी नेता माधव सापकोटाले आरोप लगाएपछि ओलीले उद्योग चलाएर मात्रै मजदुरले काम पाउने बताए । उद्योगीले पैसा तिर्न सक्ने भएकाले लाइन जोडेर विवाद समाधान गर्नुपर्ने बताए ।  

“मैले लाइन जोडेर समाधान खोजौँ भनेको हो,” ओलीले भने, “मैले प्राधिकरणका एमडी, ऊर्जामन्त्री, सचिव र उद्यमीहरूलाई राखेर कुरा गरेँ । उहाँको जवाफ मैले पाइसकेँ । हिसाव सोधिसकेँ । संसदीय समितिमा पठाइसकेँ । अब हिसाब कहाँ फेर्न मिल्छ ?” 

उद्योग बन्द गराएर मजदुरहरूले काम नपाउने उनको भनाइ छ । निर्यात रोकिएपछि बजार खोसिनेतर्फ आफू सचेत रहेको उनको भनाइ छ । 

ओलीले गलत हिसाब पठाएर फेर्न नमिल्दैन भन्दै तिर्न नपर्ने महसुल असुल गर्न नमिल्ने बताए ।

उद्यमी व्यवसायीहरूले प्रयोग गरेको महसुल तिर्ने तर प्रयोग नै नगरेको नतिर्ने भनेकाले यसको छानबिन गर्नुपर्ने ओलीको भनाइ छ । 

“यहाँ उद्यमी र प्राधिकरणको बीचमा ठूलो मतान्तर देखियो । उद्योग बन्द गरेर पैसा आउँदैन । उद्योग खोल्न दिउँ, लिनुपर्ने पैसा लिउँ,” प्रधानमन्त्री ओलीले भने ।

“मैले लाइन जोड्नुसभन्दा कुलमानले बोर्ड बैठक बसेर खोल्नुपर्छ भने । बोर्ड बैठकमा सञ्चालक समितिले तपाईंले लाइन काटेको तपाईं नै खोल्नुहोस्, यसअघि काट्ने निर्णय बोर्डको होइन भन्ने कुरा आयो,” ओलीले भने ।

उद्योगीहरूले प्रयोग गरेको विद्युत् महसुल लिनुपर्ने तर उद्योग बन्द गर्न नहुनेमा उनको जोड छ । 

“पैसा असुल गर्नुपर्छ तर उद्योग बन्द गर्न हुँदैन । नौ वर्षअघिको विवादमा अहिले आएर उद्योग बन्द गर्ने ?”, ओलीले भने, “यसको छिनोफानो हुनुपर्छ । प्रधानमन्त्रीले उद्योगीले प्रयोग गरेको पैसा नउठाउँ भनेको छैन । विवाद हुँदा विद्युत् खेर गइरहेको छ । टर्वाइन बन्द भएको छ । यता, उत्पादकको लाइन काटेको छ ।”
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro