site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
तीन–चार नेताको इशारामा चलेपछि कसरी हुन्छ सार्वभौम संसद् ?

सुशासनका कुरा गर्न जति सजिलो छ, सुशासनका नीति र ब्यवस्था व्यवहारमा उत्तिकै गाह्रो र कठीन हुन्छ । त्यसमाथि नेपालमा राजनीतिक घटनाक्रम अध्ययन र विश्लेषण गर्दा शासकीय वा राजनीतिक नेतृत्वबाट सुशासनको प्रवद्र्धन र सदृुृढीकरण होला भनी आशा गर्ने ठाउँ देखिँदैन ।

शासनका बागडोर लिएकाहरू अधिकांशतः अनियमितता र भ्रष्टाचारका कुनै न कुनै काण्ड वा प्रकरणमा जोडिएका छन् । तिनीहरूमात्र होइन, तिनका परिवार वा नातेदार, पार्टीका नेता तथा कार्यकर्ता र सहयोगीहरू संलग्न भएका घटना हाम्रा निम्ति नियमित बनेका छन् ।

यसका साथै सबैजसो नेताले सार्वजनिक साधन–श्रोत, सम्पत्ति कौडीका भाउमा आफ्ना समर्थक ब्यापारीहरूलाई सुम्पने क्रम बढ्दो छ । यस्ता छाडा र अनुशासनहिन क्रियाकलापकै कारण राजनीतिक प्रणालीप्रति निराशा ब्यक्त भएको देखिन्छ ।

Dabur Nepal
NIC Asia

अनियमितता, भ्रष्टाचार तथा सार्वजनिक साधन र स्रोतको हिनामिना र दुरुपयोगका बढ्दो घटनाले सुशासन सुदृढ हुँदैन । संवैधानिक निकायहरू संविधानको मर्म र भावनाभन्दा राजनीतिक दलको इशारामा काम गर्ने संस्था बन्न पुग्नु र बनाइनु पनि सुशासनका दृष्टिकोणले उचित मानिँदैन । यस्तो ब्यवस्था र ब्यवहारले लोकतान्त्रिक एवं गणतान्त्रिक शासन ब्यवस्थालाई दिगो र स्थिर बनाउँदैन ।  

प्रतिनिधिसभामा ०८१ असार २८ गते पाँचौपटक विश्वासको मत लिँदै गर्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनबारे राम्रै ब्याख्या गरे । आफ्नो नेतृत्वको सरकारले गरेका मुख्य–मुख्य कामका फेहरिस्त सुनाए ।

पछिल्लो आमनिर्वाचनपछि जसरी पनि सत्तामा बस्नैपर्छ भन्ने मान्यता उनमा थियो । उनको आफ्नै ‘उथलपुथल सोच’कै कारण प्रचण्डलाई पाँचौं पटक विश्वासको मत मिलेन । अनि पद त्याग गर्न बाध्य भए । त्यसरी पदबाट बाहिरिनुपर्छ भन्ने उनले सोचका थिएनन्, उनको सोच पाँच वर्ष नै रजगज गर्ने थियो, दुई ठूला दल कांग्रेस–एमाले खेलाउँदै ।
 
उनको तेश्रो कार्यकालमा बालुवाटार जग्गा, नक्कली भूटानी शरणर्थी, भन्सार जाँच प्रक्रियाबाट बाहिर निस्केको नौ किलो सुन समातिएको विषयमा छानबिनको शुरुवात भए । तर, सुनकाण्डमा आफ्नै पार्टीका ठूला–ठूला नेता र कार्यकर्ता पर्ने भएपछि अनुसन्धान तुहाउने काम गरियो ।

अरु प्रकरणमा पनि जहाँ आफ्ना र सत्तारुढ दलका नेता तथा कार्यकर्ता संलग्न प्रकरणमा चाहिँ अनुसन्धान अघि बढ्न दिइएन । महान्यायाधिवक्ता प्रयोग गरी अनुसन्धानदेखि मुद्दा चलाउनसम्म दिइएन भने प्रतिशोधी रुप पनि नदेखिएको होइन ।

उनले सरकार जोगाउन नेपाल प्रहरी, प्रशासन मात्र होइन कि महान्यायाधिवक्ता कार्यालय प्रयोग गरी अनुसन्धान गर्न दिइएन । एकातिर ‘फाइल, फाइल’ भन्ने अर्कातिर आफ्ना र सत्तारुढ दलका नेता ‘फाइल दम्पच’ पारेको खेल पनि दुनियाँले बुझेकै हुन् । 

यस्ता कर्म सुशासनका दृष्टिकोणले भन्नु पर्दा अख्तियारको ब्यापक दुरुपयोग हो भनेर भन्नुपर्ने हुन्छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको तेस्रो प्रधानमन्त्रीत्वकालमा सुशासनको सुदृढीकरण हुन सकेन ।


नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरण, नौ किलो सुन प्रकरण र बालमन्दिरको जग्गा प्रकरणलाई टुंगोमा पुर्‍याउन नसक्नु उनंको राजनैतिक योग्यता, दक्षता, कार्यक्षमता तथा अनुभवको अभाव हो । कुनै पनि अनियमितता र भ्रष्टाचारको अनुसन्धान निष्कर्षमा पुर्‍याउने गरी काम गरिएन ।

नौ किलो सुन काण्डमा आफ्ना पार्टीका धेरै नेता र कार्यकताको संलग्नता भएको पाएपछि र बालुवाटार जग्गा प्रकरणमा धेरै मित्रहरूलाई बचाउनुपर्ने भएपछि यी काम बीचमै थाँती राख्नु सुशासन नीतिविपरीतको काम हो ।

भारतको लोकसभा चुनावमा नितेश कुमार र चन्द्रबाबु नायडुले आफूहरू मध्ये एकलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्रीम प्रस्तावित गर्नुको अर्थ बुझन जरुरी छ । नेपालमा प्रतिनिधिसभामा बत्तीस सिट प्राप्त दलको नेताले पाँच वर्षै प्रधामन्त्री चलाउन खोज्नुलाई जनमतको सम्मानका रुपमा लिन सकिँदैन । तेस्रो दललाई नेतृत्व सुम्पिएपछि पर्याप्त जवाफदेहीपन खोज्न सकिँदैन ।

त्यसले नेपालमा राजनैतिक अस्थिरता निम्त्यायो कि निम्त्याएन भन्ने पनि अध्ययनकै विषय हो । नेपालमा राजनीतिक अस्थिरता निम्त्याउन अरु दलका नेताहरूको भूमिका पनि कम छैन । यस्तो राजनीतिक अभ्यास र संस्कारले देशमा सुशासन प्रवध्र्दन गर्दैन । भाषण गरेर मात्रै देशमा सुशासन सुदृढ हुने भए नेपालले विश्वलाई धेरै पछाडि पार्न सक्तथ्यो ।

यिनै पृष्ठभूमिलाई आधार लिएर विदेशी शक्तिहरू नेपालमा थप राजनीतिक अस्थिरता ल्याउन अनेक योजना रच्दै होलान् । त्यस्ता काममा जानी या नजानी हाम्रा दलका नेताहरू कतै न कतै संलग्न रहेको देखिन्छ ।

देशमा सुशासन ल्याउन वा सुशासनलाई सुदृढ गर्न पहिलो सर्त राजनीतिक स्थिरता हो । दोश्रो सर्त स्वच्छ, इमान्दार, नैतिक, दह्रो र भविष्यद्रष्टा राजनेता चाहिन्छ ।

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले बयानव्बे वर्षको उमेरमा पनि भ्रष्टाचारविरुध्दको अभियान चाली पूर्व प्रधानमन्त्री नजीव रज्याकलाई बाह्र वर्ष जेल राख्न सफल भए । यसबाट सुशासन भनेको राजनीतिक प्रतिवद्धता र दृढताको कुरा पनि हो भनेर भन्न सकिन्छ । 

देशको राजनीतिकलगायत सबै क्षेत्र अनियमितता र भ्रष्टाचारमा डुबेको थाहा पाए पछि सिंगापुरका तत्कालीन प्रधानमन्त्री लि क्यान यूले आफू पनि अनियमितता र भ्रष्टाचार नगर्ने तथा अरुलाई पनि गर्न नदिने नीति अख्तियार गरेर विश्वमा सिंगापुरलाई स्वच्छ र नियमित तथा सुशासन भएको देश भनेर चिनाए ।

सुशासनको परिभाषा गर्दा राम्रो र सुदृढ सार्वजनिक क्षेत्र व्यवस्थापन तथा कार्य हो भन्ने बुझाउँछ । राम्रो र सुदृढ सार्वजनिक क्षेत्र ब्यवस्थापन र कार्य भन्नाले सरकारका सोच विचार, नीति, योजना र कार्यक्रम तथा कार्यान्वयनमा दक्षता, कार्यक्षमता, प्रभावकारिता, मितव्ययिता, जवाफदेहिता, पारदर्शिता, (सार्वजजिनिक सूचना वितरण र खुलापन) र विकासका लागि स्थानीय तहको संवैधानिक र कानुनी व्यवस्था, तथा सामाजिक न्याय र नागरिक स्वतन्त्रता तथा मानव अधिकार र नागरिक तथा प्रेस स्वतन्त्रताको सम्मान गर्नु जस्ता सवाल पर्छन् ।

संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको छ । यसअर्थमा जनताको प्रतिनिधिमूलक संस्था संघीय संसद सार्वभौम हुनुपर्ने हो । तर तीन चार जना नेताको इशारामा संघीय संसद चल्नु संविधान र सुशासनविपरीतका काम हुन् । संसद् र संविधानप्रति कुनै नेता पनि जवाफदेही बनेको पाइँदैन ।

संक्षेपमा भन्ने हो भने सुशासन भन्नाले सार्वजनिक निकाय  तथा संस्थाहरूले आफ्ना योजना, कार्यक्रम तथा सार्वजनिक साधन र स्रोतहरू उपयोग स्पष्ट देखिने गरी गर्नुपर्छ भन्ने बुझिन्छ । साथै विकास र निर्माणका कामहरू जनता र राष्ट्रलाई लाभ पुग्ने गरी गरिनुपर्छ भन्ने मान्यता छ ।

संविधानले प्रत्याभूत गरेका मानव अधिकार, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिकको सम्पत्तिलगायतका अधिकार कुण्ठित गरियो भने त्यो देशमा सुशानको कल्पना पनि गर्न सकिँदैन ।

सुशासनको अर्को विशेषता के हो भने सरकार र सरकारी निकाय तथा संस्थाहरूले गरेका हरेक कामको नतिजा सबैले देखिने गरी हुनुपर्छ भन्ने छ । सुशासन सरकार र सरकारी निकाय तथा संस्थाहरूको कामको मूल्यांकन गर्ने एउटा संवैधानिक प्रकृयाको कुरा पनि हो ।

अन्तमा के भन्ने गरिन्छ भने सुशासन सुदृढ र दिगो हुुन सरकारी काम कारबाहीमा जवाफदेहिता, दक्षता, पारदर्शिता, समानता र समावेशिता, सहभागिता, कानुनको शासन, सक्षम राजनीतिक र प्रशासनिक नेतृत्व हुनुपर्छ । 

अनियमितता र भ्रष्टाचारको अन्त्य, अधिकार निक्षेपण, कानुनी र सुधार र सार्वजनिक पदाधिकारीहरूको सोच विचार तथा आचरण र व्यवहारमा सुधारका कुरा पनि हो । नेपालको वर्तमान अवस्था सुशासन–मैत्री छ कि छैन आफैँले निष्पक्ष भएर सोच्नुपर्ने बेला आएको छ । 
(लेखक संसद् सचिवालयका पूर्व सचिव हुन्)
 spj.thapa@gmail.com

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro