site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली सरकारका २१ मन्त्री : कसको पृष्ठभूमि कस्तो ?
SkywellSkywell

काठमाडौं । विगतमा जस्तो मन्त्रिपरिषद् विस्तारमा देखिने झमेला यसपटक खासै देखिएन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २१ मन्त्रालयको जिम्मेवारी टुंग्याएर ४५औँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे । सरकारमा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन् ।

ओली सरकारमा राजनीतिक पृष्ठभूमिबाट आएकाले नै मन्त्री पाएका छन् । तर, विषयविज्ञ भने कम छन् । विभिन्न कालखण्डमा दल अदबदल गरी मन्त्रीबनेकाहरूदेखि नयाँ अनुहार मन्त्रिपरिषद्‌मा अटाएका छन् । ओली मन्त्रिपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व शून्य छ । दुई महिलाले जिम्मा पाएका छन् । 

यस्तो छ मन्त्री बनेकाहरूको पृष्ठभूमि

Dabur Nepal
NIC Asia

प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री बनेका छन् । उनकै नेतृत्त्वमा कांग्रेस सरकारमा गएको हो । २०३० सालमा राजनीतिमा होमिएका सिंह ०३६ सालमा नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष बनेका थिए । ०४६–०५६ सम्म कांग्रेस काठमाडौं जिल्ला सभापति भएका उनी २०५७ मा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी ०४८ मा काठमाडौं–४ र ०५६ मा काठमाडौं ३ बाट संसदीय निर्वाचनमा पराजित भएका थिए । ०६४, ०७०, ०७४ र ०७९ मा लगातार काठमाडौं–१ बाट निर्वाचित भए ।

उनी ०६५ सालमा कांग्रेस (प्रजातान्त्रिक)को उपसभापति बनेका थिए । सिंह ०६७ मा कांग्रेस महामन्त्री निर्वाचित भए । ०७८ मा भएको १४औँ महाधिवेशनमा सभापतिको उमेदवार बनेका थिए । उनी पहिलो चरणमा पराजित भएपछि उमेदवार बनेनन् । सिंहले यसअघि स्थानीय विकास र संघीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

विष्णु पौडेल

एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । उनी ७औँ पटक मन्त्री बनेका हुन् । उनी २०५३ मै पहिलोपटक युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने ।

अर्थमन्त्रीका रूपमा भने पौडेलको यो पाँचौँ कार्यकाल हो । उनी २०७२ मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका थिए । ओलीको दोस्रो कार्यकालमा सुरुवातमा युवराज खतिवडा अर्थमन्त्री थिए । उनी बाहिरिएपछि २०७७ मा पौडेलले दोस्रो कार्यकालको रूपमा अर्थ मन्त्रालय सम्हालेका थिए । २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रोपटक उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । 

त्यसपछि उनी २०७९ साल पुस १० मा बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारमा उपप्रधानसहित अर्थमन्त्री बने । उनले त्योबेला जम्मा ६४ दिन मात्र अर्थमन्त्रीको कार्यभार सम्हाले ।

एमालेका उपाध्यक्षसमेत रहेका पौडलेको राजनीतिक यात्रा २०३३ सालदेखि सुरु भएको संसद्को रेकर्डमा छ । उनी २०३५ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (मार्क्सवादी–लेनिनवादी)को सदस्य भएका थिए । पौडेल २०४१ सालदेखि जिल्ला कमिटी सचिव नेकपा (माले), २०४७ मा एमालेको केन्द्रीय सदस्य बनेका थिए । २०५९ देखि स्थायी कमिटी सदस्य बने । ०७१ सालमा एमालेका नवौँ महाधिवेशनबाट उपमहासचिव भए । ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा उनी महासचिव बनेका थिए ।

पौडेल २०५१ को चुनावमा निर्वाचित भएका थिए । त्यस्तै, २०६४ र २०७० को संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए । २०७४ र ०७९ को निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भए ।

पृथ्वीसुब्बा गुरुङ

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् । २०३३ सालबाट राजनीतिमा होमिएका गुरुङ एमालेको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । ०६५ को आठौँ महाधिवेशबाट पोलिट ब्युरो सदस्य भए । ०७१ को नवौँ महाधिवेशनबाट पार्टी सचिव बनेका थिए । उनी संविधानसभा सदस्य हुन् । उनी ०६४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए ।

०७४ को निर्वाचनमा भने उनी प्रदेश ओर्लिए । उनी लमजुङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित भएका थिए । गुरुङ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पनि बने । गुरुङ २०७४ माघ २९ गते मुख्यमन्त्री बनेका थिए । उनी २०७९ को निर्वाचनमा भने लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनी एमालेको दशौँ महाधिवेशनबाट उपमहासचिव बनेका हुन् । 

रमेश लेखक

नेपाली कांग्रेसका सांसद रमेश लेखक गृहमन्त्री बनेका छन् । ०४६ सालको जन आन्दोलसँगै सक्रिय राजनीतिमा होमिएका थिए ।  उनी ०५६ सालमा पहिलोपटक कञ्चनपुर–४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी ०६४ र ०७० को संविधानसभा सदस्य बनेका थिए । उनले श्रम राज्यमन्त्री, भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी सम्मालिसकेका छन् ।

शरदसिंह भण्डारी

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री बनेका छन् । उनी १७औँपटक मन्त्री बनेका हुन् । उनी २०३८ र ०४३ मा राष्ट्रिय पञ्चायत सदस्य थिए । ०४८, ०५१, ०५६, ०६४, ०७०, ७४, ०७९ को निर्वाचन जितेका भण्डारी लगातार मन्त्री बन्दै आएका छन् । उनी ०४५ सालमा वाणिज्य राज्यमन्त्री भएका थिए । ०५२ मा मन्त्री भएका थिए । विभिन्न कालखण्डमा उनी मन्त्री बन्दै आएका छन् ।

आरजु राणा

नेपाली कांग्रेसकी सांसद आरजु डा. आरजु राणा पहिलोपटक मन्त्री बनेकी छन् । ओली मन्त्रिपरिषद्‌मा उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणा ०७९ को निर्वाचनमा समानुपातिक सांसद् बनेकी हुन् । सांसद बनेपछि कृषि समितिको सभापतिको जिम्मेवारी पाएकी आरजु सोमबार मन्त्री बनेकी हुन् ।

उनी ०६४ र ०७० को संविधानसभा सदस्य हुन् । ०७४ को निर्वाचनमा भने उनी कैलाली–५ बाट पराजित भएकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले पराजित गरेका थिए ।

प्रदीप यादव

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी दोस्रोपटक मन्त्री बनेका हुन् । जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उनले मन्त्री बन्ने मौका पाएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा उनी ०८१ वैशाख ३१ गते स्वास्थ्यमन्त्री बनेका थिए । जसपाले प्रचण्ड सरकारको समर्थन फिर्ता लिएर कांग्रेस–एमाले गठबन्धनलाई साथ दिँदा उनी मन्त्री बनेका हुन् । उनले ०७४ मा पर्साबाट चुनाव जितेका थिए ।

बलराम अधिकारी

बलराम अधिकारी मन्त्रीमा दोहोरिएका छन् । उनी भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा दोहोरिएका हुन् । गएको फागुनमा एमाले–माओवादी गठबन्धन पुनः बनेपछि उनी मन्त्री बनेका थिए । ०३४ सालबाट राजनीतिमा होमिएका अधिकारी ०४२ मा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य बनेका थिए । २०५० देखि २०७९ सम्म जिल्ला पार्टी प्रमुख, २०७० देखि २०७७ सम्म अञ्चल प्रदेश कमिटीमा आबद्ध भएका थिए ।  ०७८ देखि केन्द्रीय सदस्य कपिलवस्तु इन्चार्ज बनेका थिए । 

उनी ०५६ मा कपिलवस्तु क्षेत्र नम्बर ३, ०६४ मा कपिलवस्तु क्षेत्र नम्बर १ को निर्वाचनमा पराजित भएका थिए । ०७० मा संविधान सभा सदस्य निर्वाचित भएका अधिकारी २०७९ मा प्रतिनिधिसभा सदस्य बनेका हुन् ।

दामोदर भण्डारी

दामोदर भण्डारी तेस्रोपटक मन्त्री बनेका छन् । भण्डारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन् । ०४६ बाट राजनीतिमा होमिएका हुन् । बैतडीका भण्डारी अनेरास्ववियु जिल्ला अध्यक्ष भएका थिए । २०४९ सालमा (एमाले) जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव भएका थिए । भण्डारीले एमाले जिल्ला अध्यक्ष हुँदै (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

०७९ को निर्वाचनमा बैतडी–१ बाट निर्वाचित भएका भण्डारी त्यसयता एमाले सरकारमा हुँदा लगातार मन्त्री भएका छन् । उनी ०७९ पुस ११ गते मन्त्री बनेका थिए । त्यस्तै, फेरि एमाले माओवादी गठबन्धन बनेपछि गएको फागुनमा उद्योग मन्त्री बनेका थिए । भण्डारी ०७० र ७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी यसअघि ०७३ सालमा अर्थराज्यमन्त्री बनेका थिए । 

नवलकिशोर साह सुडी

जसपाका सांसद नवलकिशोर साह महिला बालबालिका तथा समाजकल्याणमन्त्री बनेका छन् । जसपा विभाजनमा साथ दिँदा उनले प्रचण्ड नेतृत्वको सरकारमा वन मन्त्रीको जिम्मेवारी निरन्तर पाएका थिए । ०७९ को निर्वाचनमा सप्तरी–१ बाट निर्वाचित साह ०८० फागुन २७ गते वनमन्त्री बनेका थिए । उनी ०७४ को निर्वाचनमा सप्तरी–१ को खबाट प्रदेशसभा सदस्य बनेका थिए । 

देवेन्द्र दाहाल

०३६ मा तत्कालीन मालेबाट राजनीति सुरु गरेको देवेन्द्र दाहाल मन्त्री बनेका छन् । राष्ट्रियसभा सदस्य दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन् । उनी ०५३ मा एमाले झापा जिल्ला सचिव थिए । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । उनी कोसीबाट अन्यतर्फ निर्वाचित भएका थिए । ०७९ पुुस १२ गते उनले एमाले राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी पाएका थिए ।

तेजुलाल चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बनेका छन् । ०७३ मा खेलकुद राज्यमन्त्रीको जिम्मेवारी पाएका चौधरी अहिले खेलकुदमन्त्री बनेका हुन् । उनी ०७० को दोस्रो संविधानसभा सदस्य हुन् । त्यस्तै, ०७४ मा पनि उनी निर्वाचित भएका थिए । ०६४ सालबाट महासमिति सदस्य भएका थारू कल्याणकारिणी सभा र थारू विद्यार्थी समाजको केन्द्रीय सल्लाहकार हुन् ।

प्रदीप पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पाएका छन् । ०७९ को मा काठमाडौं–५ बाट निर्वाचित पौडेल पहिलोपटक मन्त्री बनेका हुन् । ०४६ सालको आन्दोलबाट सक्रिय भएका पौडेल ०५३ मा अमृत साइन्स क्याम्पसको स्ववियु सभापति बनेका थिए । ०६४ मा नेविसंघको केन्द्रीय सभापति बने । उनी ०७० देखि निरन्तर कांग्रेस केन्द्रीय सदस्य छन् । ०७८ मा भएको कांग्रेस महाधिवेशनमा पौडेल महामन्त्रीमा पराजित भएका थिए ।

अजय चौरासिया

पर्सा–२ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसका केन्द्रीय सदस्य चौरासिया ०५६ सालमा प्रतिनिधि सभामा पर्सा–२ बाट निर्वाचित भएका थिए । उनी २०५८ सालमा स्थानीय विकास सहायकमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभा एवम् अन्तरिम व्यवस्थापिका संसदको सदस्य भए । पहिलो संविधानसभा सदस्य निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए । दोस्रो जनआन्दोलनमा पटकपटक थुनामा परेका थिए । पौने चार महिना वीरगन्ज कारागारमा जेल परेको संसद् सचिवालयमा प्रकाशित पुस्तकमा उल्लेख छ ।

बद्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पाएका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । ०५० मा नेविसंघ बाजुरा बाजुरा जिल्ला अध्यक्ष भएका थिए । ०५३ मा स्ववियू सभापति, बाल्मिकी क्याम्पस, २०५४ सालमा स्ववियू परिषद् अध्यक्ष, ०५६ सालमा केन्द्रीय सदस्य नेविसंघ, २०५७ सालमा सहमहामन्त्रीको जिम्मेवारी पाएका थिए  । 

उनी ०७० सालमा संविधान सभा सदस्य बने । २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए । राष्ट्रियसभामा उनको कार्यकाल दुई वर्षको थियो । ०७९ मा बाजुरा क्षेत्र–१ मा निर्वाचित भएका थिए

रामनाथ अधिकारी

नेपाली कांग्रेस धादिङ सभापतिसमेत रहेका सांसद रामनाथ अधिकारी कृषीमन्त्री बनेका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । ०५६ को आमनिर्वाचनमा उनी धादिङ नम्बर २ बाट निर्वाचित भएका थिए । उनी ०६४ र ०७० को निर्वाचनमा कांग्रेसबाट टिकट पाए पनि पराजित भएका थिए । ०७९ को निर्वाचनमा भने धादिङ–२ बाट विजयी भए । 

०५४ देखि ०७२ सालसम्म कांग्रेस धादिङको सभापति बनेका अधिकारी ०७८ पुनः सभापति बनेका थिए । 

विद्या भट्टराई

एमाले सांसद विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन् । ०४७ सालदेखि राजनीतिक दलमा आबद्ध भएकी भट्टराई पहिलोपटक मन्त्री बनेकी हुन् । उनी ०५५ सालमा अनेरास्ववियुको केन्द्रीय सचिव भएकी थिइन् । उनी एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन् । उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापक थिइन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका बेला श्रीमान् रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संसदीय राजीतिमा होमिएकी हुन् । उनी अधिकारीको निधनपछि रिक्त स्थानमा ०७६ मा भएको उपनिर्वाचनबाट सांसद बनिन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी हुन् । 

मानवीर राई

एमाले सांसद मानवीर राई रक्षामन्त्री बनेका छन् । संसद् सचिवालयले प्रकाशित गरेको पुस्तकमा उल्लेख भए अनुसार राई ०४२ सालबाट राजनीति दलमा आबद्ध भएका थिए । भूमिगत विद्यार्थीथी आन्दोलनमा सहभागी बने । ०५४ मा जिल्ला विकास समिति सदस्य बनेका थिए । त्यसपछि दुर्गम क्षेत्र विकास समिति सदस्य हुँदै दलीय जिम्मेवारीमा  आबद्ध रहे । उनी ०७९ को निर्वाचनमा सोलुखुम्बु क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । एमाले केन्द्रीय सदस्य समेत रहेका राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई पराजित गरेका थिए । 

दीपक खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी कांग्रेस सांसद दीपक खड्काले पाएका छन् । संखुवासभा क्षेत्र नम्बर १ बाट निर्वाचित खड्का ०७३ मा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ०७२ मा संखुवासभा–२ बाट निर्वाचित भएका खड्का ०६४ सालको निर्वाचनमा भने पराजित भएका थिए ।

राजकुमार गुप्ता

एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा समान्य प्रशासनमन्त्री बनेका छन् । ०३४ सालबाट राजनीतिमा होमिएका थिए । पर्साका गुप्ता त्यसपछि अखिल, युवासंघमा आबद्ध हुँदै ०६७ सालमा पार्टीको क्षेत्रीय अध्यक्ष बनेका थिए । ०७० सालमा संविधानसभा सदस्य बनेका थिए । ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । ०७८ मंसिरमा भएको एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए ।

ऐनबहादुर शाही

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद ऐनबहादुर शाहीले पाएका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । मुगु–१ बाट निर्वाचित भएका शाही ०७० को संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । ०४३ सालबाट राजनीतिक दलमा आबद्ध भएका शाही विभिन्न समयमा कांग्रेसको मुगु सभापतिको जिम्मेवारीमा रहे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu