site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा दुईपटक प्रयोग गरिएको उपधारा ५ को सरकारमा कसरी सामेल हुन्छ कांग्रेस ?

विराटनगर । संघमा नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन प्रक्रिया सुरु भइसकेको छ । केही प्रदेशमा मुख्यमन्त्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूलाई बर्खास्त गरिसकेका छन् । कतिपय प्रदेशमा एमालेका मन्त्रीले सरकार छाडेका छन् । तर, एमाले नेतृत्वको कोसी प्रदेश सरकारमा सामेल माओवादी मन्त्रीहरू आइतबारसम्म यथावत् छन् ।

एमाले र माओवादीबीचको तत्कालीन सहकार्यबाट नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठित कोसी सरकारमा कांग्रेसको सहभागिताबारे प्रारम्भिक छलफल समेत सुरु भएको छैन । केन्द्रमा नयाँ परिस्थिति र गठजोठअनुरूप नै कोसीमा मन्त्रीहरू थपिने र फेरबदल गर्ने सत्तासाझेदार दलको तयारी छ । तर, यसको प्रक्रिया के कसरी अघि बढ्छ भन्ने प्रस्ट छैन ।

कोसीमा उपधारा ५ दुईपटक प्रयोग भइसकेको छ । यही उपधाराअनुसार  मुख्यमन्त्री बनेका कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले निरन्तरता दिने फैसला गरेको थिएन । त्यसपछि एमालेका हिक्मतकुमार कार्की माओवादी सांसद समेतको समर्थनमा गएको वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । एउटै धारा दुईपटक प्रयोग भइसकेकाले अब नयाँ परिस्थितिमा कांग्रेस के कसरी सरकारमा सामेल हुने हो भन्ने प्रस्ट छैन ।

कांगे्रेसले एमाले नेतृत्वको कोसी सरकारलाई विश्वासको मत दिएको छैन । कांग्रेस सांसद भूपेन्द्र राई भन्छन्, “माओवादीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिनेबारे छलफल अघि बढ्ला । हामी सर्वोच्च अदालतले गरेको फैसला र त्यसको पूर्णपाठ अध्ययन गर्छौँ ।”

कांग्रेस कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले संघमा प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद्को विस्तारपछि मात्र कोसीमा सरकार पुनर्गठनको प्रक्रिया अघि बढाइने बताए । “केन्द्रमा फेरिएको राजनीतिक परिस्थिति र सरकारको पूर्णतापछि मात्रै कोसीमा सरकारबारे निर्णय हुन्छ । अहिले हामीले प्रदेशस्तरमा सरकारका घटक दलबीच छलफल सुरु गरेका छैनौँ,” उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिन पुगेको छ । कोसीमा मुख्यमन्त्री कार्कीले माओवादीका मन्त्रीहरूलाई यथावत् राखेका छन् । राजीनामा दिने विषयमा मुख्यमन्त्रीले ‘अहिल्यै निर्णय नलिन’ भनेकाले आफूहरू रोकिएको माओवादीका एक मन्त्रीले सुनाए ।

संघमा गठबन्धन फेरिएसँगै मधेस प्रदेशका मुख्यमन्त्रीले माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूलाई पदमुक्त गरिसकेका छन् । माओवादीको नेतृत्वका वाग्मती र लुम्बिनी तथा एकीकृत समाजवादीको मुख्यमन्त्री रहेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

कांग्रेस कोसीका प्रमुख सचेतक तामाङले भने, “अन्य प्रदेशमा नयाँ गठबन्धनमा नरहेका दलका मन्त्रीहरू हट्नुभएको छ, अन्य दलको नेतृत्व रहेको प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । तर, हाम्रो प्रदेशमा अहिल्यै केही निर्णय भएको छैन ।”

कोसीमा एमाले नेतृत्वको सरकारमा माओवादीका तीन मन्त्री र एक राज्यमन्त्री छन् । गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्रकुमार कार्की स्वास्थ्य र नारायण बुर्जामगर पर्यटनमन्त्री छन् । वन तथा वातावरण राज्यमन्त्री बन्दना झागर छिन् । माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार छाड्ने विषयमा छलफल नभएको जानकारी दिए ।

कोसीमा डेढ वर्षको अन्तरालमा ६ सरकार परिवर्तन भइसकेको छ । हिक्मत तेस्रोपटक मुख्यमन्त्री छन् । कांग्रेस स्रोतका अनुसार, मन्त्री बन्न कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सांसदहरू भीम पराजुली, अमृत अर्याल, भूपेन्द्र राई, प्रदीप सुनुवार, डोल्मा तामाङलगायत लबिङमा छन् । कोसीमा कांग्रेसले पाँच मन्त्रालय दाबी गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro